पार्टी एकताको प्रतिवेदन माओवादी बैठकमा पेस
काठमाडौं : माओवादी बैठकमा पार्टी एकताको एजेण्डामा छलफल भएको छ। पार्टी संगठन संरचनालाई दरिलो, गतिशिल र संगठमा देखिउको समस्यालाई समाधान गर्दै पार्टीलाई सशक्त बनाउने बिषयमा माओवादी नेताहरुले गम्भीर भएर छलफल चलाएका छन्।
शुक्रबारको पार्टी बैठकमा नेता महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन पेस गरेका थिए। अर्का नेता जनार्दन शर्माले पार्टी संगठनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेता गिरिराजमणि पोखरेलले पार्टी स्कुलिङसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।
‘बाबुराम भट्टराई, माधव कुमार नेपालसंग संस्थागतरूपमा पार्टी एकताका लागि कुरो अघि बढाएका हौं,' माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर महराले भने, ‘व्यक्तिगतरूपमा नेत्रचन्द विप्लव नेतृत्वको पार्टीसहित अरु पार्टीसँग एकताको कुरो चलिरहेको छ। कुनै पार्टीसँग एकता गर्ने प्रक्रिया अन्तिम निष्कर्षमा पुगेको छैन।’
महासचिव देव गुरुङको नेतृत्वमा पार्टीका उपमहासचिव सहितको टोलीलाई बैठकमा उठेका बिवियहरूमाथि जवाफ दिन र पार्टीका कार्यविभागन गर्न ठोस प्रस्ताव तयार गर्न जिम्मा दिएको छ। स्थायी कमिटिको बैठक माघ १६ गते बस्ने छ।