मृत जन्मदर बढाउँदै प्रदूषण

नेपालजस्ता मुलुकमा ९८ प्रतिशत मृतजन्म प्रदूषणको कारण

मृत जन्मदर बढाउँदै प्रदूषण

काठमाडौं : प्रदूषण र जलवायु परिवर्तनले गर्भमा रहेका शिशुलाई पनि गम्भीर असर पुर्‍याउने गरेको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन्। जसका कारण नेपाललगायत कम आय भएका मुलुकमा ‘गर्भमै मृत्यु भएर शिशु जन्मिने (मृतजन्म)’ दर निकै बढेको ती अध्ययनको निष्कर्ष छ।

गत नोभेम्बरमा मा ‘नेचर जर्नल’ मा प्रकाशित प्रतिवेदनअनुसार (पार्टिकुलेट म्याटर्स) पीएम २.५ बढ्दा गर्भमै मृत्यु भएर शिशु जन्मिने (मृतजन्मदर) बढेको देखाएको छ। विश्व बैंक र जलवायु मुद्दामा काम गरिरहेका अध्येताहरूका पछिल्ला प्रतिवेदनहरूले कम आय भएका नेपालजस्ता मुलुकमा ९८ प्रतिशत मृतजन्म रहेको देखाएका छन्।

प्रदूषण र जलवायु परिवर्तनका कारण गर्भावस्थाको अवधिमा संकट आउने, गर्भ खेर जाने, भ्रूणको विकास नहुने, जन्मिएका बच्चाको तौल कम हुने, समयअगावै जन्मने, जन्मिएका बच्चामा समस्या हुने र डेलिभरीमा समस्या आउनेलगायतका अनेकौ समस्या झेल्नु परिरहेको अध्ययनका प्रतिवेदनमा उल्लेख छन्।

एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका १ सय ३७ देशमा ती अध्ययन गरिएका थिए। नेपालजस्ता न्यून तथा मध्यम आय भएका देशहरूमा प्रदूषण र जलवायु परिवर्तनको जोखिम उच्च रहेको नेचर जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ। संयुक्त राष्ट्र संघले पनि मृत जन्मदरलाई बेवास्ता गरिएको बताउँदै आएको छ। नेचरमा प्रकाशित अध्ययनअनुसार सन् २०१५ मा विश्वभर २१ लाख ३१ हजार ९ सय १४ मृतजन्म भएको थियो। त्यसमध्ये २० लाख ८९ हजार ९ सय १८ अर्थात् (९८.०३ प्रतिशत) अर्थात् बालबालिका न्यून तथा मध्यम आय भएका १ सय ३७ वटा देशका थिए। ती मुलुकहरूमा औसतमा ४५.५१ प्रतिशत प्रदूषणको मात्रा अत्यधिक भएकाले मृतजन्म भएको जनाइएको छ।

प्रदूषणका कारण समयअगावै (३७ साताको अवधिभन्दा पहिला) नै बच्चा जन्मने समस्या पनि देखिएको छ। यसरी समय नपुगी जन्मिने बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर देखिने गरेको विज्ञहरू बताउँछन्। त्यस्ता बालबालिकामा श्वासप्रश्वास र स्नायुप्रणालीमा समस्या आउने र उमेरअनुसार शारीरिक विकासक्रम पनि नहुने गरेको विज्ञहरू बताउँछन्। त्यसैकारण बालबालिकाको मृत्यु हुने गरेको अध्ययन प्रतिवेदनले देखाएका छन्। मृत बच्चा जन्मने समस्याबाट विश्वमा बर्सेनि १ करोड ९० लाख अर्थात् (१९ मिलियन) महिलाहरू प्रभावित बनेका छन्।

वायु प्रदूषण, सवारीबाट निस्कने धुवाँलगायत उद्योगबाट निस्किएका कणहरू लामो समयसम्म टुक्रिँदैनन्। लामो समयसम्म वातावरणमा बस्छन्। यस्ता कण टुक्रिएर नजाने भएकाले खानाबाट शरीरभित्र प्रवेश गर्छन्। आमाको रगतबाट भ्रूणसम्म पुग्छ र तुरुन्त असर गर्छ।
डा. रेजिना मास्के, प्राध्यापक, त्रिवि, वातावरण केन्द्रीय विभाग 

