नजिकिँदै राष्ट्रपति निर्वाचन

कुन दलबाट को–को छन् राष्ट्रपतिका दाबेदार ?

राष्ट्रपति निर्वाचनमा भारत, चीन, अमेरिकादेखि युरोपियन युनियनको चासो

कुन दलबाट को–को छन् राष्ट्रपतिका दाबेदार ?

राष्ट्रपतिका लागि दलहरूबीच दृश्य/अदृश्य रूपमा समीकरण बनाउने र भत्काउने खेल चलिरहेका छन्।

काठमाडौं : मुलुकको राष्ट्रपति बन्न फागुन १३ अर्थत् आगामी शनिबार मनोनयन दर्ता गर्नुपर्छ। तर, कुन दलले राष्ट्रपति पाउने र उम्मेदवार को हुने भन्ने टुंगो अझै छैन। किनभने राष्ट्रपतिका लागि दलहरूबीच दृश्य/अदृश्य रूपमा समीकरण बनाउने र भत्काउने खेल चलिरहेका छन्। अर्थात् राष्ट्रपतिका लागि आआफ्ना रणनीतिमा दलहरू सक्रिय छन्।  

राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुँदैछ। यो चुनावका मतदाता पनि निश्चित छन्। संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्। अर्थात्, दलीय समीकरणअनुसार राष्ट्रपतिमा को जित्ने/को हार्ने भन्ने पहिल्यै अनुमान गर्न सकिन्छ। त्यसैकारण पनि दलहरू आआफ्ना पक्षमा बहुमत जुटाउन प्रयत्नरत छन्। राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको ध्यान पनि यसमै केन्द्रित भइरहेको नेताहरू बताउँछन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भावि राष्ट्रपतिबारे दर्जनौं पटक छलफल र भेटवार्ता भइसकेका छन्। र, पनि यस विषयमा सहमति जुट्न सकेको छैन। प्रधानमन्त्री दाहाल राष्ट्रपति राष्ट्रिय सहमतिबाट चुनिनु पर्ने पक्षमा छन्, भने ओली पुस १० को सहमतिअनुसार एमालेकै भागबाट राष्ट्रपति निर्वाचित गर्नुपर्ने अडानमा छन्। सत्तासीन एमाले र माओवादीको झगडाबाट गठबन्धन भत्काएर राष्ट्रपति हत्याउने दाउमा छ, कांग्रेस। कांग्रेसलाई राष्ट्रपति दिनुपर्नेमा प्रधानमन्त्री दाहाल पनि सकारात्मक छन्। 

माओवादीले दोहोरो चाल चलिरहेको छ। यसले गर्दा भोलि प्रचण्ड नै जोखिम पर्ने खतरामा पनि त्यतिकै छ, यो गठबन्धन पनि भत्किन सक्छ।

एमाले नेताहरूका अनुसार, पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेबाट राष्ट्रपति बनाउने ‘भद्र’ सहमति भएको थियो। तर, पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएपछि राजनीतिले नयाँ मोड लिएको थियो। कांग्रेसले विश्वास मत दिएपछि प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका नेताहरूका बोली फेरिन थालेका हुन्। 

सभामुख लिइसकेको एमालेको भागमा राष्ट्रपति पनि परे एमालेले ‘सत्ता कब्जा’ डर र त्रास माओवादीलाई छ। कांग्रेसका नेताहरूले विगतमा नेकपा हुँदाको अवस्थालाई फर्केर हेर्न माओवादी नेताहरूलाई स्मरण गराइरहेका छन्। प्रचण्डले भने सबैलाई मान्य हुने उम्मेदवार पेस गर्न आग्रह गर्दै ओलीलाई घुमाउरो पारामा एमालेको उम्मेदवार स्वीकार नगर्ने संकेत दिइसकेका छन्। 

माओवादी केन्द्रले साझा उम्मेदवारको विषयलाई सार्वजनिक रूपमा नै बहसमा नै ल्याएको छ। तर, यो विषयमा एमाले मौन नै देखिएको छ। कुनै विषयमा तत्काल प्रतिक्रिया दिइहाल्ने एमालेका अध्यक्ष ओली राष्ट्रपतिको विषयमा कम नै बोलिरहेका छन्। ओलीले एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने मात्रै बताइरहेका छन्। 

माओवादी राष्ट्रपतिको सर्वस्वीकार्य पात्रको खोजीमा छ। सकेसम्म माओवादी केन्द्रको रणनीति भनेको एमाले र कांग्रेस दुवैलाई समान दूरी राख्ने देखिएको छ। पछिल्लो समयमा प्रचण्ड र ओलीको भेटवार्ता बाक्लिएका छन्। कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहका नेता पनि उतिकै गृहकार्यमा छन्। माओवादीले दोहोरो चाल चलिरहेको छ। यसले गर्दा भोलि प्रचण्ड नै जोखिम पर्ने खतरामा पनि त्यतिकै छ, यो गठबन्धन पनि भत्किन सक्छ। अनि कांग्रेस र माओवादी गठबन्धनको बन्न सक्छ। अर्को जोखिम पनि त्यतिकै छ। ओलीले कांग्रेससँग गठबन्धन गरेर माओवादी बाहिर्‍याउन सक्ने सम्भावना पनि कम छैन। 

हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद् पद खारेज भएकाले एक पद रिक्त छ। राष्ट्रियसभामा ५९ जना सदस्य छन्। संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन्। संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ।

संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो। प्रदेशसभामा ५ सय ५० छ। जसको मतभार २६ हजार ४ सय हुन्छ। राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ। जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ। राष्ट्रपति निर्वाचित हुन पाँच प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ। 

सम्भावित परिदृश्य 

१. वर्तमान गठबन्धनको निरन्तरता 

राष्ट्रपति निर्वाचनमा वर्तमान गठबन्धनकै निरन्तरता हुनसक्छ। एमालेले प्रस्ताव गरेको उम्मेदवार नै राष्ट्रपति हुन सक्छन्। जसले गर्दा प्रचण्डको नेतृत्वकै सरकारले निरन्तरता पाउँछ। अहिलेको सत्तारुढ गठबन्धनसँग राष्ट्रपति निर्वाचनका लागि पनि स्पष्ट बहुमत छ।

एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपा मिल्दा नै बहुमत पुग्छ। तर, यो अवस्थामा एमाले ओलीको हात माथि हुन्छ। राष्ट्रपति, सभामुखलगायत राज्यको महत्वपूर्ण स्थानमा ओलीको कब्जामा हुन्छ। जसले गर्दा धेरै नीति निर्णयमा ओलीको प्रत्यक्ष प्रभाव देखिनेछ। यो भय अहिले पनि कांग्रेस, माओवादीलगायतका दलमा देखिन्छ। त्यस कारण उनीहरू पछिल्लो समय निकट भएका छन्।

२. कांग्रेस र माओवादी गठबन्धन 

राष्ट्रपति निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन पनि हुन सक्ने देखिन्छ। ओलीको भयकै कारण नै यो गठबन्धन बन्न सक्ने देखिन्छ। त्यसका लागि पछिल्लो समयमा कांग्रेस र माओवादीबीचमा भित्रिरूपमा व्यापक छलफल भइरहेको छ। 

पुरानै पाँच दलीय गठबन्धनलाई बिउँत्याएर अघि बढ्ने गरी छलफल भइरहेको छ। यो गठबन्धनमा पनि राष्ट्रपति निर्वाचनका लागि  स्पष्ट बहुमत छ। कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा मिल्ला नै बहुमत हुन्छ। यो गठबन्धन भएमा एमालेसँगै रास्वपा र राप्रपा पनि सत्ताबाट बाहिर सक्छन्। 

३. माओवादी नै सत्ताबाट बाहिरिने जोखिम 

राष्ट्रिय सहमतिको कुरा गर्दा गर्दै माओवादी नै सत्ताबाट बाहिरने सम्भावना पनि त्यतिकै छ। राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवारको कुरा उठाएर एमालेलाई संशकित बनाएको माओवादी केन्द्रको हातबाट कांग्रेस पनि खुस्किन सक्छ।

एमाले अध्यक्ष ओली सत्ताका खेलाडी भएका कारण राष्ट्रपति र प्रधानमन्त्री दुवैमा कांग्रेसलाई समर्थन गर्न सक्ने जोखिम पनि त्यतिकै छ। त्यसै पनि आफ्नो हातमा नआउने भएपछि ओली कांग्रेसको उम्मेदवारलाई नै राष्ट्रपतिमा सहयोग गर्ने र देउवालाई प्रधानमन्त्री बनाउने सक्ने सम्भावना पनि कम छैन। 

यो विषयमा सहमतिअनुसार नै जानुपर्छ। एमालेकै राष्ट्रपति हुन्छ। अहिले तत्कालको फाइदामा प्रधानमन्त्री प्रचण्ड लाग्नु हँुदैन।
पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव, एमाले

४. देउवालाई राष्ट्रपति फकाउने प्रयास 

पछिल्लो समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मनाउने कोसिससमेत भइरहेको छ। कांग्रेसका संस्थापन इतरदेखि माओवादी केन्द्रका नेतासमेत देउवालाई राष्ट्रपतिमा मनाउने कोसिस गरिरहेका छन्। कांग्रेसकै इतर पक्ष राष्ट्रपति देउवा बनाएपछि पार्टीको आफ्नो हातमा आउने सक्ने आशामा देखिन्छ। 

