स्वास्थ्य सेवा निःशुल्क होइन, ‘अफोर्डेबल’ हुनुपर्छः डा.रुइत
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले नेपाललाई विश्वसामु आँखा उपचारको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गराएका छन्। देशका विपन्न नागरिकदेखि विदेशी नागरिकसम्मलाई उज्यालो संसार देखाउन अहोरात्र खटिएका डा. रुइत हाल तिलगंगा आँखा अस्पतालमा स्वयंसेवकका रूपमा समेत सक्रिय छन्। ७१ वर्षको उमेरमा पनि उत्तिकै क्रियाशील उनीसँग नेपालको विद्यमान स्वास्थ्य नीति, मेडिकल टुरिजमको सम्भावनालगायतका विषयमा गरिएको विशेष कुराकानीको सम्पादित अंश :
सरकारी सेवा पाउन गाह्रो भयो र निजी स्वास्थ्य सेवा तिर्न नसकिने भयो भन्ने जनगुनासो छ नि ?
त्यसो भए राज्यले अस्पताल सञ्चालन नगर्ने त ?
राज्यको काम अस्पताल सञ्चालन गर्ने हो जस्तो मलाई लाग्दैन। राज्यले अस्पताल चलाउन छोडे राम्रो होला कि जस्तो लाग्छ। राज्यले चलाएका सरकारी स्वास्थ्य संस्थामा व्यवस्थापकीय पक्ष हेरौं। राज्यले चलाएका स्वास्थ्य संस्थामा व्यवस्थापकीय पक्ष, गुणस्तरीय सेवा र अपनत्वको कमी छ। त्यसैले अहिले सेवाग्राहीहरू निजी स्वास्थ्य संस्थातर्फ आकर्षित भएका हुन्। जसका कारण अहिले निजी क्षेत्र च्याउझैं उम्रिए। ठूला सहरी क्षेत्र मात्र होइन, मध्यम खालका सहरी क्षेत्रमा पनि निजी क्षेत्रका स्वास्थ्य संस्थाहरू बढिरहेका छन्। त्यसैले सरकारी र निजी क्षेत्रबीच पनि सोसल इन्टरप्रेनरसिपको मोडलमा अघि बढ्नुपर्छ।
यसो गर्दा संस्थाप्रति सबैको अपनत्व पनि बढ्छ र दिगो पनि हुन्छ। सरकारी अस्पताललाई स्वायत्त बनाएर अघि बढाई गुणस्तरीय सेवा दिनु जरुरी छ। स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएकाहरूलाई भन्न चाहन्छु— नेपालमा भएको आँखाको उपचार र सेवाप्रवाहका सम्बन्धमा अध्ययन गर्नुहोस्। किन सफल भयो ? यसमा अप्ठ्यारो वा लाज नमानी अध्ययन गर्नुहोस्। त्यसपछि नयाँ मोडल बनाएर काम गर्न सकिनेछ। यदि निजी क्षेत्र सिन्सियरिटी र जवाफदेही भएमा राज्य र निजी क्षेत्रबीचको सहकार्यमा धेरै गर्न सकिन्छ। राज्य र निजी क्षेत्रबीचको पार्टनरसिपमा पनि नयाँ मोडल बनाउन सकिन्छ। कतिपय कुरामा दुवै पक्षले कम्प्रोमाइज गरी कमीकमजोरीमा सुधार गर्दै नयाँ मोडलमा अघि बढ्न सकिन्छ।
मुलुकमा संघीयता लागू भएको एक दशक भइसक्यो। तीन तहको सरकारको अवधारणा लागू भएपछि स्वास्थ्य क्षेत्रमा केही परिवर्तन भएको छ ?
त्यस्तो धेरै ड्राम्याटिक चेन्ज भएको देखेको वा महसुस गरेको छैन। स्थानीय सरकारले धेरै अगाडि बढेर आक्रामक ढंगले नै काम गर्न सकेको देखिएको छ। वडा, नगरपालिका तहमा सेवा प्रवाहमा एक खालको अठोट देखिन्छ। त्यसैले स्थानीय तहलाई राजनीतिबाट टाढै राख्ने अर्थात् गैरराजनीतिक बनाउन पाए अझ राम्रोसँग सेवा प्रवाह हुन्थ्यो जस्तो लाग्छ।
दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने ‘सरकारी मोडल’ कस्तो छ ?
छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरूलाई दुर्गम क्षेत्रमा सेवा गर्न पठाउने मोडलबारेमा खासै त्यस्तो फरक धारणा छैन। तर, मुलुकका दुर्गम क्षेत्रमा हेल्थ असिस्टेन्टको भूमिका धेरै ठूलो छ। यसलाई नजरअन्दाज गर्न मिल्दैन। त्यसपछि एमडीजीपी चिकित्सकको भूमिका पनि निकै महŒवपूर्ण छ। हेल्थ असिस्टेन्ट र एमडीजीपी चिकित्सकलाई अन्डरइस्टिमेट गर्नु हुँदैन। मुलुकको भौगोलिक अवस्थालाई पनि दृष्टिगत गरी यस कुरालाई
मनन गर्नुपर्छ।
तर, स्वास्थ्य जनशक्तिलाई दुर्गम क्षेत्रमा रहेर सेवा प्रवाहका लागि प्राविधिक सहितको भौतिक पूर्वाधार हुनुपर्छ। जनशक्तिलाई दूरदराजमा रहेर प्रभावकारी सेवा प्रवाहलाई दिगो बनाइराख्न उचित सेवा सुविधा हुनुपर्छ। सहरी क्षेत्रमा अहिले सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मी र बिरामी तथा बिरामीका आफन्तबीच विश्वासको संकट देखिएको छ।
- स्वास्थ्य सेवा गुणस्तरीय हुनु पर्छ। पहुँचयोग्य हुनुपर्छ। यसमा कम्प्रोमाइज गर्नुहुँदैन। स्वास्थ्य सेवा निःशुल्क होइन अफोर्डेबल हुनुपर्छ।
- मुलुकका दुर्गम क्षेत्रमा हेल्थ असिस्टेन्टको भूमिका धेरै ठूलो छ। यसलाई नजरअन्दाज गर्न मिल्दैन। त्यसपछि एमडीजीपी (जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन) चिकित्सकको भूमिका पनि निकै महत्वपूर्ण छ।
- आँखा उपचारमा हामी छिमेकी मात्र नभई अन्य विकसित मुलुकभन्दा पनि छोटो समयमा फड्को मार्न सफल भएका छौं। बुझ्नु पर्ने कुरा के हो भने न्यून शुल्क भएर मात्र यो सफलता प्राप्त भएको होइन। न्यून शुल्कका साथसाथै गुणस्तरीय उपचार भएका कारण पनि विदेशीहरू नेपालमा आँखा उपचारका लागि आकर्षित भइरहेका छन्।
- बेलाबखत आर्यघाट पुग्छु। हेर्छु। जीवनको अन्तिममा त यहीं आउने हो भन्ने महसुस हुन्छ। अन्ततः लिएर केही जानुछैन। बाँचुञ्जेल असल कर्म गर्न प्रेरणा पाउँछु।
आपसी विश्वास र हार्दिकतामा के कारणले ह्रास आएको होला ? सेवा प्रदायक र सेवाग्राहीबीचको अविश्वास वा दूरी कसरी घटाउन सकिन्छ ?
यो अत्यन्तै संवेदनशील कुरा हो। एकदमै मिहिनेत गरेर बिरामीको ज्यान जोगाउनुपर्ने अवस्था आइपर्यो र मिहिनेत गर्दागर्दै पनि ज्यान गुमेको अवस्था छ भने बिरामी र बिरामीका आफन्तले पनि बुझ्नुपर्छ। मिहिनेत गर्दागर्दै पनि ज्यान जान्छ भने त चिकित्सकले पनि के पो गर्न सक्छन् र ? तर, मिहिनेत गरेर उपचार गरिरहँदा त्रुटिचाहिँ हुनुभएन। यसबारेमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीहरूबीच पनि हरेक महिनाजसो घटनाक्रमको समीक्षा गर्ने र कसरी आपसी सम्बन्ध सुमधुर हुन सक्छ भनेर छलफल भइरहनुपर्छ जस्तो लाग्छ।
हाम्रो स्वास्थ्य प्रणालीमा के सुधार गर्नुपर्ने देख्नुहुन्छ ?
देशको भौगोलिक स्थितिलाई पनि ध्यान दिनु जरुरी छ। दूरदराजमा उपचारमा पहुँच गाह्रो छ। हामीसँग भएको जनशक्तिलाई परिचालन गर्न नसकिएको अवस्था छ। यसमा सुधार गर्नुपर्ने जरुरी देखेको छु। पूर्वाधारको व्यवस्था मात्र होइन, दक्ष जनशक्तिलाई सेवा सुविधा दिएर स्वदेशमै टिकाउने र गुणस्तरीय उपचारमा सुधार गर्नुपर्ने पाटोमा सुधार गर्नुपर्ने महसुस गरेको छु।
आँखा उपचार र मेडिकल टुरिजम
आँखाको उपचार कसरी सर्वसुलभ हुन सक्यो ? र, विदेशीहरू पनि सेवा लिन कसरी इच्छुक
हुन पुगे ?
