बाह्र बण्ड अठार खण्ड, नाम हो रामारोशन

बाह्र बण्ड अठार खण्ड, नाम हो रामारोशन

अछाम : सुदूरपश्चिम अछाम जिल्ला कैलाशको मुहान, बाह्र बण्ड अठार खण्ड नाम हो, रामारोशन।

‘बाह्र बण्ड अठार खण्ड’ अर्थात् एकै ठाउँमा १२ ताल र १८ मैदान। कुनै ताल अंग्रेजीको ‘सी’ आकारका, कुनै लाम्चा त कुनै बाटुला। स्वच्छ-निर्मल ठूल्ठूला तालको एक फन्को लगाउन पनि घण्टौं लाग्ने। घुम्दै जाँदा थकाइ लागे बिछ्याउनाजस्ता घाँसे मैदान। त्यो पनि, एक-दुई होइन, १८ वटा। चराका चिरबिर आवाजले कानमै गुञ्जने। बहुमूल्य जडीबुटीका सुगन्ध नाकैमा ठोकिरहने। राष्ट्रिय चरा डाँफेका लस्करै भेटिने। चैत-वैशाखमा विभिन्न रंगका राष्ट्रिय फूल लालीगुराँसले ढकमक्क ढाक्दाको सुन्दरताको वर्णन त गरिसाध्य छैन रामारोशनको।

समुद्री सतहदेखि झन्डै तीन हजार मिटरको उचाइमा पर्छ रामारोशन। यसलाई प्रकृतिको वरदानभन्दा फरक पर्दैन। ‘धर्तीको स्वर्ग’ पर्यटकीय क्षेत्र रामारोशन गाउँपालिका–५ मा अवस्थित छ। उच्च लेकाली भेगमा रहेको यो क्षेत्रमा विभिन्न आकृतिका १२ वटा ताल र १८ घाँसे मैदान छन्। यहाँ रातो, सेतो, गुलाबी रंगका ९ प्रकारका लालीगुराँस र राष्ट्रिय चरा डाँफे पाइन्छन्। विभिन्न प्रजातिका जडीबुटीको भण्डार पनि हो, रामारोशन। लोपोन्मुख वन्यजन्तुको समेत बासस्थान हो।

यहाँका सबै ताल सुन्दर र मनमोहक छन्। करिब १० बिघाभन्दा बढी क्षेत्रफलमा मैदान र तीन वटा ताल फैलिएका छन्। एक दिनमा घुमेर सकिँदैन रामारोशन क्षेत्र। यसको लागि दुई दिन बढी छुट्ट्याउनुपर्छ। एउटा मात्र ताल परिक्रमा गर्न घण्टांै लाग्छ। रामारोशन क्षेत्र पुग्ने जो कोहीको पनि एकैक्षणमा लामो यात्राको थकान मेटिन्छ। यहाँ घुम्न नयाँ वर्ष (वैशाख) को समय अनुकूल मानिन्छ। यहाँका बाटुल्ले ताल, लामी दह, तल्लो धाउने, रगाडे, लिस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, बाउले गडा, रामेताललगायतका तालले रामारोशन क्षेत्रको आकर्षण बढाएका छन्। यहाँ तालहरू मात्रै छैनन्, अग्ला अनि उत्तिकै आकर्षक मैदानहरू पनि छन्। प्रमुख व्यापारिक केन्द्र साँफेबगर र सदरमुकाम मंगलसेनबाट कच्ची सडकमा जिपको यात्रा गरी त्यहाँ पुग्न सकिन्छ।

तालमा जिंगले, मैदानमा किनिमिनी ठूलो

यहाँका बाह्रवटा तालहरूमा सबैभन्दा ठूलो जिंगले ताल हो। जसको आकार अंग्रेजीको ‘सी’ जस्तो छ। मैदानहरूमा किनिमिनी गडो (मैदान) सबैभन्दा ठूलो हो। जसको बीच भएर कैलाश खोला बग्दछ। यसको केही माथि रोशन मैदान छ।

वसन्त ऋतु र नयाँ वर्षमा रामारोशन घुम्न आउने पर्यटकलाई सन्तुलित वातावरण र अनुकूल मौसमसमेत पाइन्छ। साना ठूला तालवरपरका मैदान मात्रै होइन रामारोशनको परिचय र पहिचान झल्काउनका लागि यहाँ अन्य थुप्रै प्राकृतिक स्रोत रहेको स्थानीय बताउँछन्। रामारोशन क्षेत्रभित्र लोपोन्मुख जंगली जनावरदेखि बहुमूल्य जडीबुटी पनि प्रशस्तै पाइन्छन्। रामारोशन क्षेत्रमा घुमन्ते चरा, माछा, उभयचर, कीटपतंग र जडीबुटीका लागि महत्त्वपूर्ण मानिन्छ।