चीनको पेकिङ विश्वविद्यालय स्वास्थ्य विज्ञान केन्द्रका अनुसन्धानकर्ता तथा वातावरण तथा जनस्वास्थ्य विशेषज्ञ ताओ सुएले प्रदूषण नियन्त्रण गर्न सके मृतजन्मदर कम गर्न सकिने बताएका छन्। उनका अनुसार सन् २०१५ मा २ दशमलव शून्य ९ मिलियन मृतजन्ममा ३९ दशमलव ७ प्रतिशत प्रदूषणबाट भएको थियो। उक्त अध्ययनमा ४६ हजार ३ सय १९ वटा गर्भावस्थाको विश्लेषण गरिएको थियो। ती सबै घटनामा महिलाहरूले विश्व स्वास्थ्य संगठनको मार्गनिर्देशनबमोजिम (पार्टिकुलेट म्याटर्स) पीएम २.५ को मात्रा प्रतिघनमिटर ५ माइक्रोग्रामभन्दा धेरै अनुभव गरेका छन्।

विश्व स्वास्थ्य संगठनले तोकेभन्दा ८ गुणा बढी नेपालको मापदण्ड

नेपाल सरकारले तोकेको मापदण्डअनुसार पीएम २.५ को दैनिक औसत मापदण्ड ४० माइक्रोग्राम प्रतिघनमिटर छ। उक्त मापदण्ड विश्व स्वास्थ्य संगठनले तोकेभन्दा आठ गुणा बढी छ। वायु गुणस्तर मापन केन्द्रको २०१९ को तथ्यांकले वायु प्रदूषण उच्च रहेको प्रष्ट्याएको छ। प्रदूषणका कारण नेपालमा दैनिक एक सय जनाको मृत्यु भइरहेको र यसलाई (खतरा) को अवस्था मानिएको छ।

त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागकी प्रा.डा. रेजिना मास्केले मुलुकमा प्रदूषणको मात्रा अत्यधिक रहेको बताइन्। पीएम २.५ र अन्य खालका स–साना कणले गर्दा भ्रूणको अवस्थामा अझै जोखिम निम्त्याउँछ।

मास्केका अनुसार सवारीसाधनबाट निस्कने धुँवा र उद्योगबाट निस्कने धुलोका कणहरू लामो समयसम्म पनि टुक्रिदैनन्। यी कणहरू लामो समयसम्म वातावरणमा बस्छन्। घरभित्रका फ्रिजबाट निस्किने ग्यास तथा साङ्ला÷ लामखुट्टे मार्न प्रयोग हुने विभिन्न खालका स्प्रेबाट पनि त्यस्ता कणहरू निस्किन्छन्। यस्ता कण नटुक्रिँदा खानाबाट शरीरमा छिर्छन्। आमाको रगतबाट भ्रूणसम्म पुग्छन् र तुरुन्त असर गर्छन्। घरबाहिर ननिस्के पनि घरभित्र पनि झनै जोखिम छ। घरभित्रबाट निस्कने प्रदूषक २ दशमलव ५ पीएमभन्दा पनि साना आकारका हुन्छन्। ‘यतिबेला प्रतिघनमिटर २०० माइक्रोग्रामभन्दा बढी पीएम २.५ को मात्रा छ’ मास्केले भनिन् ‘त्यसले भ्रूणलाई झनै असर गर्ने भयो।’

प्रदूषणलाई बेवास्ता गर्दा नकारात्मक परिणाम आइरहेको मास्केले बताइन। ‘दुई, तीन सय प्रतिमाइक्रोग्राम प्रतिघनमिटर पीएम २.५ को मात्रा हुँदा पनि कसैलाई मतलव छैन’ मास्केले थपिन् ‘घरमा ग्याँस, स्पे छरेकै छौं। घरभित्र मास्क लगाउँदैनौं। समस्या त हुने नै भयो।’ सन् २०२० मा युनिसेफको एक अध्ययनले पनि यस्ता समस्यालाई बेवास्ता गर्दा प्रत्येक १६ सेकेन्डमा एउटा मृत बच्चा जन्मिने गरेको तथ्यांक सार्वजनिक गरेको थियो।

