‘ठेक्का आफू लिने, जिम्मा अर्कैलाई दिने प्रवृत्ति छ’
प्रस्तुति : रोविन पौडेल
हाम्रो देशमा सडक र पुल समयमा किन बन्दैनन होला ?
निर्माण व्यवसायीको कमजोरी हुँदैन भन्न खोज्नु भएको हो ?
मैले निर्माण कम्पनीको दोष छैन भन्न खोजेको छैन। निर्माण व्यवसायीका थुप्रै कमी कमजोरी छन्। एउटा निर्माण कम्पनीले ठेक्का पाएको हुन्छ। टेन्डर डकुमेन्टमा माग गरेका कागजपत्र पेस गरेर कम्पनीले एक्लै वा ज्वाइन्ट भेन्चरमा काम पाएको हुन्छ। काम लिए पनि वास्तविक काम त्यही कम्पनीले गरेको नहुन सक्छ। उसले अर्को कम्पनीलाई सबै वा सब–कन्ट्र्याक्ट गरेर धेरैवटा कम्पनीलाई कामको जिम्मा दिन सक्छ। यहाँ कागजात देखाएर, नाम भजाएर ठेक्का लिने तर कामको जिम्मा अर्कैलाई दिने विकृत्ति छ। ठेक्का दिँदा कम्पनीको आर्थिक अवस्था, क्षमता र अनुभवका आधारमा दिइन्छ। तर, काम अर्कै मार्फत् गराइन्छ। ठाडो भाषामा भन्दा निर्माण कम्पनीले ठेक्का बेच्ने काम गर्छन्। ठेक्का किन्नेलाई आयोजनाप्रति दायित्व र अपनत्व महसुस गर्दैन। उसले कसैलाई जवाफ दिनुपर्दैन। यसरी ठेक्का किन्ने बेपत्ता हुँदा विकृत्ति छाएको छ।
जसले लिए पनि समयमा सक्नु उसको दायित्व हैन र ?
जो पक्षले लिए पनि उसले समयमा सक्नुपर्छ। समयमा सक्न क्षमता अभिवृद्धि गर्ने हो कि कर्मचारीलाई तालिम तथा अभिमुखीकरण दिने हो कि धेरै मेसिनरी परिचालन गर्ने हो कि। सबै उपाय अपनाउनुपर्छ। यसो गरेमात्र काम गर्ने व्यक्तिले कामको महत्व बुझ्छन्। तर, निर्माण कार्यमा खटिएकालाई आयोजनाको महत्व थाहा हुँदैन। उसले आफूले जानेको जति मात्र काम गर्छ, उसलाई सिकाउने कोही हुँदैन। न त ठेकेदारले सिकाउँछ न त परामर्शदाताले नै। काम भएन भने ठेकेदारको लापरबाही हो भनिन्छ तर परामर्शदाताको कारण काम ढिलो भयो भन्ने कहीँ कतै सुनिँदैन।
परामर्शदाताको भूमिका के हुन्छ ?
परामर्शदाताले कुनै जिम्मेवारी लिने गरेका छैनन्। मिडियामा पनि ठेकेदारको लापरबाही भन्ने समाचार मात्रै प्रकाशन र प्रसारण हुन्छन्। अख्तियारले ठेकेदारविरुद्ध मुद्दा हाल्छ, सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेकेदारलाई नै कालोसूचीमा राख्छ। तर, परामर्शदाता भने चोखो भएर बस्छ।
आयोजनामा काम लगाउने कार्यालयको गल्ती कहाँनेर हुन्छ ?
आयोजनामा काम लगाउने कार्यालय र कर्मचारी पनि ठेकेदारलाई दोष लगाएर बस्छन्। ती कार्यालय र कर्मचारी काममा ढिलासुस्ती गरेकै भरमा अहिलेसम्म कारबाहीमा परेको आजसम्म सुनिएको छैन। कालोसूचीमा कहिल्यै परेका छैनन्। निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाइदिने काम आयोजनामा काम लगाउने कार्यालयको हो।
काम गर्ने वातावरण किन बन्दैन ?
आयोजना स्थलमा स्थानीयको अवरोध हुन्छ। अन्य सरकारी निकायका कानुन पालना गर्नुपर्ने हुन्छ। आयोजना कार्यालयले अर्को निकायसँग समयमा समन्वय नगर्दा निर्माण कार्य अघि बढ्ने वातावरण भइरहेको हुँदैन।
निर्माण कम्पनी साँच्चै निरीह हुन् त ? उनीहरूको लापरबाही छैन ?
