किन उड्यो अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन ?

किन उड्यो अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन ?

काठमाडौं : बौद्धिक सम्पत्तिको चोरी र साइबर आक्रमणलगायतका विषयमा दुई शक्ति राष्ट्र चीन र अमेरिकाबीच हुने आरोप प्रत्यारोप नयाँ होइन। एकले अर्कालाई दोषी मात्रै देखाउँदैनन्, त्यस्ता घटनामा संलग्न भएको आंशकामा दुवै देशमा पक्राउ र जेल चलानका घटना पनि चलिरहन्छन्। 

पछिल्लो साता भने चीनले संवेदनशील ठाउँमा जासुस गर्न अमेरिकी आकाशमा बेलुन पठाएको विषयले चर्चा पाएको छ। चीनले बेलुन जासुसी नभई मौसमी उपकरण भएको बताउँदै आरोपबाट उम्कन खोजेको छ भने, अमेरिकाले यसलाई जासुसी उपकरण भएको र संवेदनशील ठाउँको डाटा संकलन गरिरहेको दाबी गरेको छ। यो घटनापछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले आफ्नो चीन भ्रमण नै रद्द गरेका छन्। उनको चीन भ्रमण आइतबारका लागि तय भएको थियो। अमेरिकाको हवाई क्षेत्रमा चिनियाँ जासुस बेलुनको उपस्थितिले अमेरिकी सार्वभौमसत्ताको उल्लंघन भएको भन्दै उनले भ्रमण स्थगित गरेको ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउस भन्छ, ‘चीनको यो कदमले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन पनि भएको छ। यो विषयमा अमेरिका गम्भीर छ।’

गत बुधबार पहिलोपटक पश्चिमी अमेरिकी राज्य मोन्टानामा एउटा बेलुन आकाशमा देखिएको थियो। त्यसअघि क्यानाडामा र अहिले ल्याटिन अमेरिकाको आकाशमा पनि एकै स्वरूपका बेलुन देखापरेपछि दुई देशबीचको सम्बन्धमा अझै दरार आएको छ। 

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता प्याट्रिक राइडरले अमेरिकी आकाश हुँदै चिनियाँ बेलुन उडिरहेको उल्लेख गरे। उनले यसअघि पनि अर्को यस्तै बेलुन उडेको दाबी गरे। क्यानाडासहित छिमेकी मुलुकहरूले उक्त बेलुनको गतिविधि सूक्ष्म रूपले निगरानी गरिरहेको अधिकारीहरूले जनाएका छन्। चीनले भने सोही बेलुन मौसम विज्ञान अनुसन्धानका लागि मात्र अमेरिकी आकाशमा उडाइएको स्पष्टीकरण दिएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी अधिकारीहरूले भने चीनको यो भनाइप्रति कडा आपत्ति जनाएका छन्। 

अमेरिकी सैनिक नेतृत्वले सुरक्षा जोखिमका कारण देखाउँदै आकाशमा देखिएको जासुसी उपकरणलाई आफ्नो आकाशमा उड्न नदिने निर्णय गरेको थियो। तर, गोली हानेर खसाल्दा त्यसमा जडित उपकरणहरूको टुक्राबाट जमिनमा रहेका मानिसहरूलाई क्षति पुग्न सक्ने जोखिम औंल्याइएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडनलाई यस अवस्थाबारे जानकारी गराइएको पेन्टागनले जनाएको छ। ह्वाइट हाउसले उक्त बेलुनलाई प्रहार गर्ने आदेश दिएको खण्डमा अमेरिकी सरकार एफ–२२ लगायतका लडाकु विमानहरूसहित तयारी अवस्थामा रहेको एक रक्षा अधिकारीले बताए। ती अधिकारीका अनुसार चिनियाँ बेलुन बुधबार निकै कम जनसंख्या भएको पश्चिमी अमेरिकी राज्य मोन्टानामा देखिएको थियो। त्यहाँ अमेरिकाको पारमाणविक क्षेप्यास्त्रको अड्डा छ। 

पेन्टागनका अधिकारीहरूका अनुसार बुधबार खतराको आंकलन गर्न रक्षामन्त्री लोइड अस्टिन र यूएस चिफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिलीलगायत अमेरिकी सेनाका उच्च अधिकारीहरूको बैठकसमेत बसेको थियो। सैन्य कमान्डरहरूले बलुनविरुद्ध गति केन्द्रित कारबाही नगर्न सल्लाह दिएका थिए। 

हालैका वर्षहरूमा चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण रहेको छ। व्यापारिक मुद्दा, ताइवानको स्थिति, दक्षिण सागरमा चीनको दाबी र इन्डोप्यासिफिकमा चीनको प्रभाव बढेको भन्दै अमेरिकाले निरन्तर दबाब दिँदै आएको छ। त्यस्तै युक्रेनमा जारी युद्धामा पनि रूसलाई सैन्य सहयोग नगर्न चीनले अमेरिकालाई चेतावनी दिँदै आएको छ। 

सन् २०१८ यता अमेरिकी विदेशमन्त्रीको पहिलो चीन भ्रमणको तयारी भइरहेका बेला आकाशमा देखिएको चिनियाँ बेलुनका कारण फेरि दुई देशबीच तनाव उत्पन्न भएको हो। यसअघि तत्कालीन विदेशमन्त्री माइक पोम्पीओले बेइजिङको भ्रमण गरेका थिए। 

अमेरिकाको आकाशमा देखिएको जासुसी बेलुनका विषयमा चीनको आधिकारिक मिडिया ग्लोबल टाइम्सले पनि एउटा प्रतिक्रिया दिएको छ। त्यहाँ भनिएको छ, ‘चीनबाट एउटा मानवरहित हवाई उपकरण अमेरिकी आकाशमा अप्रत्याशित घटनाका कारण प्रवेश गरेको छ।’ चीनको विदेश मन्त्रालयका प्रवक्ताले पनि शनिबार एक विज्ञप्ति जारी गर्दै अप्रत्याशित परिस्थितिका कारण घटना भएको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.