मधेसमा पहिलो महिला मन्त्री सूरिता साह
जनकपुरधाम : संघीयताको जननी भनेर चिनिने मधेस प्रदेशमा पहिलो महिलाको रुपमा सूरिता कुमारी साहले मन्त्री पद पाएकी छिन्।
समावेशी समानुपातिकको रटान रटने मधेसवादी दलले यस अघिको मन्त्री परिषदमा कुनै पनि महिलालाई मन्त्री बनाएको थिएनन्। तर यस पटकको मन्त्रिमण्डलमा एक जना मन्त्रीलाई स्थान दिएको छ।
मधेस प्रदेशको हिसाबले भन्ने हो भने मधेस प्रदेश सरकारमा उनी पहिलो महिला मन्त्री हुन्। साहलाई आज भएको मन्त्री परिषद् विस्तारमा साहलाई समाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो।
महोत्तरी क्षेत्र नं. २ (ख)बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित भएकी सुरिता केही दिनअघि मन्त्री दिनुपर्ने शर्तमा जसपामा प्रवेश गरेकी थिइन्। उनीसँगै पर्साको क्षेत्र नं. ३(क) बाट निर्वाचित प्रमोद कुमार जयसवाल पनि जसपा प्रवेश गरेको थियो।
साह यसअघि पनि तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट २०७४ को निर्वाचनमा प्रत्यक्षबाट निर्वाचनमा विजयी भएकी थिइन्। पछि जसपा हुँदै लोसपा हुँदा पनि उनलाई कुनै पनि पद पाइनन्।
गत चुनावमा गठबन्धनको भागवण्डामा उनको क्षेत्र कांग्रेसको भागमा परेपछि साहले पार्टी परित्याग गर्दै स्वतन्त्रबाट चुनाव लडेकी थिइन्।
उनले कांग्रेसका महोत्तरी जिल्ला सभापति नागेश्वर यादवलाई पराजित गर्दै निर्वाचित भएकी थिइन्। सरकार गठनको बेला समर्थन दिएकी सुरिता मन्त्री पाउने सर्तमा जसपा प्रवेश गरेकी थिइन्। मधेस प्रदेश सरकारकै पहिलो क्याबिनेट मन्त्री बन्ने सौभाग्य पाएकी हुन्।
यसअघि लालबाबु राउत नेतृत्वको सरकारमा महिलालाई क्याबिनेट मन्त्री बनाइएको थिएन। राज्यमन्त्री भने तीनवटा महिलालाई दिइएको थियो। जसमा क्रमशः स्व. डिम्पल झा, उषा यादव र माला कर्ण राज्यमन्त्री थिइन्।