जवान स्रष्टाको सुसेली

समीक्षा

जवान स्रष्टाको सुसेली

गाउँमा दुःख छ, गाउँमै सुख छ। र त अचेल कविता पनि गाउँमै छ। सहरमा त भीड अनि जुलुस छ।

कविताको दोस्रो संग्रह लिएर सिन्धुलीका बाबुराम श्रेष्ठ पाठकमाझ आइपुगेका छन्। बूढो समय कविता संग्रहको प्रकाशनसँगै उनको कविता यात्राको बुढ्यौली पनि लाग्यो भन्नुपर्ने हुन्छ। त्यसो त दुई कविता कृति प्रकाशन गरिसकेपछि उनी कविका रूपमा दर्ज भइसके। त्यसैले उनलाई नवोदित कवि भनिरहनै परेन। तर, उनको यो ‘बूढो समय’ कविता संग्रह पाठकका लागि चाहिँ नवीन नै हो।

लेखनलाई भूगोलले छेक्दैन। न त कुनै उमेरले नै। सिन्धुलीको विकट स्थानमा शिक्षाको ज्योति बालिरहेका बाबुराम कवि बन्न कलम तिखारिहेकै छन्। लेखनको यात्रामा अथक प्रयास गरिरहेकै छन्। उनको यो यात्रामा उनी थाक्दैनन् भन्ने चाहिँ पक्का छ। जसको प्रमाण नै बूढो समय हो। कक्षा कोठामा ज्ञानका कुरा बाँढिरहनुपर्ने उनलाई कविता चाहिँ कुन बेला फुर्छ भन्ने प्रश्न नगर्दा नै वेश हुन्छ। किनकि उनको यो बूढो समय पढेपछि पाठकले आफैं जान्नेछन्– उनी गाउँबेसीका कविता लेख्दा रहेछन्। गाउँबस्ती, पाखापखेरा, खोलानाला गरिरहनुपर्ने प्रकृतिप्रेमी आखिर कवि नै त हुन्। जंगलका पात बज्दा होस् या मकैका पात बज्दा होस् महसुस गर्ने संगीतलाई आत्मसात गर्ने व्यक्ति कविता लेख्न थाल्छन्। सायद उनी पनि यसै गर्दा हुन्। त्यसैले त उनको ‘बूढो समय’ले तमाम प्रकृतिको गीत बोल्छ।

गीत, संगीतलाई बुझ्न वा डुब्न जानेन भने असफता प्राप्त गरिन्छ। मान्छे हरेक ठाउँ, हरेक दिन सफल हुन्छ भन्ने छैन। असफल भए पनि सफलताका लागि अघि बढिरहनुपर्छ। हो यही समयको मागलाई, धारलाई उनले पछ्याउँदै अविराम यात्रामा सफलता चुम्ने प्रयास गर्दै कवितामा जीवन उतार्ने कोसिस गरे। उनको कोसिसलाई पाठकले कतिको आत्मसात गर्नेछन्, त्यो समयले बताउने छ। त्यसैले त उनको कवि मन बेलाबेला प्रतीक्षामा रहेर प्रेमको याचना यसरी गरिरहन्छ–

अचानक
हावाको झोक्काले ल्याइदिएको
फूलका बास्नाजस्तै
यादहरू गढेर आउँछन् स्मृतिमा...।

गाउँमा दुःख छ र त गाउँमै सुख छ। अचेल कविता पनि गाउँमै छ। सहरमा भीड छ, जुलुस छ। त्यसैले सहरको कवितामा अचेल आगो छ, नारा छ, भोक छ। प्रकृति, सौन्दर्य, प्रेमका लागि त गाउँ छँदैछ। उनका कविता पढ्दा यस्तै लाग्छ। सधैं देखेका, सुनेका, भोगेका कुरालाई कविको कलमबाट स्पर्श गर्न पाउँदा पनि त आनन्द नै आउँछ। सायद त्यही आनन्द दिन चाहन्छन् कवि। सिन्धुलीको माटोमा हुर्किएका कवि आफ्नै माटोका गीत सुनाउन चाहन्छन्। आफ्नै क्षेत्रमा फुल्ने लालीगुराँसको सुवास फैलाउन चाहन्छन्। सिन्धुलीको जुनार भनेर चिनिने यो समयमा उनले सिन्धुलीको कविता पनि चिनाउने कोसिस मजाले गरेका छन्। यात्राका लागि पहिलो पाइला चाल्नु नै सफलताका लागि अघि बढेको सिद्ध हुन्छ। हो, यही सफलताका लागि उनले पाइला चालिसकेका छन्। यो यात्रामा उनी अघि बढिसकेका छन्। त्यसैले त उनी कविताको माध्यमबाटै भन्छन्–

