देशकै अनौठो उपाधि, ‘माननीय विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी’

तत्कालीन गृहमन्त्री भीम रावलले आफूलाई उक्त  विषयमा कुनै याद नरहेको प्रतिक्रिया दिए। ‘हो त्यो समयमा म गृहमन्त्री थिएँ तर मलाई याद छैन’, रावलले भने, ‘त्यो घटना, कुन परिस्थितिमा कसरी दिइयो ?हेर्नुपर्छ।’

देशकै अनौठो उपाधि, ‘माननीय विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी’

काठमाडौं : एक व्यक्ति अचेल कार्यालय–कार्यालयमा एउटा पत्र बोकेर पुग्छन्, जुन पत्रमा उनलाई ‘माननीय विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी’ का रूपमा सूचीकृत गरिदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लेखेको छ। कुनै कानुनमा नभएको, अरू कसैका लागि नदेखिएको उक्त उपाधि पाएका व्यक्ति हुन् जगदीश वैद्य। उनले आफ्नो नामका अगाडि प्रा.डा.समेत राख्ने गरेका छन्। 

वैद्य ‘कार्यार्थ पठाइएको’ पत्र बोकेर जब नेपाल प्रज्ञा प्रतिष्ठानमा केही महिनाअघि पुगे, तत्कालीन सदस्यसचिव जगतप्रसाद उपाध्यायले अस्वीकार गरे। त्यससँगै वैद्यको ‘माननीय विशिष्ट’ बन्ने खेती उजागर हुन थालेको हो। यहाँसम्म कि पर्यटनले मातहतका ३१ निकायलाई यसका लागि पत्राचार गरेको छ। 

गृह मन्त्रालयले मन्त्रीस्तरमा २०६७ मंसिर २२ गते एउटा यस्तो निर्णय गर्‍यो, ‘प्रा.डा. जगदीश वैद्यको नाम आजीवन राष्ट्रिय पर्व तथा कार्यक्रममा विशिष्ट आमन्त्रितको सूचीमा समावेश गर्ने।’ त्यसलाई कार्यान्वयन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत भदौ १२ गते मातहतका निकायमा पत्राचार गरेको पाइएको छ। 

तर, प्रश्न उब्जिएको छ– कोही व्यक्तिलाई के आधारमा यसरी पद दिइयो ? यसप्रति सरोकारवालाले आपत्ति जनाएका छन्। उनीहरूले वैद्य कुनै ‘वरिष्ठ’ नभएको बताएका छन्। मन्त्रालयको पत्रमा भने ललितपुर– १५ ताल्छीखेल निवासी प्रा.डा. वैद्यलाई ‘माननीय विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी’ भनिएको छ। 

‘गृह मन्त्रालयको माननीय मन्त्रीस्तरीय निर्णयबाट आजीवन नेपाल सरकारको सम्पूर्ण निकायहरूमा राष्ट्रिय पर्व, उत्सव तथा राष्ट्रिय कार्यक्रमहरूमा र विशिष्ट पाहुनाको स्वागत र निजी कार्यक्रममा समेत सहभागी हुन विशिष्ट आमन्त्रितको सूचीमा नाम समावेश गरिएको हुँदा’, पत्रमा लेखिएको छ, ‘तहाँ निकायबाट हुने हुने कार्यक्रममा सहभागी हुन निजलाई विशिष्ट आमन्त्रितको सूचीमा नाम समावेश गरी निमन्त्रणा कार्ड पठाउने व्यवस्था गर्न हुन र सोको जानकारी निजलाई समेत गराउनु हुन नेपाल सरकार (सचिवस्तर) मिति २०७९/०५/१२ को निर्णयअनुसार अनुरोध छ।’

आमन्त्रित सूचीमा नाम समावेश गर्न जेभी फाउन्डेसनले भदौ ७ गते मन्त्रालयमा निवेदन दिएको पत्रमा उल्लेख छ।  गृहको पत्र देखाएपछि आफूले पनि पत्र काटेको मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। ‘मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयको पत्र देखाएपछि हामीले पनि होला भनेर गरिदिएका हौं। पछि अन्य साथीले नगरेको भए हुन्थ्यो भन्नुभयो’, सचिव अधिकारीले भने, ‘मलाई नै पाच्य भएन। कतिपय ठाउँमा महत्त्व नदिनु है पनि भनियो।’ 

यस्तो निर्णय अरू कति भएको छ भन्ने प्रश्नमा उपसचिव टेकनारायण पौडेलले भने, ‘अरूलाई दिएको हामीले थाहा पाएका छैनौं।’ 

समाजसेवी वैद्यले आफ्नो कामको मूल्यांकन गरी गृह मन्त्रालयले आफूलाई सो सम्मान दिएको बताए। ‘५० सालको दैवी प्रकोपमा राहत संकलन गरें। धेरै ठाउँमा मठमन्दिर मूर्ति घण्टी बनाएको छु। कामको आधारमा गृह मन्त्रालयले कार्यक्रममा सम्मान गर्नका लागि परिपत्र गरेको हो’, वैद्यले भने। 

उनले संगीतकार अम्बर गुरुङ र राष्ट्रकवि माधवप्रसाद घिमिरेपछि आफूलाई सो दर्जाको सम्मान गरेको दाबी गरे। तत्कालीन गृहसचिव भरत शर्माले उक्त पत्रमा हस्ताक्षर गरेको उनको भनाइ छ। सामाजिक सेवामा अग्रसर आफू विभिन्न संवैधानिक आयोगहरूमा प्रमुख सल्लाहकार रहेको दाबी उनले गरे।

तत्कालीन गृहमन्त्री भीम रावलले आफूलाई उक्त  विषयमा कुनै याद नरहेको प्रतिक्रिया दिए। ‘हो त्यो समयमा म गृहमन्त्री थिएँ तर मलाई याद छैन’, रावलले भने, ‘त्यो घटना, कुन परिस्थितिमा कसरी दिइयो ?हेर्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.