अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन गर्न अध्ययन समिति गठन
विराटनगर : अस्पतालबाट निस्कने फोहोरको दीर्घकालीन व्यवस्थापन र आवश्यक अध्ययनका लागि विराटनगर महानगरपालिकाले समिति गठन गरेको छ।
संक्रमणजन्य फोहोरको उचित व्यवस्थापनको उद्देश्यका महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो।
समितिमा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकृत र महानगरका सरसफाई व्यवस्थापन शाखा प्रमुख पुनम दाहालसहित सरकारी अस्पताल, निजी अस्पताल, नोबेल शिक्षण अस्पताल, विराट मेडिकल, पोलिक्लिनिक, ल्याब, फोहोर व्यवस्थापन साझेदार संस्था तथा फार्मेसीका १/१ प्रतिनिधि सदस्य रहेका छन्।
गठित समितिले जमिन, प्रविधि, फोहोरको मात्रा, सञ्चालन र व्यवस्थापन लगायतका विषयमा अध्ययन गरी माघ मसान्तभित्र प्रतिवेदन बुझाउनेछ।
प्राप्त प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिएर महानगरले फोहोर व्यवस्थापनको काम सुरु गर्ने मेयर नागेश कोइरालाले बताए। उनले विराटनगरको डम्पिङ साईट व्यवस्थापनको कार्य समेत भइरहेको जानकारी दिए।
महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको लगायतको उपस्थितिमा निजी अस्पतालहरूको छाता संगठन अफिन, विराटनगरमा सञ्चालित मेडिकल कलेज, अस्पताल, नर्सिङ होम, ल्याब, पोलिक्लिनिक र मेडिकलका प्रतिनिधिहरूको भेलाले फोहोर व्यवस्थापनका लागि समिति गठन गरेको जनाएको छ।