कसरी पुग्छ धूलोको कण भ्रूणसम्म

अनुसन्धानकर्ताले प्रदूषणका स–साना कणहरू आमाबाट शिशुको नाल हुँदै भ्रूणसम्म पुग्ने दाबी गरेका छन्। जसले शिशुमा अपरिवर्तनीय क्षति हुने दाबी छ। आमाको शरीरबाट छिरेको कणले बच्चाको नाललाई समेत हानि गर्छ। प्रदूषणले आमाको शरीरबाट शिशुसम्म अक्सिजन पुर्‍याउने (पास गर्ने) क्षमतालाई समेत बाधा पुर्‍याउने विज्ञहरूले बताएका छन्।भक्तपुरमा इट्टा उद्योग क्षेत्रबाट निस्किएको धुवाँ र वायुप्रदूषणले ढाकेको क्षेत्र ।  तस्बिर : रविन भट्टराई

विश्व स्वाथ्य संगठन (डब्लूएचओ) ले यो समस्या प्रत्येक वर्ष बढ्न सक्ने आकलन गरेको छ। विशेषगरी न्यून तथा मध्यम आय भएका मुलुकहरूमा यी समस्या टड्कारो बनेको छ। सन् २०१८ को प्रतिवेदनअनुसार त्यस्ता देशहरूमा भ्रूणको अवस्थामा मृअनुसन्धानकर्ताले प्रदूषणका स–साना कणहरू आमाबाट शिशुको नाल हुँदै भ्रूणसम्म पुग्ने दाबी गरेका छन्। जसले शिशुमा अपरिवर्तनीय क्षति हुने दाबी छ। आमाको शरीरबाट छिरेको कणले बच्चाको नाललाई समेत हानि गर्छ। प्रदूषणले आमाको शरीरबाट शिशुसम्म अक्सिजन पुर्‍याउने (पास गर्ने) क्षमतालाई समेत बाधा पुर्‍याउने विज्ञहरूले बताएका छन्।त्यु हुने, कम तौलको जन्मने समस्याले प्रत्येक वर्ष २६ लाख (२.६ मिलियन) बालबालिकाको मृत्यु हुने गरेको छ। स्वास्थ्यमा पहुँच नभएका तथा समाजमा पिछडिएका समूहहरू यसबाट झनै जोखिममा रहने गरेका छन्।

जलवायु परिवर्तनको अर्को समस्या

पछिल्लो समय जलवायु परिवर्तनले हुने चरम मौसमी घटनाहरू (इस्ट्रिम इभेन्ट्स)ले पनि गर्भवती महिलामा समस्या निम्त्याएको देखाएको छ। जलवायुका कारण हुने गर्मीका लहर (हिट्वेभ) ले गर्भवतीहरू जोखिममा पर्न थालेका छन्। जसका कारण गर्भवतीमा हिटस्ट्रोक, श्वासप्रश्वासमा गडबढी, शरीरको चाल घट्ने, सुक्खापन (निर्जलीकरण) को समस्या धेरै देखिएको छ। गर्भावस्थाको अन्तिम साता चरम गर्मीको सामना गर्नुपरेमा पनि बच्चाको जन्म समयअगावै हुने नेचरमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ। समयअगावै जन्मिएका बालबालिकाको मुटुको अवस्थामा खराबी आउने पनि प्रतिवेदनमा उल्लेख छ।

जलवायु परिवर्तनका कारण बढेको वातावरणीय जोखिम, प्रदूषण, तापक्रम वृद्धि, वर्षात्मा परिवर्तन, आगलागीजस्ता घटनाले थप समस्या निम्त्याएको छ। जलवायु परिवर्तनले ल्याउने वातावरणीय संकटका कारण गर्भवतीहरूमा प्रत्यक्ष र अप्रत्यक्ष असर गरिरहेको अध्ययनहरूको निष्कर्ष छ।

चरम गर्मी, बाढी, पहिरो, आगलागीजस्ता समस्याले प्राकृतिक र सामाजिक परिवर्तन गरेको छ। सन् २००७ मा सार्वजनिक भएको जलवायु परिवर्तनका लागि अन्तरसरकारी प्यानल –आईपीसीसी) को प्रतिवेदनले समेत जलवायु परिवर्तन सबैभन्दा ठुलो विश्वव्यापी स्वास्थ्य चुनौती बनेको बताइसकेको छ। उक्त प्रतिवेदनले जलवायुका कारण स्वास्थ्यमा दीर्घकालीन र अल्पकालीन असरहरू देखिएको दाबी गरेको छ। उक्त समस्याले मानिसको जीवनकालमा समेत असर पारेको छ। सुक्खापन (निर्जलीकरण) श्वासप्रश्वास, संक्रामक रोग, मानसिक स्वास्थ्यमा समस्या, मुटुका समस्या बढाएको छ। गर्भावस्थाको अवधिमा महिला तथा बालबालिकाले समेत असाधारण खालका मनोवैज्ञानिक परिवर्तन महसुस गरेको जनाएका छन्।