धार्मिक महत्त्व

परापूर्वकालमा भगवान् शिव र माता पार्वती यो क्षेत्रमा बास बस्थे। शिव रोशन र पार्वती रामाको रूपमा बास बसेकाले यसको नाम रामारोशन रहन गएको स्थानीयवासीहरू बताउँछन्। अर्कोतिर, रामे र रोशन नामका दुईवटा मैदान छन्। यी दुईवटा मैदानको नाम जोडेर रामारोशन नाम रहेको पनि भन्ने गरिन्छ। यहाँका तालहरूलाई देवीका रूपमा पुज्ने गरिन्छ। कैलाश खोलाको मुहान रामारोशन भएकाले पनि शिवको रूपमा मान्ने चलन रहेको छ। किनिमिनी गडो (पाटन) लाई कृष्ण भगवान्को स्वरूप मान्ने गरिएको स्थानीयको भनाइ छ।

फागुन महिनादेखि यो ठाउँमा आन्तरिक पर्यटकहरूको आगमन बढी हुने गरेको स्थानीय डुंगा चालक वीरबहादुर रोकाया बताउँछन्। ‘बाह्य पर्यटकहरू खासै आउँदैनन्,’ उनले भने, ‘जाडो महिनाभन्दा गर्मी महिनामा पर्यटकहरू बढी आउँछन्। प्रचारप्रसारको कमी र कच्ची सडकको अवस्थाले पनि पर्यटकहरू आउन सकेका छैनन्। सडकको राम्रो पहुँच भयो भने पर्यटकको ओइरो लाग्न सक्छ।’ यातायातको सहज सुविधा नभएका कारण पर्यटकहरू आउन नसकेको उनले बताए। रामारोशनलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न थुपै्र शीर्षकमा बजेट आए पनि सही सदुपयोग नभएको स्थानीयवासी बताउँछन्। पर्यटकीय क्षेत्रको नाममा कति बजेट आयो भन्ने यकिन विवरण पनि कुनै निकायसंँग छैन।

रामारोशनको नाममा करोडौं बढीको बजेट आएको र सही सदुपयोग नभएको विगत १५ वर्षदेखि गेस्ट हाउस सञ्चालन गर्दै आएका स्थानीय इन्द्रबहादुर रोकायाले बताए। रामारोशनको नाममा आएको बजेटले व्यक्तिको विकास भयो, तर ठाउँको विकास हुन नसकेको उनले बताए। ‘बजेट कहाँबाट कसरी आउँछ भन्ने नै थाहा हुँदैन,’ उनले भने, ‘१० लाखको बजेट आएपछि २-३ लाखको काम गर्ने, बाँकी खल्तीमा हाल्ने प्रवृत्तिले यस क्षेत्रको विकास हुन सकेको छैन।’ रोकायाले आफ्नो गेस्ट हाउसमा आउने सबै पर्यटकहरूबाट सुझाव संकलन गर्ने गरेका छन्। सबै पर्यटकहरूबाट यहाँको विकासको लागि गर्नुपर्ने काम, सुधार गर्नुपर्ने विषय संकलन गर्ने गरेको छु,’ उनले भने, ‘सुझावहरू संकलन गरेर सरोकारवालाहरूलाई जानकारी पनि गराउँछु। तर कार्यान्वयन गर्ने पक्ष भने जिम्मेवार भइदिँदैन। केही व्यक्तिहरूले रामारोशनलाई कमाइ खाने भाडोजस्तो बनाएका छन्। रामारोशन पुगेका पर्यटकहरूलाई सहज पैदल मार्गको पनि व्यवस्था छैन। थुपै पटक पर्यटकहरू बाटो अल्मलिएका छन्।’ रामारोशन क्षेत्रको संरक्षण नहुँदा तालहरू सुक्ने अवस्थामा पुगेको, पानीको सतह बर्सेनि घट्न थालेको, जडीबुटीको अवैध निकासी, वन्यजन्तुको चोरी सिकार पहिलेभन्दा बढेको उनको भनाइ छ। रामारोशन आउने पर्यटकका लागि पछिल्लो समय रामारोशनकै रामे, मुजाबगरजस्ता बजारमा स्थानीयले होटल सञ्चालनमा ल्याएका छन्। दिनभरि रामारोशन घुमेर साँझ यी बजारमा रहेका होटेलमा बास बस्न सकिन्छ।

