हिउँ नपर्दा खर्कमा आगलागीको जोखिम

हिउँ नपर्दा खर्कमा आगलागीको जोखिम

ताप्लेजुङ : अघिल्ला वर्षहरूमा यो समय ताप्लेजुङको हिमाली बस्ती घुन्सा हिउँले ढपक्कै ढाक्थ्यो। त्यहाँका बासिन्दा जाडो छल्न तल्लो क्षेत्र झर्थे। पाथीभरा क्षेत्रको देउराली, काफ्लेपाटी, ठूलो फेदीसम्म हिउँ खेल्न आउनेको घुइँचो नै हुन्थ्यो। खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे। तर, यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा देखिएका छन्। खेतबारी सुख्दा छन्।

पछिल्ला वर्षहरूमा समयमा हिउँ पर्न छाडेको छ। सदरमुकाम फुङलिङको तापक्रम ३ डिग्री सेल्सियस मापन हुँदा माथिल्ला बस्तीहरू ओलाङ्चुङगोला, घुन्सा, याङ्मालगायत क्षेत्रमा माइनसमा झरेको छ। कुँवा र धारामा पानी जमेर सिसाजस्तै भएको छ। तर, हिउँ पर्न सकेको छैन। ‘चिसो अत्यधिक बढिरहेको छ। आकाश खुला हुँदा हावा चलिरहेको छ,’ घुन्साका तेञ्जिङ शेर्पाले भने, ‘तर, अघिल्ला वर्षहरूमा हिउँले ढपक्क ढाक्ने पहाड काला छन्।’ 

स्थानीयवासीका अनुसार बाह्रैमहिना हिउँले भरिने उच्च पहाडहरूमा हिउँ क्रमशः घट्दै गएको छ। किसान भने अझै हिउँ पर्छ कि भन्ने आसमा छन्। याङ्माका टासी शेर्पा भन्छन्, ‘हिउँ परेन भने खडेरी लाग्छ।’ यो समयमा हिउँबिनाको ओलाङ्चुङगोला र घुन्साको अर्थ हुँदैन। 

त्यहाँ मात्र होइन, यो वर्ष पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिउँ परेको छैन। तल्लो फेदी हुँदै सुकेटारसम्म झर्ने हिउँ त परै जाओस्, यो वर्ष पुसमा बाक्लो तुषारो पनि नपरेको माथिल्लो फेदीका स्थानीयहरू बताउँछन्। 

हिउँ नपर्दा स्थान पिच्छेका बासिन्दालाई फरकफरक पीडा पनि छ। गोला, घुन्साका स्थानीयलाई बालीनाली बिग्रन्छ कि भन्ने चिन्ता छ भने पाथीभरा क्षेत्रका स्थानीयलाई हिउँ खेल्न आउने ग्राहक नआउने हुन् कि भन्ने पिरलो छ। मौसमअनुसार हिउँद यामको मौसममा जमिनको तापक्रम चिसो हुने र त्यस समय परेको हिउँ जमिनको भित्री तहसम्म पुग्ने भएकाले कृषि उत्पादनका लागि फाइदाजनक मानिन्छ। 

तर, बेमौसममा परेको हिउँले प्राकृतिक विपद् निम्त्याउनुका साथै किसानका लागि बेफाइदा हुने गर्छ। बेमौसमको हिमपातले हिमताल फुट्ने, नदी कटान र भूक्षयको जोखिम निम्त्याउने गर्छ। अनुकूल मौसमको हिमपातले जमिनको भित्र तहलाई चिस्यान भर्न रिचार्ज गर्ने भएकाले हिउँदयामको हिउँ वरदान मानिएको हो। अनुकूल मौसमको हिमपातले जमिनको उर्वराशक्ति बढाउनुका  साथै अन्नबालीमा लाग्ने विभिन्न रोगहरूको राकथाम गर्न सघाउ पुर्‍याउने गर्छ।

दुई वर्षअघि पाथीभरा क्षेत्रको वनमा लगेको डँढेलो नियन्त्रणका लागि हम्मेहम्मे पर्‍यो। करिब दुई सातापछि मात्रै डँढेलो नियन्त्रणमा आयो। डँढेलोले प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर नै जोखिममा परेको थियो। 
हेलिकप्टरबाट पनि डँढेलो नियन्त्रणको प्रयास गरियो। दुई साताभन्दा बढी लागेको डँढेलोले रूख र गोब्रे सल्लाका वर्षौं पुराना रूख जले। यस वर्ष पनि हिउँ नपर्दा हिमाली क्षेत्रका खर्कहरूमा डँढेलो लाग्ने जोखिम बढेको स्थानीय बताउँछन्। 

हिउँदमा पर्ने हिउँले कृषि तथा चरन क्षेत्रलाई फाइदा पुग्छ नै, आगलागीको जोखिमलाई पनि घटाएको हुन्छ। हिमाली बस्तीमा प्रायः सबै घरको छानो काठले बनाएको हुन्छ। हिउँ पर्दा सुकेको काठलाई ढपक्कै ढाकेको हुन्छ। 

आगोले काठ भेटे पनि हिउँका कारण बल्न पाउँदैन। तर, हिउँ नपरे आगलागीको जोखिम बढ्ने स्थानीयहरूको भनाइ छ। ‘हिउँ नपर्दा पानीका मुहान र धारा पनि सुक्न थालेका छन् भने चिसोले पानी जमेको छ,’ फुङलिङका स्थानीय राजकुमार लिम्बू बताउँछन्, ‘यस्तो समयमा आगलागी भयो भने नियन्त्रणमा लिन सकिँदैन।’ 

चिसो अत्यधिक बढेकाले कोही चौरी गोठसहित बेंसीतर्फ झर्न थालेका छन्। हिउँ नपरे चिस्यान पुग्दैन, त्यसैले यसपटक जौ, उवा र आलु बालीमा असर गरेको छ। यो वर्ष अन्न उत्पादनमा कमी आउने सम्भावना रहेको स्थानीयको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.