विकासका सवालमा वडाध्यक्ष एकजुट

विकासका सवालमा वडाध्यक्ष एकजुट

डोटी : डोटीका वडाअध्यक्षहरू जिल्लाको समग्र विकासका लागि साझा मुद्धाहरूको खोजी गर्दै एकजुट भएर अगाडि बढ्ने भएका छन।

दीपायलमा बसेको वडाअध्यक्षहरूको भेलाले जिल्लाका गौरवका विकासका योजनाहरूलाई सबै स्थानीय तह तथा वडाहरूले मिलेर अगाडि बढाउनुपर्ने बताएको छ। भेलामा जिल्लाका साझा सवालहरूका बारेमा सरोकारवाला निकायहरूसँग समेत छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै दीपायल सिलगढी नगरपालिका–६ का वडा अध्यक्ष नरेश मलासीले जिल्लाको पहिचान बोकेका साझा मुद्दाहरूको सवालमा एकजुट भएर अगाडि बढ्ने बताए। उनले भने, ‘हाम्रो पाँच वर्षको कार्यकाल हुन्छ एक वर्ष जान थाल्यो अब चार वर्ष बााकी छ, जिल्लाभरिका सबै वडाअध्यक्ष मिलेर केही साझा काम गर्न अघि बढेका छौं।’

जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर सहितको पाँच वेड सहितको आईसीयू सेवा संचालन गर्नको लागि साझा छलफल भएको शिखर नगरपालिका–१ का वडाअध्यक्ष दीपक बोगटीले बताए। उनले भने– ‘जिल्लामा आईसीयू सेवा नहुँदा उपचारका लागि लाखौं खर्च गरेर जिल्ला बाहिर कैलाली, छिमेकी देश भारत, नेपालगन्ज, काठमाडौं जानुपर्ने बाध्यता रहेको छ, जिल्लामा स्थापना गर्दा आमनागरिकलाई सहज हुनेछ।’

केही दिनमा जिल्लाका साझा सवालहरूमा छलफल गर्नका लागि सबै पालिका प्रमुख उपप्रमुख, वडाअध्यक्ष, जिल्लाका सरोकारवाला निकायहरूको सहभागिता हुने गरी बृहत् रूपमा छलफल कार्यक्रमको आयोजना गर्ने योजना रहेको समेत वडा अध्यक्ष बोगटीले बताए। 

छलफल कार्यक्रममा बोल्दै सामुदायिक बिकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले पालिकाभित्रका विभिन्न योजनाहरू मध्य केही कामलाई नमुनाको रुपमा अघि बढाउन सके थप प्रभावकारी हुने बताए। पछिल्लो समयमा दिनानुदिन बढ्दै गइरहेको बेरोजगारको समस्यालाई मध्यनजर गर्दै रोजगार सिर्जना गर्ने कार्यक्रमहरूलाई बढी प्राथमिकता दिनुपर्नेसमेत बताए।

दीपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले जिल्लाका साझा सवाललाई उठान गरी अगाडि बढाउन सबै क्षेत्रबाट सहयोग पाइने बताए। उनले भने, ‘तपाईहरूले यी साझा सवाल जनताको हितमा छन भनेर उठान गर्नुहोस नगरपालिका कहिल्यै पछाडि हट्दैन, जनताको पैंसा जनताको लागि काम गर्न किन पछाडि हट्नु।’ साझा सवालहरू उठान गर्दा जिल्लाको समग्र क्षेत्रलाई समेट्नुका साथै आम नागरिकबाट राय सल्लाह लिंदा थप प्रभावकारी हुने समेत नगर प्रमुख खड्काले बताए। 

डोटी जिल्लाका साझा सवालहलाई उजागर गर्न सबै निकायको सहयोग तथा सहकार्य आवश्यक रहेको कार्यक्रमका दीपायल सिलगढी नगरपालिका–२ वडा अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए। डोटी जिल्ला साबिकको ९ जिल्लाको क्षेत्रीय सदरमुकाम, ऐतिहासिक डोटी गौणाको पहिचानलाई कायम राख्न पनि विभिन्न क्षेत्रको विकास आवश्यक रहको उनले बताए। 

कार्यक्रममा बोल्ने अधिकांश सहभागिहरूले डोटी जिल्लाका साझा सवालहरूलाई सम्बोधन गर्न जोड दिनुपर्ने बताए। विशेषगरी खुटिया दीपायल फास्ट ट्र्याक निमार्ण तथा सुचारु, खप्तड क्षेत्रको प्रवद्र्धन तथा विकास, साबिकको सुदूरपश्चिमको क्षेत्रीय सदरमुकामको इतिहास झल्किने चिजवस्तुको संरक्षण तथा प्रवद्र्धन, आईसीयू सहित सुबिधासम्पन्न अस्पताल, शैक्षिक क्षेत्रमा नमुना प्राविधिक कलेज स्थापना, धार्मिक, पर्यटकीय स्थलहरूको पहिचान एवं संरक्षण लगाएका सवालहरूमा जोड दिएका थिए।

डोटी जिल्लाका समसामयीक सवालहरूलाई उजागर गर्न आगामी दिनमा पनि विभिन्न छलफल, अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिनुका साथै साझा सवालहरूलाई सम्बोधन गर्न प्रदेश सरकार, संघीय सरकारसँग सहयोगका लागि अभियाननै अगाडि बढाउने योजना रहेको आयोजकले बताएको छ। डोटीमा ९ वटा स्थानीय तह र ६५ वटा वडा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.