न्यून तथा मध्य आय भएका मुलुक जोखिममा : विश्व बैंक

गत मंसिर २८ मा विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन (स्टारर्भिगङ फर क्लिन एयर) न्यून तथा मध्यम आय भएका ५४ देशका १३ हजार ८ सय ७० आमाहरूको अध्ययन गरेको जनाएको छ। सन् १९९८ बाट २०१६ सम्म गर्भवती र उनीहरूबाट जन्मिएका शिशुहरूको अध्ययन गरिएको थियो। मृत तथा जीवित ४६ हजार ३ सय १९ शिशुहरूमा प्रदूषणले पारेको प्रभावबारे विश्व बैंकले अनुसन्धान गरेको थियो।

त्यसैगरी न्यून तथा मध्यम आय भएका १ सय ३७ देशमा अध्ययन गर्दा ढिला सन्तान जन्माउने आमाहरूमा प्रदूषणको थप समस्या देखिएको छ। ती देशहरूमा सन् २०१५ मा २० लाख ९० हजार बच्चा जन्मिएका थिए। त्यसमध्ये ९ लाख ५० हजार मृतजन्म भएका थिए। धूलोको अत्यन्त सानो कण पीएम २.५ को प्रभावले शिशुहरू मृत जन्मिएको अध्ययनले बताएको छ। उक्त प्रतिवेदनले दक्षिण एसिया प्रदूषणको अत्यधिक मारमा परेको जनाएको छ। संसारमा प्रत्येक दशमध्ये नौ वटा प्रदूषित सहर दक्षिण एसियामा रहेको प्रतिवेदनमा उल्लेख छ। यहाँका गरिब परिवारहरू भान्सामा प्रयोग हुने इन्धनबाट निस्कने घरेलु प्रदूषणको उच्च स्तरमा प्रदूषण सहनु परेको जनाएका छन्।

बच्चा अवस्थामा नै पीएम २.५ दिमागमा छिर्न सक्ने भएकाले त्यसले बच्चाको विकासक्रममा असर गर्नेछ। दक्षिण एसियामा मात्रै प्रत्येक वर्ष करिब २ मिलियन प्रिम्याचर डेथ हुन सक्ने आकलन छ। बच्चामा दम, युवाहरूमा पनि श्वासप्रश्वास, फोक्सो क्यान्सर, स्ट्रोक, मधुमेहसमेत हुन सक्ने देखिएको छ। डिमेन्सिया, पागलपनको समस्यासमेत हुने जनाएको छ।

हावाको प्रदूषण धेरै टाढासम्म पुग्न सक्छ। काठमाडौं, ढाका, कोलम्बोजस्ता सहरमा हुने प्रदूषण एक तिहाइमात्रै आफ्ना कारणले हो। अरू प्रदूषण आयातित रहेको अध्ययनले बताएको छ। जति सानो कण त्यति नै स्वास्थ्यको लागि नराम्रो हुन्छ। भान्साबाट हुने प्रदूषणले सानो तथा ठुला कण निकाल्छ। ठुलाको तुलनामा साना कण घातक हुन्छन्। ती कण सिधै रगतमा मिसिन्छन्। भान्साबाट पीएम २.५ को कण निस्कने गर्छन्। ती कणहरू कपालभन्दा ३० गुणा सानो हुन्छन्। हजारौं प्रदूषणको कण मिलेर पीएम २.५ बनेको हुन्छ। यसले जलवायु परिवर्तनमा र स्वास्थ्यमा गम्भीर असर गर्छ। बाहिरी तथा घरायसी दुवै खालका प्रदूषणमा पीएम २.५ को मात्रा हुन्छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अध्ययनले पनि विशेषगरी महिला, बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा प्रदूषणले असर गरेको देखाएको छ। हिन्दू कुश हिमालय क्षेत्रमा प्रदूषणको तहले खतराको घण्टी बजाएको उल्लेख छ। जंगलमा हुने आगलागी, इँटाभट्टा तथा यातायातबाट हुने उत्सर्जन, इन्धनमा आधारित उद्योग, फोहोर र बालीनालीका अवशेष जलाउँदा उत्पन्न हुने उत्सर्जनका साथै भान्साबाट निस्कने धुवाँका कारण प्रदूषण बढेको बताएको छ। इसिमोडले स्थानीय तथा क्षेत्रीय रूपमा वायुको गुणस्तर सुधार गर्नका लागि सम्बन्धित निकायसँग पहल गरिरहेको जनाएको छ। ट्रान्सबाउन्डरी प्रदूषण रोक्नका लागि एकअर्कामा सहकार्य, सहयोग चाहिने इसिमोडको सुझाव छ।

