गम्भीर दुर्घटनाको संकेत

टेलिकममा समस्यै समस्या

टेलिकममा समस्यै समस्या

बिहीबार बिहान पोस्टपेड मोबाइलमा फोन नजाने र ब्यालेन्स गायब हुने समस्या देखियो।

काठमाडौं : नेपाल टेलिकममा एकपछि अर्को समस्या थपिँदै गएका छन्। बिल सिस्टम प्रणाली खराबीको असर पछिल्लो समय सबै सेवामा देखिएको छ। पछिल्लो एक महिनायता मात्रै तीनपटक फरक–फरक समस्या देखिएको छ।

बुधबार दिउँसो र गत माघ ३ गते समस्या मोबाइल नेटवर्कमा आएको थियो। बिहीबार बिहान पोस्टपेड मोबाइलमा फोन नजाने र ब्यालेन्स गायब हुने समस्या देखियो। यस्ता समस्याले सेवाग्राहीलाई असर त परेको छ नै, राजस्व चुहावटको समस्यासमेत हुने विज्ञ बताउँछन्।

टेलिकममा बिलिङ प्रणालीमा सुधार नगर्दा बेलाबेला फोन नलाग्ने, डेटा नचल्ने, एसएमएस नजाने, रिचार्ज नहुने, ब्यालेन्स हेर्न नमिल्ने, भ्वाइस प्याक लिन नमिल्नेलगायत समस्या देखा परिरहेको छ। तर, टेलिकमले सुधार गर्न चासो नदेखाएको जानकार बताउँछन्। 

टेलिकमका प्रवक्ता शोभन अधिकारीले बुधबार दिउँसो साढे १ बजेदेखि सवा २ बजेसम्म फोन नजाने समस्या आएको बताए। गत माघ ३ गते पनि उस्तै समस्या आउँदा डेढ घण्टा बढी समस्या आएको थियो। फोन कलको ट्राफिकका कारण दिनभरिजस्तो नेटवर्क प्रभावित भएको थियो। 

 

ट्रान्समिसनमा समस्या आउँदा बुधबार कल अवरुद्ध हुन पुगेको टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता अधिकारीले बुधबार एउटा ट्रान्समिसनमा लिंक नहुँदा ३० मिनेट जति समस्या आएको बताए। ‘त्यसकै कारण कल बढेकाले अरू १५/२० मिनेट समस्या भयो’ उनले भने। दुईचारवटा कल भए पनि धेरै फोनमा समस्या आएको उनले बताए। ‘पछि कल भयो। कलको हिसाबले राजस्वमा लस भएन, तर कल लाग्न गाह्रो भयो’ उनले भने। 

बिल प्रोसेसमा ढिलाइ हुँदा बिहीबार बिहान पोस्टपेड प्रयोगकर्ताको ब्यालेन्स नभएको र फोन नलाग्ने समस्या आएपछि चिन्तित भएका थिए। बिलिङ हुने साइकलमा समस्या आउँदा त्यस्तो हुन गएको प्रवक्ता अधिकारीले बताए। जसले गर्दा कल, डेटा रेकर्ड हराउँदा सर्वसाधारण झुक्किएका थिए। पोस्टपेड सेवामा हरेक चोटी बिल हुँदैन। टेलिकमले पोस्टपेडमा अंग्रेजी महिनाको अन्तमा बिलिङ गरिन्छ। हरेक महिनाको १५ तारिखमा बिल प्रोसेस हुन्छ।

‘अरू बेला रातभरिमा सिद्धिन्थ्यो। हिजो प्रक्रिया ढिलो सुरु भएर लामो समय गयो,’ अधिकारी भन्छन्, ‘साढे ९ बजेसम्म चल्यो। बिल प्रोसेसिङ गर्दा बिलिङ हुने साइकलमा समस्या आएकाले त्यस्तो समस्या देखिएको उनले बताए। ‘रेन्टल अमाउन्ट काटेपछि थप बिलिङ हुन्छ। कति सर्भिस चलाएको छौं, त्यसको आधारमा हिसाब मिलान भएर ग्राहकको क्रेट लिमिट बढेको छ कि बाँकी छ भन्ने आधारमा बिलिङ हुन्छ।’