मैले निर्माण कम्पनीको पक्ष लिएर बोलिरहेको हैन। ठेकेदार निकै निरीह, कमजोर, त्रसित अवस्थामा हुन्छन्। उनीहरूलाई बचाउने कोही हुँदैनन्। सबै पक्षले आक्रमण गरिरहेका हुन्छन्। स्थानीय डनदेखि राजनीतिक दलका नेता÷कार्यकर्ताले निर्माण कम्पनीलाई निचोर्छन्। स्थानीयले दुहुनो गाई सम्झन्छन्। समाजले ठेकेदारलाई अपराधी सम्झन्छ। प्रणालीले पनि रिस ठेकेदारमाथि थुपार्ने गर्छ। कामको जोखिम ठेकेदारबाहेक कसैले लिँदैनन्। आयोजना ढिला भए उसैले जरिवाना तिर्नुपर्छ। सम्पत्ति नै जफतसम्मको कारबाही भोग्नुपर्छ। तर, ठेकेदार पनि तयारी गर्दैनन्। अरु पक्षको कमजोरी हुन्छ तर सबैभन्दा बढी लापरबाही उनीहरूकै हुन्छ। क्षमताभन्दा बढी काम लिने गर्छन्। विज्ञको टिम हुँदैन, पर्याप्त मानव स्रोत तथा मेसिनरी हुँदैन। समयको ख्याल गर्दैनन्।
काम ढिलो हुँदा त निर्माण कम्पनीलाई नै घाटा छ नि ?
ठेकेदारबाट अव्यावसायिक (अनप्रोफेसनल) काम हुने गरेको छ। आफ्नो कमजोरीले आफैं घाटामा जान्छन्, बदनाम हुन्छन्। समयभन्दा अगावै काम सकेर बोनस लिनुको सट्टा ढिला गरिदिन्छन्।
समयको ख्यालै नगर्ने र उपकरण तथा मानवको स्रोत उचित परिचालन गर्नुको सट्टा काम ढिलो गरेर समय र लागत बढाइरहन अभ्यस्त छन्।
निर्माण व्यवसायीको क्षमता नै नभएर पो हो कि ?
देशको अवस्था पनि यस्तै छ। औसतभन्दा माथि कसैले काम गरेको छैन। निर्माण व्यवसायीको पनि एउटा क्षमता छ। उनीहरूले पनि त्योभन्दा माथिको काम गर्दैनन्। मैले विस्तारै महसुस गरेको छु कि नेपाली निर्माण व्यवसायीको क्षमता बढ्दो छ, सुधारोन्मुख छ। पहिले–पहिले निर्माण कम्पनीमा एउटा ओभरसियर हुँदैनथे, अहिले इन्जिनियर राख्ने गरेका छन्। केहीसँग पर्याप्त निर्माण औजार छ। अर्बौं अर्बका काम गर्ने, विदेशीसँग ज्वाइन्ट भेन्चरमा काम गर्न सक्ने अवस्थामा पुगेका छन्। तर, त्यस्ता कम्पनी थोरै छन्। अधिकांशको दाउ लटरपटर गरेर ठेक्का हात पार्ने, कमिसन लिएर अर्कोलाई बेचिदिने र आफू त्यसबाट उम्किने प्रवृत्ति छ।
राम्रा, औसत र खराब नियत भएका ठेकेदार कति छन् ?
मेरो अनुभवका आधारमा एक तिहाइ निर्माण कम्पनी उच्चकोटीको काम गर्ने खालका छन्। अर्का एक तिहाइ साधारण तथा औसत प्रकारका छन्। बाँकी ठेकेदार निर्माण व्यवसायी भन्न लायक छैनन्। उनीहरूसँग कागज छ, झोलामा कार्यालय बोकेर हिँड्छन्। उनीहरूलाई निर्माण कार्यमा लेनादेना छैन, जसरी भए पनि काम हत्याउन पाए भयो।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
निर्माण कार्य ढिला हुनु, परियोजना रुग्ण हुनुको एक तिहाइ दोषी निर्माण कम्पनी हुन्। ठेकेदार त अह्राएका काम गर्ने निकाय हुन्। काम ढिलो हुनुको बराबर दोष काम लगाउने सरकारी निकाय र परामर्शदाताको पनि छ।
प्रतिक्रिया दिनुहोस !