जीवन बोक्ने देउडा गीत
देउडा गीतले मानिसको जीवन बोलेको हुन्छ। गीतांगीले पनि प्रकृतिको अवलोकन गरी जीवनलाई प्रकृतिसँग तुलना गरेको हुन्छ। त्यसैले गीतांगीहरू कर्णाली प्रदेश र सेती महाकालीका वनपाखाका आँसु कवि हुन्।
डेढी कदममा खेलिने (नाचिने) खेलको नाम हो, डयौणा, देउडा। एउटा गीत गाउँदा डेढ पटक उच्चारण गर्ने गरिन्छ। गीत गाउँदा एक पटक सिधा, फेरि त्यही गीतलाई दोहोर्याएर आधा गरी गाइन्छ, अर्थात् डेढ पटक उच्चारण गरिन्छ। गीतलाई विविध लय र शैली (ठाउँठाउँमा जसलाई भाक्या भनिन्छ) मा संस्कृतिप्रेमीहरू गाउने गर्छन्। पैताला प्रधान भएकाले गीतको लयअनुसार गोडा सही तरिकाले अघि बढाएर खेल खेल्नुपर्ने हुन्छ।
गोडा चलाउँदा पनि पहिले देव्रे अनि दाहिने गोडा चलाउँदै गीतको लयअनुसार अघि बढ्नुपर्ने हुन्छ। गोलाकाररूपमा घुमीघुमी खेलिन्छ यो रमाइलो खेल। यसरी देउडा खेल्दा दुईवटा समूह हुन्छन्। एउटा समूहमा गीतका रचना गर्ने एकजना कुशल सर्जक हुन्छन्। जसलाई गीतांगी भनिन्छ। अर्काे समूहमा पनि माथि उल्लेख गरेझैं नियम लागू हुन्छ। बडो नियमबद्ध हुन्छ संस्कृति प्रधान यो खेल।
एकजनाले पैताला बिगार्यो भने त्यस्को असर पूरै खेल र खेलाडीमा पर्न जान्छ। हातमा हातसमाइ, पैताला मिलाई गीतका गेणी र शब्द एकैसाथ उच्चारण गरेपछि मात्र देउडाको नियम कायम राखेर खेलेको मानिन्छ। यो खेल सवाल जवाफमा आधारित हुन्छ। हारजित हुन्छ। घण्टौंसम्म चलिरहन्छ, थकाइ र भोक प्यासको पनि अनुभूति हुँदैन, गीतमा डुबेर गाएपछि। साँच्चि नै रमाइलो मानिन्छ खेलखेल्दा। धेरै ठूलो समूहको खेललाई ‘भारीखेल’ भनिन्छ। एकातिर देउडा प्रेमीहरू आआफ्नो वय र उमेरका मानिसहरू गोलाकार रूपमा घुमीघुमी खेलिरहेका हुन्छन्, अर्काेतिर सयौं दर्शक चाख मानीमानी चौरको वरिपरि उभिएर सुनिराखेका हुन्छन्। त्यति नै श्रोताहरू खेलको बीच मैदानमा कान ठाँडोपारी सुनिराखेका हुन्छन्। यस्तो बेला साँच्चिनै मौलिक संस्कृतिमा रम्न पाएकोमा आफूलाई भाग्यमानी सम्झन्छन् श्रोता र दर्शक। कतै न्याउल्या गीत पनि भनिने यी गीतहरू खेलमा उतार्दा संस्कृतिकर्मीले देउडा खेल न भनी केवल खेल खेलेको पनि भन्ने गर्छन्।
सुदूरपश्चिम र मध्यपश्चिमको लोकसंस्कृतिको अभिन्न र महत्त्वपूर्ण विधा हो देउडा। नेपालको प्राचीन संस्कृति बोकेको देउडा काली कर्णालीको मौलिक लोकगाथा हो। लोकगाथाभित्र त्यस क्षेत्रका लाखौं नरनारी अटाएका छन्। सबै वयका संस्कृतिप्रेमीका लागि सुखदुःखको साथी देउडा विधा आखिर के हो त ? कसैले ड्यौणा, कुनैले दयौडा र धेरैले देउणा र देउडा भनी अथ्र्याएका छन्। २०६१ सालमा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ रत्नाकार देवकोटालगायतका विज्ञले देउडाभन्दा फरक नपर्ने बताए। मनोरञ्जनको साधनमात्र नभएर जीवनको अभिन्न अंगका रूपमा ग्राह्य भएर नै दिनप्रतिदिन यसको महत्त्व बढ्दै आएको देखिन्छ।