ताल सुक्न थाले, स्थानीय चिन्तित

पर्यटनको प्रचुर सम्भावना बोकेको रामारोशन क्षेत्रका ताल संरक्षणको अभावमा सुक्न थालेका छन्। पछिल्लो समय तालको संरक्षण र रामारोशन क्षेत्रको विकासका लागि आवाज उठ्ने गरे पनि पर्याप्त लगानी छैन। त्यसैकारण तल्लो धउने, माथिल्लो धउने र लिस्सेडाली ताल सुक्दै गइरहेका छन्। गेराहा ताल पुरिन थालेको स्थानीयले बताए। तालको संरक्षणमा सरकारको ध्यान नजाने हो भने केही वर्षमै ताल पूरै पुरिन सक्ने भन्दै स्थानीयवासी चिन्तित छन्। तालहरूमा पहिलेभन्दा पानी सुक्दै जान थालेको स्थानीय तेजबहादुर रोकायाले बताए। ताल सुक्ने र पुरिने सम्भावना थप बढ्दै जानुका पछाडि राज्यबाट चाहिने जति सहयोग र पहलकदमी नभएको उनले बताए। रामारोशनको अवलोकन गर्न आउनेको संख्या बढ्दो क्रममा रहेको बेला बढीभन्दा बढी पर्यटक भित्त्याउनका लागि सबै सरोकारवाला जुट्नुपर्ने उनको भनाइ छ।

समिति छ, पुरानो हिसाब छैन

रामारोशन क्षेत्रको विकासका लागि भन्दै रामारोशन क्षेत्र पर्यटन तथा व्यवस्थापन समिति गठन गरिएको छ। २०७७ सालमा गठन भएको समितिले तालहरू सरसफाइ, भौतिक संरचना निर्माणको काम गरिरहेको समितिकी कार्यकारी निर्देशक गंगा कुँवर बुढाले बताइन्। उनका अनुसार प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७७-०७८ मा १ करोड र २०७८-०७९ मा १ करोड ७५ लाख बजेट दिएको थियो। ‘समिति गठन भएपछि गुरुयोजना बनाएर अगाडि बढेका छौं,’ उनले भनिन, ‘शौचालय निर्माण, वनभोजस्थल निर्माण, पैदलमार्ग निर्माण, जिंगले ताल सरसफाइ, मन्दिर, होर्डिङ बोर्ड निर्माणलगायत भौतिक संरचना बनाएका छौं। होमस्टे सञ्चालकहरूलाई उद्यमशील तालिमहरू, जलवायु परिवर्तनसम्बन्धी तालिमहरू सञ्चालनसँगै कार्यालय व्यवस्थापन कर्मचारी तलब भत्तालगायतका क्षेत्रमा बजेट खर्च भएको छ।’ चालू आर्थिक वर्षका लागि भने बजेट नआएको उनले बताइन्। रामारोशन क्षेत्रमा आवश्यकताको आधारमा काम भइरहेको उनले बताइन्। ‘यस क्षेत्रको समग्र विकासका लागि निकै कम बजेट आएको छ,’ उनले भनिन, ‘बालुवामा पानी खन्याए झंै हुन्छ। चालू आर्थिक वर्षका लागि बजेटको कुनै जानकारी नै आएको छैन।’ विगतमा यस क्षेत्रमा के–कसरी र कति बजेट खर्च भयो भन्ने विषयमा समितिलाई जानकारी नरहेको उनले बताइन्। हालसम्म स्थानीय सरकार र प्रदेश सरकारले रामारोशन क्षेत्रको विकासका लागि केही बजेट विनियोजन गरे पनि संघ सरकारबाट भने कुनै सम्बोधन नभएको कुँवरको भनाइ छ।

चैत वैशाखमा मनै लोभिने

सशस्त्र युद्धताका रामारोशन क्षेत्र माओवादीको कब्जामा थियो। माओवादीहरूले सैन्य तालिम केन्द्र नै बनाएको थियो। शान्तिवार्तापछि २०६४ सालमा पहिलो पटक यहाँको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सवको आयोजना गरियो। तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराई र पर्यटनमन्त्री हिसिला यमीले महोत्सवको उद्घाटन गरेका थिए। उक्त महोत्सवपछि यस क्षेत्रको स्थानीय एवं जिल्लाबाट संरक्षण एवं प्रवद्र्धनका काम सुरु भएका हुन्। चैत र वैशाखतिर यहाँ विभिन्न महोत्सवहरू आयोजना गरिन्छन्। मनमोहक प्राकृतिक दृश्य र मनै लोभ्याउने थरीथरीका लालीगुराँस फुल्ने त्यसबेलाको मौसम रामारोशन घुम्नेका लागि अति उपयुक्त मानिन्छ।