म सिंगो जिन्दगी बोकेर
एक्लै टाकुरोमा उभिएको छु 
घाम पनि त एक्लै छ
जून पनि त एक्लै छ 

कवितालाई प्रेम गर्ने मान्छेको मन कमलो हुन्छ। स्वभावले प्रकृतिप्रेमी हुन्छ। आचरणले संस्कारी हुन्छ। ठ्याक्कै यो ‘बूढो समय’ पनि यसको प्रमाण हो। एउटा उत्साही स्वभावबाट जन्मिएको प्राकृतिक उपहार हो– बूढो समय। उसो त कवि आफैंमा लक्का जवान छन्। यो उमेरमा उनी प्रेममा रुमल्लिरहेका हुनुपर्ने हो। र, उनी रुमल्लिरहकै छन् कविताको प्रेममा। डुबिसकेका छन् कविताको प्रेममा। यो डुबाइले उनलाई तार्न दिन्छ कि दिँदैन त्यो उनैमा निर्भर गर्छ। कवि हुनुभन्दा पनि कवि भएर बाँचिरहन गाह्रो छ। कविता लेखेकै भरमा कोही कवि भइहाल्ने पनि होइन। कविताले पाठकको मनमा बास गर्न सक्नुपर्‍यो। यो परीक्षामा उनले आफूलाई होमिसकेका छन्। परीक्षामा उनी पास हुन्छन् कि हुँदैनन्, यो अब पाठकले मूल्यांकन गरेपछि थाहा हुन्छ।

कविता लेखनसँगै कविताको क्राफ्ट, इन्टेरियर डिजाइन हुन आवाश्यक छ। कविताको लयले जब मान्छेलाई तान्दैन, त्यतिबेला त्यो कविताजस्तो लाग्दैन। शैली र प्रस्तुतिमा यति र गति झनै आवश्यक भइहाल्यो। यहाँ भने कवि अलमलिएका, घरिघरि लडखडिएका छन्। कतै आफ्ना विचारमा प्रष्ट नभइदिएका हुन् कि भन्ने लाग्छ। कवि सदैव विचारमा प्रष्ट हुनु जरुरी छ। जसलाई उनले कवितामा स्पष्ट पार्न सकेका भने छैनन्। यसरी कविता समाजको ऐना भइदिनुपर्ने अवस्थामा आफैं धमिलो भइदिनुले पाठकलाई दोबाटोमा अलमलाएर राख्न सक्छ। 

तसर्थ कविताले आफ्नो धर्म निभाउनै पर्छ। यसो भनिरहँदा कवि आफैं जिम्मेवारीबाट पन्छिनु हुँदैन भन्छु। यस मानेमा श्रेष्ठले आफूलाई सच्याउन जरुरी छ। भाषा, शैली र व्याकरणको तालमेल नमिल्दा कविताको बान्की बिग्रिन जान्छ। यो कुरामा कवि सचेत देखिएको पाइएन। कविताको भावलाई उनले अत्यधिक रूपमा स्वतन्त्र छाडिदिएका छन्। जसले कमजोर बाटो समाएर यात्रामा हतारो गर्दा आइपरेको दुर्घटनालाई बुझ्न आवश्यक छ। 

कविताको आफ्नै शैली बोकेका उनले उही शैली, उही बान्कीलाई मात्र एकोहोरो रूपमा पस्किएका छन्। यो झन् कविको दोहोरिरहने कमजोरीको रूपमा बूढो समयमा देखा परेको छ। यसलाई कविले आगामी दिनमा सुधारका लागि बलियो पक्षका रूपमा लिन जरुरी छ। बूढो समयले गाउँबेसी मात्र बोकेको छैन। यसले सहर, ठमेललाई पनि उतिकै माया गरेको छ। समय सधैं तन्नेरी त भइरहँदैन नि, बूढो पनि त हुँदो रहेछ। यति मिठो सन्देस दिने कविलाई खै म के भनूँ ? कविताको मैदानमा खरो उत्रनू, आगामी परीक्षामा पास हुनू। शुभेच्छा।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.