त्यसकारण पनि इतरपक्ष जोड तोडले देउवालाई राष्ट्रपति बनाउने प्रयासमा लागेको छ। यो प्रस्ताव प्रतिदेउवा भने दोमनमा छन्। पाँच पटक प्रधानमन्त्री भइसकेको र राष्ट्र प्रमुख बनेर मुलुक उच्च पदमा पुग्न अभिलाशा पनि छ। तर, पार्टी सत्ता सधैं लागि आफ्नो र आफ्नो समूहबाट बाहिरिन सक्ने खतरा पनि त्यतिकै छ। त्यस कारण उनले यो विषयमा निर्णय गर्न सकेका छैनन्। 

ओलीलाई प्रचण्डले राष्ट्रपतिका लागि प्रस्ताव गरेको विषय बाहिर आएको छ। त्यस विषयलाई अध्यक्ष ओलीले राष्ट्रपतिमा तपाईंलाई अघि सार्ने विषय पनि मिडियामा आएको छ नि ? भन्दै व्यंग्यात्मक जवाफ दिए। 

५, गठबन्धनमा कांग्रेसलाई मतदान गर्न सक्ने सम्भावना 

माओवादी केन्द्रले निर्णय नै नगरी क्रम मतदान गर्न सक्ने सम्भावना पनि छ। निर्णय गर्दा दुवै हातमा सत्ता खुस्किन सक्ने सम्भावनालार्ई मध्यनजर गर्दै कुनै निर्णय नगरी बस्ने पनि देखिन्छ। वर्तमान गठबन्धनका साथमा रहेको भन्दै कांग्रेस उम्मेदवारलाई जित्ने जति मत लिन सक्ने तयारी पनि गरेको स्रोतको दाबी छ।

माओवादी महासचिव देव गुरुङ राष्ट्रपति साझा पद भएको सत्ता पक्ष र प्रतिपक्ष नहुने बताउँछन्। उनको कुरा पनि गठबन्धनमा नै रहेर कांग्रेसका प्रस्तावित उम्मेदवार माओवादीले भोट हाल्न सक्ने पनि सम्भावना देखाउँछ।

पार्टी सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने हो कि भनेर सोच्दैछौं। पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम पनि पहिलो नम्बरमा छ। 
विश्वप्रकाश शर्मा,महामन्त्री, कांग्रेस

अन्तर्राष्ट्रिय चासो 

राष्ट्रपति निर्वाचनमा भारत, चीन, अमेरिकादेखि युरोपियन युनियनको चासो देखिएका छन्। पछिल्ला समयमा उनीहरू नेपाल आगमन बढेको छ। 

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाल आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। धेरैले क्वात्रा राष्ट्रपति निर्वाचनका लागि भारतीय संस्थापन पक्षको सन्देश लिएर आएको विश्लेषण गरेका छन्। क्वात्राले सबै दलका शीर्ष नेतालाई भेटेका छन्। उनको चासो राष्ट्रपति रहेको देखिन्छ। 

कांग्रेसका कृष्णप्रसाद सिटौला वा लोकतान्त्रिक समाजवादी पार्टी महन्थ ठाकुरमाथि भारतको विशेष चासो देखिन्छ। अमेरिकी राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टारिया नुल्यान्ड, राष्ट्रिय सुरक्षापरिषद्मा रहेकी मन्त्रीस्तरकै यूएसएडकी प्रशासक समान्था पावर, दक्षिण तथा मध्यएसियाली मामिला हर्ने ब्युरोकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरलगायतका नेपाल आएका छन्।

बेलायतका रक्षामन्त्री डा. एन्ड्रुयु मोरिसन, युरोपियन युनियनकी कमिसनर जुट्टा उर्पिलइनेन पनि यहीबीचमा नेपाल आए। चिनियाँ राजदूतको सक्रिय बढेको छ। शक्ति राष्ट्र पनि आफू अनुकूलको राष्ट्रपति बनाउन दौडधुप गरिरहेको यसले देखाउँछ। 

राष्ट्रपति भनेको साझा पद हो। सरकार जस्तो भागबन्डाको विषय होइन। पार्टीलाई दिएको पद पनि होइन। यसमा सत्तापक्ष र प्रतिपक्ष भन्न पाइँदैन। साझा व्यक्ति नै राष्ट्रपति हुन्छन्।
देवप्रसाद गुरुङ, महासचिव, माओवादी केन्द्र

राष्ट्रपतिमा कांग्रेसलाई सघाए पूरै पाँच वर्ष प्रचण्ड प्रधानमन्त्री

कांग्रेसले एउटा नयाँ ‘फन्डा’ पनि फालेको छ। नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा समर्थन गरे पूरै पाँच वर्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने संकेत गरेको छ। 

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले समर्थन गरे कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि सार्वजनिक अभिव्यक्ति नै दिएका छन्। अहिलेको परिवेशमा कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा उपयुक्त लविङ भइरहेको छ। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का लगायतका नेता माओवादीसँग संवादमा खटिएका छन्। 

को–को छन् चर्चामा ?

