योजना आयोगका उपाध्यक्ष डा. झाले दिए राजीनामा
जनकपुरधाम : मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन्।
प्रदेशको समग्र विकासको योजना बनाउने उद्देश्यसहित गठित आयोगका उपाध्यक्ष झाले पदबाट राजीनामा दिएका हुन्। झाले चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताका आधारमा आफूले राजीनामा दिएको बताएका छन्।
प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति, रणनीतिक विषयक्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पुर्याउने मुख्य जिम्मेवारी सहित मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश नीति आयोगको गठन हुने व्यवस्था छ।
डा. झा २०७६ भदौ २२ गते मधेस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए। यसअघि रहेका नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झालाई हटाएर डा. भोगेन्द्र झालाई ल्याइएको थियो।