तपाईं के थरी ? ‘साह’। साह भनेको ठकुरी ? होइन, ‘तेली’।
कस्तो जात हो यो फेरि ? केही वर्ष अगाडि काठमाडौंमा साथीभाइहरूसँग भएको सानो संवादको यो अंशले तेली जातबारे उनले अनभिज्ञता देखाएको स्पष्ट छ। ब्राह्मण, क्षेत्री, थारू, नेवार, मुस्लिम आखिर के हो तेली ? धेरैलाई थाहा नहुन सक्छ। अरूलाई मात्र होइन, स्वयं तेलीहरूलाई नै यस जातका बारेमा अनभिज्ञता छ। र साँच्चै भन्ने हो भने, जुनबेला यो प्रश्न गरिएको थियो, त्यसबेला यो मधेसमा बस्ने एउटा जात हो बाहेक मलाई पनि थाहा थिएन।
यस जातका बारेमा धेरै कथा छन्। यस जात र यसका पेसा निकै पुराना रहेछन्। रस्सेल आरभीले लेखेको ‘द ट्राइब्स एन्ड कास्टस् अफ सेन्ट्रल प्रोभिन्सेस अफ इन्डिया’ को भोल्युम ४ मा तेली जातका उत्पत्ति र रहनसहनबारे १६ पृष्ठ लेखिएको छ। म्याकमिलन एन्ड कम्पनी लन्डनले प्रकाशन गरेको सो पुस्तकमा तेली जातिको उत्पत्ति गणेशको जन्मसँग जोडिएको छ। ‘पार्वतीले हातको मैलाबाट गणेश बनाएको अनि गणेशलाई ढोकामा राखेर पुजा गर्न बसेको। त्यही बेला शिव भगवान् आएर भित्र जान खोज्दा गणेशले रोकेको, अनि त्यसैले शिवजीले गणेशको शिर काटेको। पछि पार्वतीले गणेशलाई जीवित बनाउनुपर्ने भनेपछि हात्तीको टाउको जोडेर जीवित बनाएको’ सन्दर्भ धेरैले सुनेको पनि हुनुपर्छ।
यसै कथासँग तेली जातको कथा जोडिएको सो ‘द ट्राइब्स एन्ड कास्टस् अफ सेन्ट्रल प्रोभिन्सेस अफ इन्डिया’ मा उल्लेख छ। कथामा गणेशजीको शिर भष्म भइसकेकाले दक्षिण दिशातिर फर्केको कुनै पशुको टाउको जोड्न सकिने भएपछि पशुको खोजी भएको हुन सक्छ। शिवले संयोगले एउटा व्यापारीको घरबाहिर दक्षिणतर्फ फर्केर आराम गरिरहेको हात्ती भेट्छन् र सो हात्तीको टाउको काटेर गणेशमा जोडेर जीवित गराएको हुन्छ। यहाँसम्मको कथा धेरैले सुनेको हुनुपर्छ। आफ्नो एक मात्र हात्ती मारेकोमा व्यापारीले बिलौना गरे। त्यही व्यापारीलाई शान्त गर्न शिवजीले सस्र्युुं ओखलमा राखेर मुसलले पेलेर तेल निकाले। त्यही तेल निकालेर जीवनयापन गर्न सिकाएको कथा छ। त्यसैले व्यापारी (वैश्य) समुदायमा तेल पेल्ने व्यवसायी ‘तेली’ भएको भनिन्छ। ‘ओखल र मुसल’बाट कौल (तेल पेल्ने औजार) बनाएको र त्यसैले कौललाई भगवान् शिवका प्रतीकका रूपमा लिने गरिएको भनिएको छ। अंग्रेजी इतिहासकार क्रुकले मिर्जापुरको कथामा तेली जातिको उत्पत्ति सम्बन्धमा फरक तरिकाले भनिएको छ। तर कामको प्रकृति चाहिँ तेल पेल्ने नै उल्लेख छ।
तेली कर्मले जुरेको जातीय नाम भए पनि आधुनिक तेल कारखानाहरू स्थापित हुँदा कृषि, व्यापार र पेशामा आश्रित भए।
उक्त कथामा एक व्यक्तिका तीन छोरा थिए। उनको महुआ (स्पोटेसी प्रजातिका रूख, जस्को वैज्ञानिक नाम मधुका लोगफोलिया हो) ५२ रूखहरू थिए। जब उनी वृद्ध र अशक्त भए, उनले छोराहरूलाई ती रूखहरू बाँड्न भने। तर छोराहरूले रूखहरू नबाँडेर त्यसका उत्पादन बाँड्ने निर्णय गरे। तीमध्ये एकजना पात टिप्न थाले। दोस्रोले फूल र कोपिलाहरू जम्मा गरे। उनले त्यसबाट रक्सी तथा सुगन्धित तेल बनाए। तेस्रोले दाना वा फलहरू लिएर तेल निकाले। यी तेस्रो नै तेली जातका संस्थापक भए। महाभारतमा तुलाधार नामको व्यक्तिको चर्चा गरिएको छ। उनले तेलको व्यवसाय गर्थे। तर उनलाई तेली नभनेर वैश्य भनिएको छ। पद्म पुराणको उत्तराखण्डमा विष्णुगुप्तनामक व्यक्तिको चर्चा गरिएको छ। उनले तेलको व्यापार गर्ने गरेको भनिएको छ। त्यस युगमा ब्राह्मण र क्षेत्री उच्च मानिने अनि वैश्यले कृषि, पशुपालन तथा व्यापार गर्ने गरेको बताइएको छ। धेरै पौराणिक कथाहरूमा तेली जातको चर्चा गरिएको छैन।
मध्यकालीन समयमा मन्दिरहरूको स्थापना र त्यससँगै फूल तथा मालाको व्यवस्थापनका लागि मालाकार तथा दियो बाल्न तेलको व्यवस्थापन गर्न तेलीको महत्त्व दर्शाएको दक्षिण भारतको इतिहासमा उल्लेख छ। भारतीय शासनमा ‘गुप्त वंश’को चर्चा गरिएको छ। गुप्त वंशले लामो समय शासन गरेको तथा सो गुप्त वंश तेली रहेको चर्चा गरिएको छ। तर जैन मुनिको शासनकालमा तेल पेल्नुलाई हिंसात्मक काम मानियो र त्यस्तो काम गर्नेलाई तल्लो जात भनियो। गुजरात, महाराष्ट्र तथा राजस्थान क्षेत्र जहाँ तेलहन (तोरी, सस्र्युं) उत्पादन बढी हुन्थ्यो।
त्यस क्षेत्रमा जातीय द्वन्द्वको सिर्जना भयो। तेलहन उत्पादन तथा तेल पेल्ने कामलाई जोगाउन हतियार उठाउने ब्वर्गलाई ‘धान्ची क्षेत्रीयमोढ तेली’ भनियो। त्यसबेला जसले तेलको व्यवसाय गरे उनलाई ‘तेली वैश्य’ र जसले सुगन्धित तेलको व्यापार गरे। उनलाई ‘मोढ बनिया’ भनियो। महत्त्वपूर्ण पक्ष के भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धान्ची क्षेत्रीयमोढ तेली र भारतीय राष्ट्रपिता महात्मा गान्धी मोढ बनिया रहेको भारतीय इतिहासहरूमा उल्लेख छ।
तेली जातिको बसोबास मुख्य रूपमा भारतमा छ। नेपालको तराई क्षेत्र, पाकिस्तान र बंगलादेशमा केही तेली छरिएर बसेका छन्। जनगणना २०६८ अनुसार नेपालमा ४ लाख २३ हजार तेली नेपालमा छन्। तत्कालीन अञ्चलीय प्रणालीमा १४ अञ्चलमा छरिएर रहेका तेलीहरू सबैभन्दा बढी जनकपुर अञ्चलमा छन्। जहाँ १ लाख २१ हजार र सबैभन्दा कम धौलागिरिमा रहेका थिए। जनगणना २०७८ को पूर्ण नतिजा आएपछि तेलीको जनसंख्या मधेस प्रदेशमा सबैभन्दा बढी हुने सहज अनुमान गर्न सकिन्छ। तेली भन्नेबित्तिकै तेलसँग सम्बन्धित अर्थात् तेल पेल्ने तथा यसको व्यापार गर्ने भनेर बुझिन्छ। कर्मले जुरेको जातीय नाम भए पनि आधुनिक तेल कारखानाहरू स्थापित हुँदा कृषि र व्यापारमा आश्रित भए। पछिल्लो चरणमा व्यापारसँगै जागिर तथा सीपमूलक पेसा (डाक्टर, इन्जिनियर, नापी आदि) मा पनि आकर्षित हुँदै गएका छन्। तेली जातिले साह, साहु, तेली, सेठ, महासेठ आदि थर लेख्ने गरेको पाइन्छ। कतै राठौर, रौनियार, जसवाल आदि पनि लेख्ने गरेका छन्। नेपालमा तेली जाति हिन्दु धर्म मान्ने तथा स्थानअनुसार मैथिली, भोजपुरी र अवधी भाषी पनि छन्।