रामारोशनमा पूर्वाधार विकास कार्यालय साँफेबगरमार्फत अहिले सडक निर्माणको काम भइरहेको छ। बान्नीगढी जयगढ गाउँपालिकाको जयगढदेखि रामारोशनसम्मको सडक कालोपत्रे हुनेछ। समपूरक बजेटमार्फत सडक निर्माणको काम जारी रहेको कार्यालयका इन्जिनियर आविष्कार शर्माले जानकारी दिए। सडक निर्माणको काम तीन चरणमा भइरहेको छ। पहिलो चरणको सडक निर्माण काम जयगढदेखि कैलाश खोलाको पक्की पुलसम्मको बज्रगुरु कन्ट्रक्सन, पक्कीपुलदेखि रामारोशनको मुजाबगरमा रहेको प्रवेशद्वारसम्म जयदेवी एसएस निर्माण सेवा र प्रवेशद्वारदेखि वडा कार्यालयसम्म पीएस बानियाँ जेभीले गरिरहेको छ। पहिलो चरणको काम बज्रगुरुले ३० करोड २८ लाख ७५ हजार, दोस्रो चरणको जयदेवीले १३ करोड ८९ लाख २६ हजार ४ सय २४ र तेस्रो चरणको पीएस जेभीले ४८ करोड ३९ लाख ६७ हजार ८ सय २० मा भ्याटसहित सम्झौता गरेर काम गरिरहेको इन्जिनियर शर्माले बताए। उनले भने, २०७५-०७६ देखि काम सुरु भएको हो। २०७७ मा भदौ २ गते आएको बाढीले सबै ध्वस्त बनायो। फेरि जिरोदेखि सुरुवात गरेका छौं। बाढीले क्षति गरेकाले पहिलो चरणको काममा केही बजेट थप भएर आएको छ।’

पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि थुप्रै योजनाहरू भए पनि गाउँपालिकाको बजेटले नभ्याउने रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउद बताउँछन्। विकासका लागि आएको बजेट सदुपयोग गरेमा भने बजेट अभाव भने नरहेको उनले बताए। ‘गाउँपालिकासँग ११ करोड मात्र विकासे बजेट छ,’ अध्यक्ष साउदले भने,‘ पर्यटकीय क्षेत्रको विकासका लागि पालिकाबाट बजेट शून्य छ। बजेट नआएको होइन थुपै बजेट आउँछ तर चोर बाटोबाट कसले भुक्तानी गर्छ कसले अनुगमन गर्छ भन्ने नै जानकारी हुँदैन।’ रामारोशनको विकासभन्दा पनि व्यक्तिको स्वार्थमा योजनाहरू चोर बाटोबाट आउने गरेको अध्यक्ष साउदले बताए। भौगोलिक रूपले दुर्गम ठाउँ भएकाले पनि सबैको नजर पर्न नसकेको र आउने बजेटहरू पारदर्शी नभएका कारणले रामारोशनको विकासले गति लिन नसकेको उनको भनाइ छ।

कैलाशको त्यो वितण्डा

कैलाश खोलाको मुहान हो, रामारोशन क्षेत्र। २०७७ भदौ २ गते कैलाशमा आएको बाढीले रामारोशनमा ठूलो धनजनको क्षति ग¥यो। सैनीबजार नै बगायो। बाढीबाट १७ जनाको मृत्यु भयो। ८ जनाको मात्र शव फेला प¥यो। ९ जना अझै बेपत्ता छन्। बाढीले सडक, पुलपुलेसा धेरै भौतिक संरचना तहसनहस पारिदियो। बाढीले रामारोशनको विकास अझै दसांै वर्ष पछाडि धकेलिदियो। अहिले विस्तारै त्यो बाढीको क्षतिबाट तंग्रिन थालेको छ। बर्सेनि बजेट आए पनि रामारोशनको विकास हुन नसकेको स्थानीयहरूको गुनासो छ। रामारोशनलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि आएको बजेटको सही सदुपयोग गर्न सकिए यस क्षेत्रको कायापलट हुनेछ। 

व्यक्ति पिच्छे र पहुँचको आधारमा आएको बजेट र कामको अनुगमन हुन जरुरी छ।

१२ बण्ड (ताल)जिगाले, बाटुल्ला, लामीदह, लिस्से डाली, ताउले, तल्लो धाउने, माथिल्लो धाउने, गाग्रे ताल, डौठे खाल, दल्याना, रामे, गेराह।१८ खण्ड (मैदान)किनिमिनी, बागफल गोरेकोट, रोशन टाउका, ददाडी पिनालेखी, रोशन जिगाले, सालिमकोट कागे बर्जु, रोशन बागफाल, चिर्किट खालापोखडर, रामे रोशन, नेटाकोट साकोट, दल्यान रामे, रामे रगाडे, पातल दल्यान, किनिमिनी सुन्दरे, गेराह जैदेखोला, पिनालेखी टोडके, जिउने पातल, चिल्फु गाग्रा।प्रमुख छहराबाङ्गे, दल्याना, किनिमिनी फिस्साने, औलाघाट कैलाशखोला, रामारोशन गगन, वडाचामल, जैदेखोला दुदुल्लेबोट। 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.