घृणाभित्रका सफल कथा

घृणाभित्रका सफल कथा

मानिस जीवनका हरेक मोडमा सुख चाहन्छ। तर सुखको खोजीमा कहिलेकाहीं सही मार्ग फेला पार्न नसक्दा मानिस दुःखको सागरमा पुग्छ। अनुभूतिको टेकोमा सुख र दुःखलाई तराजुमा तौलन्छ। आफ्ना पाइलामा आएका बाधाहरूको विश्लेषण गर्दै दुःखको समीक्षा गर्न पुग्छ।

प्रतिकूल वातावरण सिर्जना गर्ने तत्त्व तथा विषयप्रति नकारात्मक भावना पैदा हुन थाल्छ। नकारात्मक भावनाले विस्तारै घृणाको रूप लिँदै जान्छ। घृणा भनेको कसैले कुनै व्यक्ति वा समूह वा वस्तुलाई फिटिक्कै मन नपराउने भावना हो। घृणाको भावनाहरू प्रायः सजिलैसँग खुलासा हुँदैनन्। घृणा एक भारी विषय हो। रिस वा मन नपराउने चरम अवस्था पनि हो।

घृणाले मानिसको मस्तिष्कलाई आफ्नो बासस्थान बनाउँछ भने प्रेमले हृदयलाई। मानिसको मस्तिष्कमा रहने घृणा एक अलग किसिमको भावना हो। यसले अन्य क्रोधयुक्त भावनाहरूका विशेषतासँग साझेदारी गर्छ। पारिभाषिक अर्थमा घृणा र नकारात्मक भावना फरक मानिन्छ। यद्यपि घृणालाई नकारात्मक भावनाको प्रभावकारी अवस्थाको रूपमा लिन सकिन्छ। मानिसका प्रत्येक भावना आआफ्नो विशेषता बोकेर विकसित भएको हुन्छ। सोचका तरिकाहरूमा भावनाहरूको लक्ष्य जोडिएका हुन्छन्। व्यक्ति वा वस्तु मन नपराउनु नकारात्मक प्रभावकारी अवस्था हो। घृणाको लक्ष्य मन नपरेको व्यक्ति तथा वस्तुलाई अपमानित र बहिष्कृत गर्नु पनि हो। घृणा, व्यक्ति वा समूहको स्वभावमा केन्द्रित हुन्छ।

प्रायः मानिसको परिवारका सदस्य, साथी वा पेसागत साझेदारहरूमा घृणाको भावना पलाएको देखिन्छ। अपमान र धम्कीको रूपमा पनि घृणाहरू अभिव्यक्त भइरहेका हुन्छन्। घृणायुक्त अभिव्यक्तिले हिंसालाई उक्साउँछ। अनि सामाजिक एकता र सहिष्णुतालाई कमजोर बनाउँछ। घृणालाई तात्कालिक अवस्था र परिस्थितिजन्य वातावरणले मापन गर्छ। जीवनको एउटा दुःखद् पक्ष पनि हो घृणा। यसले जीवनका असन्तुष्टिलाई प्रदर्शन गर्छ। असन्तुष्टिका जगमा मौलाएको घृणाले जीवनमा वास्तविक सुख दिँदैन।

घृणा आत्मविनाशकारी छ। अरूलाई भन्दा आफैंलाई बढी चोट दिन सक्छ। क्षमाले घृणालाई पराजित गर्छ। क्षमामा माया, प्रेम र सद्भाव हुन्छ। क्षमाले सकारात्मक सोच निर्माण गर्छ। सकारात्मक सोचले घृणालाई बदल्न सक्छ। घृणाले घृणालाई हटाउन सक्दैन तर प्रेमले सजिलै घृणालाई हटाउन सक्छ। कोहीप्रति गरिने घृणाले मानिसलाई विस्मृतिमा होइन, स्मृतिको सतहमा पुर्‍याउँछ। मानिसले जसलाई घृणा गर्छ, उसलाई बिर्सन सक्दैन। नचाहेरै पनि घृणित विषयवस्तु उसको दिमागमा आइरहन्छ। बिर्सनकै लागि पनि ऊ बारबार सम्झिरहन्छ। महान् लेखक तथा विश्वप्रसिद्ध नाटककार विलियम सेक्सपियर भन्छन्, ‘मलाई माया गर या घृणा गर, दुवै मेरा पक्षमा छन्। यदि तिमी मलाई माया गर्छौं भने म सधैं तिम्रो हृदयमा हुनेछु र घृणा गर्छौं भने तिम्रो मस्तिष्कमा।’

हात नै नहुनेहरूको पनि भाग्य हुन्छ। घृणालाई प्रेमको किरणले शक्तिमा बदल्नेहरूले नै सफलताका कथाहरू लेख्ने हुन्।

भावनात्मक चोटहरूले मानिसलाई सबैभन्दा बढी दुःखी बनाउँछ। घृणाले समाधान दिँदैन। आफूले घृणा गरेको व्यक्तिसँग पनि केही न केही राम्रो गुण हुन्छ। सकारात्मक गुण खोज्न सक्नुपर्छ। क्षमा र माया मिश्रित सोचले सकारात्मक गुण पहिल्याउन सकिन्छ। सकारात्मक गुणले घृणालाई नष्ट गर्छ। क्षमाले सहनशीलता प्रदर्शन गर्छ। सहनशीलताको शीतलतामा क्रोधको अग्निमा समाहित घृणा आफैं सेलाउँछन्। खाँचो छ त प्रेमको उज्यालोमा सद्गुणको।

