के हो मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान ?
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐनले मधेसमा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको उद्देश्य बोकी प्रतिष्ठानको स्थापना गरिएको उल्लेख छ।
जनकपुरधाम : मधेस प्रदेशलाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउँदै लैजान, जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न, स्वास्थ्यसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानको प्रवद्र्धन तथा आवश्यक जनशक्ति तयार गर्न मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरिएको हो।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐनले मधेसमा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको उद्देश्य बोकी प्रतिष्ठानको स्थापना गरिएको उल्लेख छ। आधुनिक चिकित्साशास्त्र र स्वास्थ्य क्षेत्रमा स्नातक तह, स्नातकोत्तर लगायत स्वास्थ्यसम्बन्धी विभिन्न विषयहरूमा अध्ययन अध्यापन तथा अनुसन्धान गर्ने गराउनु प्रतिष्ठानको काम हो। स्वास्थ्य क्षेत्रका विभिन्न काम, कर्तव्यहरू रहेको प्रतिष्ठान अन्र्तगतनै प्रादेशिक अस्पताल जनकपुरधामलाई राखी शिक्षण अस्पतालको रूपमा रूपान्तरण गरिएको छ।
प्रतिष्ठानसम्बन्धी ऐनअनुसार प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरू समेत प्रतिष्ठानअन्तर्गत नै राखिएका छन्। त्यसैगरी स्वास्थ्य क्षेत्रमा योग्य जनशक्ति तयार गर्नका लागि स्वास्थ्यसम्बन्धी शिक्षण, प्रशिक्षण तथा अनुसन्धानको व्यवस्था गर्ने, स्वास्थ्य सेवाको उपयोगिता र उपादेयता बारे जनमानसमा जागरुकता अभिवृद्धि गर्ने, गराउने, स्वास्थ्यसम्बन्धी नीति एवं स्वास्थ्य क्षेत्रको विकासमा सम्बन्धित निकायमा राय, सुझाव, परामर्श दिनेलगायतका मुख्य कामहरू प्रतिष्ठानको छ।
प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्न र गुणस्तरीय एवं सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि शैक्षिक संस्था स्थापना गर्ने व्यवस्था छ भने स्वास्थ्य क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न र गुणस्तरीय एवं सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि शिक्षण अस्पतालको स्थापना गर्ने परिकल्पनासमेत गरिएको छ ।
मुख्यमन्त्री प्रतिष्ठानको कुलपति हुन्छन् भने प्रदेश सरकारको सामाजिक विकास मन्त्री सहकुलपति हुन्छन्। उपकुलपतिको नियुक्ति चिकित्साशास्त्रका प्राध्यापकहरू मध्येबाट सहकुलपतिको सिफारिसमा हुन्छ। त्यसैगरी डीन, शिक्षाध्यक्ष, रजिष्टार र अस्पताल निर्देशकको व्यवस्था पनि गरिएको छ।
२०७६/०६/१४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट अञ्चल अस्पताल जनकपुरको नाम परिवर्तन गरी प्रादेशिक अस्पताल जनकपुर नामाकरण गरिएको हो।