गर्भवतीलाई स्वच्छ हावादिन सकेकै छैनौं 

- डा. भोला रिजाल 
स्त्री रोग विषेशज्ञ डा. भोला रिजालले मृतजन्म जुनसुकै विषयसँग जोडिने बताए। डा. रिजालले प्रदूषण, खानेपानी, डेंगु÷कोभिडजस्ता महाव्याधिबाट आमाको स्वास्थ्यमा प्रभाव पर्ने र त्यसबाट प्यासेन्टल सर्कुलेसन (आमा तथा भ्रूण दुवैलाई रगत आपूर्ति गराउने प्रणाली) मा कमी हुने बताए।

रिजालका अनुसार जब प्रदूषणबाट आमाको फोक्सो प्रभावित हुन्छ, अनि गर्भमा रहेको शिशुलाई अक्सिजन स्याचुरेसन कम हुन्छ। त्यसको प्रत्यक्ष असर भ्रूणमा पर्छ। त्यसले गर्दा जब पानी, हावा, संक्रमणको असर गर्भवती वा सुत्केरीको जुनसुकै बेला परेर पनि त्यसको असर बच्चामा पुग्छ। आमाबाट पेटको बच्चामा र जन्मिएको बच्चामा पनि दूधको गुणस्तर बिगारेर त्यसले असर गर्छ।

नजन्मिएका बच्चामा सबैभन्दा धेरै असर परेको हुन्छ। किनभने प्यासेन्टल इन्फ्लाट हुने र इन्ट्रायुट्राइन ग्रोथ रेस्ट्रिक्सन (भ्रूणको विकास नहुने समस्या) ले बच्चाको तौल पुग्दैन। बच्चाको मनस्थिति पनि कमजोर हुन्छ। उनीहरूको फोक्सो, मुटुको समस्या हुन्छ। प्रदूषणको प्रत्यक्ष असर आमाबाट बच्चासम्म जान्छ। हरेक चिजको असर बच्चालाई पर्छ।

आमा र शिशुको मृत्युदर निकाल्ने हो भने सबैको रहस्य त्यहाँबाट खुल्ने रिजालले बताए। त्यसैले बेसलाइन डाटा केहीमा पनि ननिकालेको गुनासो उनको छ। यदि त्यस्ता तथ्यांक निकालिहाले कुन संस्थाले के उद्देश्य राखेको छ, त्यसैअनुसार परिणाम निकालिने गरेको बताए। हाल स्वास्थ्य तथा रोकथामका लागि जति खर्च भएको छ। त्यसको पोल खुल्ने भएकाले पनि वास्तविक मृत्युदरको तथ्यांक निकाल्न नचाहेको दाबी उनको छ।’

त्यतिमात्रै होइन सरकारले दूरदराजमा स्वास्थ्य सेवा दिइरहेकाहरूको पढाइ बन्द गरिदिएको छ। राम्रो सुधार गरेर मृतजन्म तथा आमाको मृत्यु रोक्ने काम गर्नु पर्नेमा झन् अधोगतितिर लागेका उनको गुनासो छ। आमा र बच्चा उद्धार गर्न नपाई मरेका हुन्छन्। रिजालले थपे ‘सही समयमा परीक्षण भएमा बच्चा र आमा दुवैको ज्यान जोगिन्छ। रोक्न सक्ने कुरासमेत रोकिएको छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.