साझा व्यक्ति राष्ट्रपति बनाउन माओवादी केन्द्रमा जोड

माओवादीभित्र एमालेलाई राष्ट्रपति पद दिन नहुने मत पनि चर्को रूपमा उठेको छ।

साझा व्यक्ति राष्ट्रपति बनाउन माओवादी केन्द्रमा जोड

काठमाडौं : माओवादी केन्द्रका अधिकांश नेताहरूले साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपतिमा अघि सार्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि ‘दबाब’ पनि बढाएका छन्। 

स्थायी समितिको शुक्रबारको बैठकमा नेताहरूले विगतमा राष्ट्रपतिको भूमिकाका कारण देश संकटमा फसेको उदाहरण पेस गर्दै र साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका थिए। माओवादीले राष्ट्रपति निर्वाचनलाई एजेन्डा बनाएर छलफल गरिरहेको छ। फागुन २५ गतेपछि राष्ट्रपतिको चुनाव हुँदैछ। यो चुनावमा माओवादीको मत निर्णायक छ।

माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न पार्टी अध्यक्षलाई धेरै नेताहरूले सुझाव दिएको बताए। ‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे सबै दलसँग राष्ट्रिय सहमति खोज्ने नीति लिएका छौं,’ महराले भने, ‘यो विषयमा अरू पार्टीसँग पनि छलफल गर्छौं।’ एमालेलाई राष्ट्रपति दिने भद्र सहमति माओवादीले तोड्न लागेको हो भन्ने प्रश्नमा महराले भने, ‘एमालेसहितलाई राखेर राष्ट्रिय सहमति खोज्छौं। यसमा हामीले एमालेलाई धोका 

दिएको भन्ने कुरो नै होइन।’ 

पूर्वसभामुख तथा माओवादीकी नेत्री ओनसरी घर्तीमगरले राष्ट्रपति को हुने भन्ने विषयमा पात्रमाथि छलफल गर्ने समय आई नसकेको बताइन्। ‘गठबन्धन दलमा छलफल गरेर राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको चुनावमा जान्छौं,’ उनले भनिन्। राष्ट्रपति पद एमालेलाई दिने र प्रधानमन्त्री पद माओवादीले लिनेबारे एमालेसँगको सहमति तोड्न खोजेको भन्ने प्रश्नमा उनले भनिन्, ‘कुन सर्त के ? भन्ने भन्दा पनि आवश्यकताको आधारमा हाम्रा नेताले राजनीतिक रूपमा एउटा निकास दिनु भएको हो। यो निकास सही हो भन्ने कुरा अरूलाई पनि लागेको हो। नयाँ वातावरणलाई हामी मिलेरै सम्बोधन गर्छाैं।’

माओवादीभित्र एमालेलाई राष्ट्रपति पद दिन नहुने मत पनि चर्को रूपमा उठेको छ। ‘एउटै पार्टीलाई सभामुख र राष्ट्रपति पद दिँदा संविधान खतरामा पर्छ’ भन्ने धारणा बैठकमा उठेको छ,’ एक स्थायी समिति सदस्यले भने। शुक्रबारको पार्टी बैठकमा धारणा राखेका २७ जना नेताले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपतिको चुनावमा जानुपर्ने सल्लाह पार्टी अध्यक्ष दाहाललाई दिएका थिए। प्राप्त उपलब्धि र राजनीतिक स्थिरताका लागि राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति खोज्नुपर्ने बहस पार्टीभित्र भइरहेको नेता नारायण दाहालले बताए।

  • माओवादीभित्र एमालेलाई राष्ट्रपति पद दिन नहुने मत पनि चर्को रूपमा उठेको छ
  • ‘एमालेसहितलाई राखेर राष्ट्रिय सहमति खोज्छौं’

‘देशमा राजनीतिक स्थिरता पैदा गर्नु जरुरी छ। स्थिर राजनीतिका निम्ति हामीले धेरै पटक पार्टीहरूसँग गठबन्धन बनायौं। तर, स्थिर राजनीतिका निम्ति अझै पनि आधारहरू खडा भएको छैन’, उनले भने, ‘हालै सदनमा दुई ठूला पार्टीका नेताहरूले बोलेका कुराबाट पुष्टि पनि गरिनै सकेको छ। राष्ट्रपतिको चुनावसम्म यो स्थिति कहाँ पुग्छ त्यसको ठेगान छैन।’ यो अवस्थामा देशको सापेक्षित स्थितरताको निम्ति राष्ट्रपतिको भूमिका पनि महŒवपूर्ण भूमिका हुने उनले बताए।

‘यस्तो व्यक्ति चाहियो जसले देशलाई स्थिरता तिर लैजाने होस्। कुनै पार्टीको कुरा रहेन। यस्तो पात्र खोज्न राष्ट्रिय सहमति कायम गर्ने कुरो पार्टीको बैठकमा भएको छ’, माओवादी नेता दाहालले अन्नपूर्णसँग भने।प्राप्त उपलब्धिलाई संस्थागत गर्दै शान्ति प्रक्रियाको अधुरा कामलाई पूरा गर्ने पार्टीहरूलाई एक ठाउँमा ल्याएर राष्ट्रपतिको चुनावमा जाने बारे गम्भीरतापूर्वक पार्टी भित्र छलफल भइरहेको नेता दाहालले बताए। ‘संविधान बन्यो। गणतन्त्र आयो। संघीयताको शासन प्राप्त भयो। त्यसलाई सृढृढीकरण गर्ने र शान्ति प्रक्रियाको बाँकी रहेको कामलाई टुंग्याउने पक्षमा 

सहमति जनाउने पार्टीहरूसँग राष्ट्रिय सहमति खोजिन्छ’, उनले भने, ‘यसकै आधारमा हामी राष्ट्रपतिको निर्वाचनमा जान्छौं।’

पार्टीलाई बलियो बनाउँदै माओवादी

माओवादी बैठकमा पार्टी एकताको एजेन्डामा छलफल भएको छ। पार्टी संगठन संरचनालाई दरिलो, गतिशील र संगठनमा देखिएको समस्यालाई समाधान गर्दै पार्टीलाई सशक्त बनाउने विषयमा माओवादी नेताहरूले गम्भीर भएर छलफल चलाएका छन्। ‘बाबुराम भट्टराई, माधवकुमार नेपालसँग संस्थागत रूपमा पार्टी एकताका लागि कुरो अघि बढाएका हौं’, माओवादीका वरिष्ठ नेता महराले भने, ‘व्यक्तिगत रूपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसहित अरू पार्टीसँग एकताको कुरो चलिरहेको छ। कुनै पार्टीसँग एकता गर्ने प्रक्रिया अन्तिम निष्कर्षमा पुगेको छैन।’

शुक्रबारको पार्टी बैठकमा नेता महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन पेस गरेका थिए। अर्का नेता जनार्दन शर्माले पार्टी संगठनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेता गिरिराजमणि पोखरेलले पार्टी स्कुलिङसम्बन्धी प्रतिवेदन पेस गरेका थिए। महासचिव देव गुरुङको नेतृत्वमा पार्टीका उपमहासचिवसहितको टोलीलाई बैठकमा उठेका विषयहरूमाथि जवाफ दिन र पार्टीका कार्य विभागन गर्न ठोस प्रस्ताव तयार गर्न जिम्मा दिएको छ। स्थायी कमिटीको बैठक माघ १६ गते बस्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.