स्तरीय आँखा उपचार सेवा सुलभ तरिकाले डेलिभरि गर्न सक्ने संयन्त्र बनाएकाले नै यो फड्को मार्न सकिएको हो। आँखा उपचारमा हामी छिमेकी मात्र नभई अन्य विकसित मुलुकभन्दा पनि छोटो समयमा फड्को मार्न सफल भएका छौं। बुझ्नुपर्ने कुरा के हो भने न्यून शुल्क भएर मात्र यो सफलता प्राप्त भएको होइन। न्यून शुल्कका साथसाथै गुणस्तरीय उपचार भएका कारण पनि विदेशीहरू नेपालमा आँखा उपचारका लागि आकर्षित भइरहेका छन्। जटिलभन्दा पनि सुलभ तरिकाले सेवा दिइरहेकाले पनि विदेशीहरू नेपालमा आँखा उपचार गराउने चाहना राखेका हुन्।
बाहिरबाट देखिने सफलताले चौतर्फी वाहवाही पाउँदा पछाडिको पाटो सधैं ओझेलमा परिरहेको हुन्छ। यो सफलताको पृष्ठभूमिबारे पनि जानकारी दिनुहुन्छ कि ?
सुरुमा मोतीबिन्दु शल्यक्रिया गर्दा विकसित मुलुकमा समेत जटिल प्रक्रिया थियो। नेपालमा झन् मोतीबिन्दुको शल्यक्रिया त सम्भव नै हुँदैन जस्तो अवस्था थियो। चार दशकअघिदेखि आँखा स्वास्थ्य सेवामा हामी एकोहोरो तरिकाले काम गरिरह्यौं। यताउति कतै नलागी यसैमा एकोहोरो तरिकाले काम गर्यौं । सन् १९८० को दशकतिर हामीले सेवा सुरु गर्न थाल्यौं। त्यो बेला धेरै नै नकारात्मक आलोचना भोग्नु तथा सहनुपर्यो। सन् ९० को दशकमा विकासोन्मुख मुलुक नेपालबाट सुरु भएको प्रविधिको बारेमा धेरै ठूलो र बृहत ढंगले छलफल हुन थाल्यो। सुरुमा हाम्रो प्रविधि अर्थात् नेपाल मोडल (रुइत विधि) लाई स्वीकार गर्न पनि कठिनाइ महसुस गरे।
विश्वप्रसिद्ध अमेरिकी नेत्ररोग विशेषज्ञ डा. डेभिड चाङलगायत अन्य मुलुकबाट आँखा विशेषज्ञहरू नेपाल आएर हाम्रो प्रविधिका बारेमा अध्ययन, अनुसन्धान गरे। हामीले हाम्रो नेपाली मोडलको सर्जिकल टेक्निक र अध्ययन गर्न आउने विशेषज्ञहरूको आफ्नो मेशिन र टेक्निकबीचमा तुलनात्मक अध्ययन र प्रयोग गर्यौं । उहाँहरूको प्रविधिभन्दा हाम्रो नेपाली प्रविधिको नतिजा राम्रो आयो। ४५ गुणा छिटो र सहज हाम्रै नेपाली प्रविधिबाट हुने भयो। जुन अध्ययन, अनुसन्धान अन्तर्राष्ट्रिय आँखासम्बन्धी जर्नलहरूमा प्रकाशित भयो। त्यसपछि हामी तालिममा संलग्न भयौं। यसबाट राम्रो के भयो भने मोतीबिन्दुको स्तरीय शल्यक्रिया लाखौंबाट करोडौं सेवाग्राहीसम्म पुग्यो। त्यससँगसँगै हामीले न्यून शुल्कमा इन्ट्रा अकुलर लेन्स निर्माण कार्य पनि अघि बढायौँ। यी दुवै कार्यले पनि नेपाल र नेपालीको पहिचान विश्वभर फैलिन पुग्यो।
यो नेपाली मोडलको इन्ट्रा अकुलर लेन्स कति मुलुकमा प्रयोग भइरहेको छ ?
अहिले ५० भन्दा बढी मुलुकमा नेपालमा बनेको इन्ट्रा अकुलर लेन्स जान्छ।
अन्धोपनको प्रमुख कारणमा मोतीबिन्दुलाई मानिन्छ। नेपालमा मोतीबिन्दुको अवस्था कस्तो छ ? मोतीबिन्दु मुक्त राष्ट्र हुन के–के चुनौतीहरू छन् ?
हामीले सेवा सुरु गर्दा कुल जनसंख्याको शून्य दशमलव ८ प्रतिशतमा अन्धोपन थियो। अहिले शून्य दशमलव ३ मा झरेको छ। आधाभन्दा पनि बढीमा झरेको छ। स्वास्थ्य क्षेत्रमा छोटो समयमा यति ठूलो फड्को मारेको आँखामा नै हो। मैले मात्र होइन, विभिन्न क्षेत्र र व्यक्तिको पनि उत्तिकै ठूलो र महत्वपूर्ण भूमिका छ।
शरीरका अन्य अंगको उपचारका लागि विदेश जाने क्रम उत्तिकै छ। तर, आँखाझैँ अन्य अंगको स्तरीय र सुलभ उपचारका लागि पनि विदेशीलाई आकर्षित गरेर मेडिकल टुरिजमको डेस्टिनेसन बनाउन सकिएला ?