देउडा गीत दुईवटा गीतका पंक्तिको अलिखित पुस्तक मान्न सकिन्छ। एउटा पंक्तिमा १४ वटा अक्षर, अर्काे पंक्तिमा पनि १४ गरी २८ अक्षरको सम्पूर्ण स्वरूप नै देउडा गीत हो।
अगाडि छन् रामचन्द्र पछाडि छन् सीता।
मन् भन्छ घरवारी होइझा कर्म भन्छ वीता।।
शब्दमा हलन्त शब्द छन् भने त्यसको गणना गरिँदैन। देउडा गीत, गीतमात्र नभएर लोकसाहित्यको अनुपम उदाहरण हो। माथि उल्लेखित गीत र यस्तै हजारौं अन्य गीत वनजंगलमा घाँस–दाउरा काट्दै गर्दा अथवा गाईबस्तु चराउँदै गर्दा युवकयुवती (छोर्याट्टा–छोर्याटट्टी)हरूले मिठो स्वर र शैलीमा गाउने गर्छन्। आफन्तहरूले नसुनुन् भन्नका लागि एकान्तमा गीतमा डुबेर गाउने गर्छन्। मनका पीर व्यथा गीतमार्फत जंगलमा पोख्ने गर्छन्। त्यसैले पनि देउडा गीत वनगीत हुन्। मांगल, धमारी आदि घर गीत हुन्। देउडा गीतले मानिसको जीवन बोलेको हुन्छ। गीतांगीले पनि प्रकृतिको अवलोकन गरी जीवनलाई प्रकृतिसँग तुलना गरेको हुन्छ। त्यसैले गीतांगीहरू कर्णाली प्रदेश र सेती महाकालीका वनपाखाका आँसु कवि हुन्। जस्को जीवनी गीतमा वर्णित हुन्छ, जुन विषय लिखित पुस्तकमा पाइँदैन। यो संस्कृतिको विकास पनि विस्तारै हुने नै छ।
गीतमा धेरै भाका हुन्छन्। ठाडो भाका जसमध्ये महत्त्वपूर्ण भाका (लय) हो। जसलाई ठाडी भाका पनि भनिन्छ। ठाडो भाका विरह वेदनामा आधारित हुन्छ। आफ्नो जिन्दगीको भोगाइलाई आँसुकविले गीतमा उतार्ने हुँदा यस्ता गीतलाई दुःखका गीत पनि भनिन्छ। वनजंगलमा अधिकांश नरनारीले ठाडो भाका नै गाउने गर्छन्। यस्ता गीतले श्रोतालाई बढी आकर्षित गर्ने गर्छन्। सुन्दै जाँदा कहिलेकाहीँ श्रोता पनि आँसु खसाल्ने गर्छन्। यस्ता गीत जीवन्त हुन्छन्। अर्थपूर्ण हुनाले यी गीत कहिल्यै पनि मर्दैनन्।
धामी लेक धामीज्यूका दुई हात तीन वाला
दुःखारी हुनाले हो कि रात भन्दा दिन काला।
बझाङ निवासी अपांगता भएका एक व्यक्तिले गाएको गीत हो माथिको। ३०/३५ वर्षपहिले समाजले हेर्ने दृष्टिकोण हेपाहा प्रवृत्तिको थियो। सामन्ती संस्कार र शैलीले समाज व्याप्त थियो। आफूभन्दा कमजोर व्यक्तिलाई बोलिने शब्द र भाषा पाच्य थिएन। यी विविध रूप र रङले भरिएको समाज भएर पनि अभावै अभावका बीच देउडा गीतले नयाँ स्वरूप फेरेको पनि मान्न सकिन्छ।
मानिस स्वतन्त्र प्राणी हो, ऊ स्वतन्त्र रूपमा बाँच्न चाहन्छ। राज्यले निदृष्ट रूपमा तोकेको नियमको पालना गर्दै आफ्नो प्रतिभा समाजमा देखाउन सक्ने खुबी छ प्रत्येक मानवमा। प्रतिभाले जात, कुल, वंश मापन गर्दैन। पंक्तिकारले ४५/४६ वर्षपहिले सम्भ्रान्त वर्गले गरिब र विपन्न वर्गलाई हेपेको, दबाएको देखेर सहन नसकी गीतमार्फत आफ्ना धारणा जनसमक्ष राखेको हुँ। ब्राह्मण कुलमा त्यसबेला लुकी चोरीबाहेक खुलारूपमा गीत गाउन वर्जित थियो। कसैले थाहा नपाउने गरी गाउभन्दा अलि टाढा देउडा खेल खेल्ने (नाच्ने) प्रचलन नभएको होइन, तर सीमित मात्रामा थियो। मनोरञ्जनको कुनै स्रोत साधन नभएको बेला गायन र खेलसंस्कृतिको थालनी गर्नु पनि ठूलो कुरा मान्नुपर्छ।
गीतको संरक्षण र विकासको लागि साथै आफूसँग भएको प्रतिभा समाजमा देखाउन राजधानी प्रवेश गर्नु परेको हो। त्यसपूर्व पंक्तिकारले विद्यालयहरूमा अध्ययन गर्दा अतिरिक्त क्रियाकलापमा प्रशस्तै गीत गाएको स्मरण आइरहन्छ। एकपटक विद्यालयमा प्रमुख जिल्ला अधिकारीको अगाडि स्वागत गीत गाउँदा बझाङ तलकोटका नरनारीले जिब्रो काडी सुनेको याद आउँछ। खुसी हुँदै उनले पाँच रुपैयाँ इनाम दिएका थिए। त्यस बेलाको गाएको गीत यस्तो थियो–
कोदया खान्छौं फाटो लाउँछौं हामी बझाङवासी
स्वागत अन्र्या साधन छैन सरकार ! हामी पासी
नेपाल हनुमान ढोका तस्बीर टाँस्याका छन्।
मन्भन्या साउनकी रात दन्त हाँस्याका छन्।।
देउडा गीतले धेरै अर्थ राख्छ। यस्ता अर्थ राख्ने गीतहरू, देउडामा बाहेक मारुनी, सालैजो, घाँसेगीत, टप्पागीतमा भेटेको छैन। माथि उल्लेखित १ नं.को गीत त सहजै बुझ्न सकिन्छ। तर यसैको २ नं.को गीतले ऐतिहासिक र राजनीतिक अर्थ बुझाउँछ। नेपाल भनेर अहिले पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसले काठमाडौं खाल्डोलाई भन्ने गरेका छन्।
काठमाडौंको हुनमानढोका दरबारभित्र नेपालका प्राचीन राजाहरू बडामहाराजाधिराज पृथ्वीनारायण शाहदेखि राजेन्द्र, सुरेन्द्र, रणबहादुर, पृथ्वी वीरविक्रम, त्रिभुवनसम्मका तस्बिरहरू जतनसँग टाँसेर राखेका देखिन्छन्। ती सबै तस्बिरहरू कैदी झै लाग्छन्। राजादेखि जनतासम्म आफ्नै देशमा थुनिएको देखेर मन भने साउन महिनाको औंसीको रातझैं अँध्यारो भएको छ। ऐतिहासिक हनुमानढोका र काठमाडौंजस्तो सुन्दर नगरी देखेर दन्तपंक्ति भने हाँसेका छन्। राणाकालीन अवस्थाको यो कालजयी गीत त्यसबेला काठमाडौं खाल्डो नदेखेका दाजु जयकृष्ण जोशीले पंक्तिकारलाई सुनाएको भरमा गाएको थिए। मन छोएको सो गीत काठमाडौंमा आएपछि रेडियो नेपालमा २०३४ सालमा फूलबारी कार्यक्रममा रेकर्ड पनि गराएको थिएँ।
देउडा गीत, संगीत र संस्कृतिको अनवरतरूपमा सेवा गर्दै आए पनि केही पाठकले नबुझेर देउडा गीतलाई भाषा हो पनि भन्ने गरेको सुनिन्छ। यो विधा भाषा नभएर विशुद्ध गीत हो, साहित्य हो र मौलिक संस्कृति हो। खस भाषामा लेखिएका शब्द हुन्, शैली हुन्। नेपाली भाषाको उत्पत्ति मानिएको जुम्ला जिल्लाको सिंजा उपत्यकाको भाषा नै हालसम्म काली कर्णालीको साझा भाषा बनेको छ। यही भाषामा गीत गाउँदा मातृभूमिको वन्दना गरेको अनुभूति हुन्छ।
भाषा आमा हुन्, जस्को सेवा गर्नु सबैको कर्तव्य हो। गीतहरू रक्तसञ्चार गर्ने नसा हुन्, संस्कृति आमाको सिंगो उज्यालो अनुहार हो। नेपाल आमाको काखमा बसेर देउडा गीतमात्र नभएर सबै प्रदेशको मौलिक गीत गाउनु कलाकर्मीको कर्तव्य हुन आउँछ। देउडा, समूह–समूहमा खेले संस्कृति बन्छ, १/२ जनाले सामूहिक रूपमा गाएको खण्डमा गीत बन्छ। यसैगरी भाव पक्षको गहिराइलाई कलमका माध्यमले चर्चा गरेको खण्डमा मौलिक र सङ्लो साहित्य बन्छ। यसको सेवा गर्नु सबै स्रष्टाको कर्तव्य हुन आउँछ।