घृणाले समस्याहरू निम्त्याउँछ। यसले समाधान र वास्तविक सुखको अनुभूति दिँदैन। जीवनलाई समस्याग्रस्त बनाउँदै अन्धकारमय बनाइदिन्छ। अन्धकारमा चालिएका कदमहरूमा ठेस आफैंलाई लाग्ने हो। घृणाले बदला, अहंकार, स्वार्थ, लोभजस्ता सुखका शत्रुहरूलाई केन्द्रमा राख्छ। क्रोध पैदा गर्छ। गीतामा भगवान् श्रीकृष्ण भन्नुहुन्छ– ‘क्रोधले भ्रम पैदा हुन्छ। भ्रमले बुद्धि व्यग्र हुन्छ। जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ। जब तर्क नष्ट हुन्छ, तब व्यक्तिको पतन हुन थाल्छ।’ घृणाले जन्माएका क्रोधका कारण अकल्पनीय घटना घटेका उदाहरण पनि प्रशस्त छन्। घृणाका आफ्नै लक्ष्य हुन्छन्। लक्ष्य चुम्ने प्रयासका स्वार्थले ओतपोत यात्रा पनि भिन्नभिन्न होलान्। तर भन्न सकिन्न, सबै प्रयासहरूले सफलता चुम्न सक्छन्। फरक हुन सक्छन् स्वाद र चाहनाहरू, जे छ त्यसैमा खुसी हुन सक्नुपर्छ।

विश्वले बेहोरेका ती ठूला युद्ध हुन् या सामाजिक द्वन्द्व सबै घृणाका उपज हुन्। घृणाले मानिसको जीवनलाई अशान्ति र तनावमय बनाइदिन्छ। अमृतका वृक्षहरूमा विषरूपी फल देखिन थाल्छन्। क्षणभरमा आफ्नालाई नै पराइ बनाइदिन्छ। जब मानिसले तीतोभित्रको मिठासलाई चिनेर रसस्वादन गर्छ अनि जीवनको अर्थ वुझ्छ। घृणाको सागरमा डुबुल्की मार्नेले सागरबाट बाहिर निस्कन पनि जान्नुपर्छ। अन्धकारलाई उज्यालोले चिर्न सक्नुपर्छ। घृणाको गहिराइमा डुबेको जीवनलाई त्यही सागरभित्रको गहिराइमा भेटिने प्रेमिल मोतीका दानाहरूले बाहिर उतार्छ। प्रेमको उज्यालोले घृणाको अन्धकारलाई विस्थापित गर्छ।

भारतका मोहनदास करमचन्दले घृणा र हिंसारूपी भावनालाई त्यागे। त्यसपछि अहिंसा तथा शान्तिपूर्ण प्रतिकारलाई शस्त्र बनाएर महात्मा गान्धी बने। ब्राजिलका एड्सन आरान्तेस दो नासिमेन्तो गरिब परिवारका थिए। अभावै अभावको जिन्दगी उनको बाध्यता थियो। सानैदेखि फुटबल खेलमा रुचिकर तर गरिबीकै कारण पटकपटक विभिन्न क्लब र समूहबाट पनि तिरस्कृत भए। घृणित व्यवहार बेहोरे। तर पनि आफूलाई घृणा गर्नेलाई उनले घृणा फर्काएनन्। न आफ्नै भाग्यलाई कहिलै धिक्कारे। बरु गरिबीलाई स्वीकारे। अरूले दिएका घृणालाई प्रेमपूर्वक शक्तिमा बदले। पुराना थोत्रा कपडाको झुम्रोको बल खेलेरै आफ्नो लक्ष्यलाई अगाडि वढाए। अन्ततः विश्वकै सुप्रसिद्ध फुटबलर ‘पेल’ बने।

आफूले घृणा गरिरहेको व्यक्ति, समूह तथा परिस्थितिले आफूलाई पनि घृणा गरिरहेको हुन्छ भन्ने हुँदैन। घृणालाई प्रेममा बदल्न सक्नेले नै जीवनलाई सुन्दर बनाउँछन्। समस्या समाधानमा परिणत गर्न सक्छन्। आँसुले भिजेका परेलीहरू खुसीका तरेलीमा रमाउँदा चोटहरूले मलम प्राप्त गर्छ। जीवनका नाफा र घाटाको हिसाबमा घृणाले मलजल प्राप्त गर्छ। जीवन नाफा र घाटाको व्यापार होइन, नलेखिएका र नदेखिएका पाटा धेरै हुन्छन्। जीवन त सृष्टिको अलौकिक उपहार हो। सम्हाल्ने र सम्हालिने बाटा धेरै हुन्छन्। रिस, निराशापन, डर र मानसिक तनाव सबै घृणाका उपज हुन्। आफूले आफैंलाई घृणा गर्नेहरू मनोरोगका सिकार भएका घटना छन्। भाग्यलाई हत्केलाका रेखाहरूमा होइन, मेहनत र कर्ममा खोज्नुपर्छ। हात नै नहुनेहरूको पनि भाग्य हुन्छ। घृणालाई प्रेमको किरणले शक्तिमा बदल्नेहरूले नै सफलताका कथाहरू लेख्ने हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.