आफ्नो ज्यानको माया त सबैलाई लागिहाल्छ नि! जहाँ बसेको भए पनि रिसर्च गरेर आइहाल्छन्। स्तरीय आँखा सेवालाई सुलभ तरिकाले डेलिभरि गर्न सकेको हुनाले नै विदेशीहरू नेपाल खोज्दै उपचार गर्न आइरहेका छन्। नेपालमा सुलभ ढंगले स्तरीय उपचार सेवा दिन सक्ने हो भने विदेशीहरू पनि आइहाल्छन् भन्ने यो उदाहरण हो। तपाईंले भनेझैं आँखाझैं अन्य अंगको स्तरीय र सुलभ उपचारका लागि पनि विदेशीलाई आकर्षित गरेर मेडिकल टुरिजमको डेस्टिनेसन बनाउने कुरा असम्भव होइन। राम्रो भौतिक पूर्वाधार, दक्ष जनशक्ति र जनशक्तिलाई पर्याप्त सेवा सुविधा हुने हो भने मेडिकल टुरिजमको डेस्टिनेसनका रूपमा अघि बढाउन सकिन्छ। मेडिकल टुरिजम भन्नेबित्तिकै हस्पिटालिटीमा ध्यान पुर्याउनुपर्छ। यसमा सरकार मात्र नभई अन्य सरोकारवाला पक्षले पनि सहयोग र प्रवद्र्धन गर्नुपर्छ। सरकारले विभिन्न मुलुकमा रहेका आफ्ना निकायहरूमार्फत प्रवद्र्धन गर्नुपर्छ। त्यसपछि हस्पिटालिटीलाई पब्लिक प्राइभेट पार्टनरसिपका रूपमा अघि बढाउनुपर्छ। यसका लागि संयन्त्र बनाएर हामी अघि बढ्न सक्छौं जस्तो लाग्छ।
अहिले हरेक क्षेत्रमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) को विकास र प्रयोग भइरहेको छ। आँखा उपचारमा के–कस्तो परिवर्तन आउला ?
आँखाको जाँचलाई सरल बनाउने, रोगको पहिचान, तथ्यांक संकलनमा सहयोग पुर्याइरहेको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगले पनि अवश्य केही न केही परिवर्तन त आईनै हाल्छ जस्तो लाग्छ।
अबको १० वर्षमा तिलगंगा आँखा अस्पताललाई कुन तहमा पुर्याउने योजना छ ?
तिलगंगाको सबैभन्दा ठूलो सम्पत्ति भनेको त्यहाँ कार्यरत चिकित्सक, टेक्निसियन र अन्य स्टाफहरू हुन्। सरकारले साथ दिएमा अबको १० वर्षमा आँखा जाँचका लागि विश्वकै युनिभर्सिटीका रूपमा विकास हुनेछ। यदि सरकारले साथ नदिएमा नेपाललाई र विश्वस्तरमा नेपालको पहिचानमै पनि
घाटा लाग्नेछ।
७१ वर्ष भइसक्नुभयो। अझै कर्मप्रतिको इच्छाशक्ति बलियो देखिन्छ। तिलगंगामा स्वयंसेवकका रूपमा काम गरिरहनुभएको छ। कहिलेकाहीँ थकान, निराशा महसुस हुँदैन ?
अवश्य पनि कहिलेकाहीँ महसुस त भइहाल्छ। त्यसैले बेलाबखत आर्यघाट पुग्छु। हेर्छु। जीवनको अन्तिममा त यहीँ आउने हो भन्ने महसुस हुन्छ। अन्ततः लिएर केही जानु छैन। बाँचुञ्जेल असल कर्म गर्न प्रेरणा पाउँछु।
जीवनको मूलमन्त्र के हो ?
सुसंस्कार, असल परिवार र सुन्दर नेपाल।
विभिन्न मुलुकहरूमा प्रतिष्ठित अवार्डले सम्मान पाउनुभयो। अब तपाईंको सपना के हो ?
बेलाबखत नेपालबाहिर जाँदा पुग्ने मुलुकका जनता र नेपाली जनताबीच असमानता देख्नु नपरोस्। र, नेपाली जनतालाई पनि त्यही समानताको तहमा ल्याऊँ भन्ने नै मेरो सपना हुने गर्छ।
नेपाल बन्न सक्छ वा बन्छ भन्ने आत्मविश्वास कत्तिको छ ?
ठूलो विश्वास छ।
-प्रस्तुतिः दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !