साउथ जोनलाई उपाधि
वीरगन्ज : सातौं प्याब्सन अन्तर विद्याललय नकआउट टीट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि साउथ जोन माविले जितेको छ। शनिबार आदर्शनगर रंगशालामा भएको फाइनलमा साविक विजेता मनकामना माविलाई १८ रनले पराजित गर्दै साउथ जोनले उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको साउथ जोनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रनको योगफल खडा गरेको थियो। जवाफी व्याटिङमा उत्रिएको मनकामना मावि १८.३ ओभरमा एक सय २४ रनमा समेटिएको थियो। प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी साउथ जोन माविका चन्दन राम घोषित भए। यस्तै बेस्ट ब्याट्सम्यान मिनिल्यान्ड माविका सोनु पटेल, बेस्ट बलर मिनिल्यान्ड माविकै नितेश पासवान घोषित भए।
प्रतियोगिताका विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल कार्की र प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधानले पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि क्रिकेटमा संलग्न राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका उमेश उपाध्यायलाई सम्मान गरिएको थियो।
प्याब्सन पर्साको आयोजनामा माघ ५ गतेदेखि सुरु भएको प्रतियोगितामा २५ वटा निजी विद्यालयका टोलीले भाग लिएका थिए।