बिलिङ प्रणालीको म्याद सकिए पनि टेलिकमले नयाँ बिलिङ प्रणाली सुरु गरेको छैन। नेपाल टेलिकमले एक महिनाभित्र टेन्डर गरेर बिलिङ सिस्टम नयाँ सुरु गर्ने तयारी भएको बताए। टेलिकमको कलसँगै सिस्टमले अटोमेटिक बिल बनाउँछ। कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटीबी) मा १० प्रतिशतसम्म बिलिङ लस हुने गरेको तथ्य बाहिरिएको थियो। पछिल्ला समस्या बिलिङ सिस्टमसँगै रहेको स्रोत बताउँछ।

नयाँ बिलिङ प्रणाली खरिद गर्न टेलिकम सञ्चालक समितिले २०७८ साउन ४ मा नै बोलपत्र आह्वान गर्ने निर्णय गरे पनि पछि अध्यावधिक (अपग्रेड) गर्नतिर लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ बिलिङ प्रणाली लागू गर्न निर्देशन दिइसकेको छ। 

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिना टेलिकम नेतृत्वले निजी क्षेत्रसँग कार्टेलिङ गरेर उपभोक्ता मारमा पारेको बताउँछन्। भन्छन्, ‘केही मिनेटमात्रै अवरुद्ध हुँदा टेलिकमका प्रयोगकर्ता अन्यत्र मोडिन पुग्छन्।’

टेलिकम नेतृत्वमात्र नभई नेपाल दूरसञ्चार प्राधिकरणले पनि नियमन नगरेको तिमिल्सिना बताउँछन्। ‘दिएको अधिकार पनि प्रभावकारी नभएको, पाएको अधिकार पनि प्रयोग नगरेर कारबाही नभएको समस्याले टेलिकमको मनोमानी बढेको उनी बताउँछन्। 

गम्भीर दुर्घटनाको संकेत 

बिलिङ प्रणालीमा आएको समस्याका कारण नेपाल टेलिकममा गम्भीर दुर्घटनाको संकेत देखिएको छ। बिलिङ प्रणाली आउटडेटेड भइसकेका कारण जुनसुकै बेला दुर्घटना हुने सम्भावना देखिएको छ। पछिल्ला दिनमा दिनहुँजसो टेलिकमका सेवाहरू अवरुद्ध भइरहेका छन्।

बिलिङ प्रणालीमा नै खराबी भएका कारण माघ ३ गते टेलिकम सेवा अवरुद्ध भएको निष्कर्ष छानबिन समितिले पनि निकालिसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजकत्वमा समिति बनेको थियो।

नेपाल दू्रसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सेवा अवरुद्धको विषयमा छानबिन गरिरहेको बताए। उनले समिति नै बनाएर प्राधिकरणले छानबिन अगाडि बढाएको जानकारी दिए। ‘कमिटी नै बनाएर छानबिन गरिरहेका छौं,’ उनले भने, ‘छानबिनपछि प्रतिवेदन बाहिर ल्याउँछौं।’ 

पुरानै कम्पनीसँग एएमसी 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ टेन्डर गर्न दिएको निर्देशनलाई उल्लंघन गर्दै टेलिकम प्रशासनले पुरानै कम्पनीसँग मर्मत सम्भारका लागि सम्झौता गरेको छ। विभागीय मन्त्री नभएको बेला टेलिकम प्रशासन र सञ्चालक समितिले पुरानै कम्पनी एसियन इन्फोसँग एन्युअल मेन्टिनेन्स कन्ट्रक्ट (एएमसी) गरेको छ। नामले एन्यूअल (वार्षिक) भनिएको यो सम्झौता पाँच वर्षका लागि गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.