प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले यथाशीघ्र गृहमन्त्री नियुक्त गर्नुपर्ने बताएका हुन्।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री तत्काल नियुक्त गर्न माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले यथाशीघ्र गृहमन्त्री नियुक्त गर्नुपर्ने बताएका हुन्।
'यो देशमा नेपाल सरकारको गृहमन्त्रालयको संयन्त्र छ तर मन्त्रालय किन खाली? प्रधानमन्त्रीले सबै मन्त्रालयको जिम्मेवारी लिने भए अरु मन्त्रालय किन बनाएको ? उनले भने,'सबका सब मन्त्रालय प्रधानमन्त्रीलाई दिएर खाली बनाइदिए भइगो नि?'
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफैसँग राखेका छन्।
राप्रपाका सचेतक समेत रहेका शाहीले मुलुकमा लुटतन्त्र हावी भएको बताए। लोकतन्त्रका नाममा लुटतन्त्र गर्न नपाइने भन्दै यस विषयमा सरकार गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ।
यस्तै शाहीले बालाजु घटनाका विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाए। उनले बालाजु घटनामा सरकार उम्कन नपाउने भन्दै सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न समेत माग गरे।
प्रतिक्रिया दिनुहोस !