राष्ट्रपतिका लागि एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीदेखि डोरमणि पौडेल, विष्णु रिमाल, गोमा देवकोटासम्मको नाम चर्चामा छ। पोखरेल दुई–दुई पटक एमालेका महासचिव पनि भइसकेका छन्। यो पटक भने उनी काठमाडौं ५ बाट कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित भएका थिए। 

नेम्बाङको नाम निर्वाचन यता नै राष्ट्रपतिका लागि चर्चामा छ। उनी इलाम २ वटा निर्वाचित सांसद हुन्। उनी संविधानसभाका अध्यक्ष र सभामुख भइसकेका व्यक्ति हुन्। शाक्य बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री हुन्। योपटक शाक्य कहीँबाट चुनाव लडिनन्। यस्तै एमाले अध्यक्ष ज्ञवालीको नाम पनि चर्चामा छ। 

शाक्य र ज्ञवाली लामो समयसम्म माधव नेपाल समूह थिए। तर, पार्टी विभाजनका बेला उनीहरू ओलीसँगै बसे। पौडेल पनि बागमती प्रदेशमा पूर्वमुख्यमन्त्री हुन्। एमालेका उपमहासचिव रिमाल ओलीका सबैभन्दा विश्वास पात्र हुन्। निर्वाचनमा कतै उम्मेदवार नबनेर रिमालले पार्टीको डिजिटल प्रचार अभियानलाई नमुना नै बनाएका थिए। एमालेले कसलाई बनाउने भन्ने बताएको छैन। अध्यक्ष ओलीले यी माथिकामध्ये जस पनि उम्मेदवारका रूपमा प्रस्तुत गर्न सक्छन्।  

राष्ट्रपतिका लागि फागुन १३ गते एमालेले आफ्नो उम्मेदवार अघि सार्ने ओलीले नै बताउँदै आएका छन्। ‘राष्ट्रपतिको विषयमा तत्काल हामीले कसैको नाम लिएका छैनौं,’ उनले विराटनगरमा भने, ‘राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनयन दर्ताको दिन सार्वजनिक हुन्छ।’

त्यस्तै कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मा लगायतको नाम चर्चामा छन्। राष्ट्रपतिको अभिलासामा नै पौडेल देउवानजिक भएका हुन्। अघिल्लो पाँचदलीय गठबन्धनको नेतृत्व गरेको हिसाबले उनको दाबीलाई त्यही बेलादेखि स्वभाविक रूपमा हेरिँदै आएको हो। देउवाका विश्वासपात्र श्रेष्ठ र विक हुन्। श्रेष्ठ कांग्रेसका पूर्वउपसभापति पनि हुन्। सिटौला भारतका पनि विश्वासपात्र हुन्। उनलाई राष्ट्रपति बनाउन भारतको लबिङ रहेको छ। 

 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि पछिल्लो समयमा चर्चामा आएको छ। भारतीय विदेशमन्त्री आएसँगै उनको नाम चर्चामा अगाडि आएको हो। भारत सिटौला नभएमा ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा देखिएको चर्चा छ।  

केही गैरराजनीतिक कर्मीको नाम पनि चर्चामा छ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वमन्त्री एवं पूर्वराजदूत नीलाम्बर आचार्यलगायतका नाम पनि चर्चामा छन्। माधवकुमार नेपाल र झलनाथ खनालको पनि नाम मन्दरूपमा आइरहेको छ। माओवादीको भूमिका राष्ट्रपति को हुने भन्ने निर्धारण गर्नेछ।  

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पुस १० को सहमतिको विकल्प नरहेको बताए। ‘सहमतिअनुसार नै जानुपर्छ, सहमतिको विकल्प छैन, एमालेकै राष्ट्रपति हुन्छ,’ उनले भने। एमालेका प्रचार विभाग प्रमुखसमेत रहेका गुरुङले आफू एकीकृत कम्युनिस्ट पार्टीको पक्षधर भएको बताउँदै तत्कालको लाभहानीको प्रभावमा प्रचण्ड पर्न नहुने बताए। ‘एकीकृत कम्युनिस्ट पार्टी बनाउनुपर्छ भन्ने पक्षधर हो म त, त्यसका लागि सबै कम्युनिस्ट पार्टी मिलेर एउटै बनाउनुपर्छ। अहिले तत्कालको फाइदामा प्रचण्ड लाग्नु हुँदैन’, उनले भने। 

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमालेद्वारा प्रस्तुत गरेको जो कोही उम्मेदवार स्वीकार गर्न नसक्ने बताए। उनले कांग्रेस र एमालेमध्ये जसले उपयुक्त साझा पात्र ल्याउँछ उसैलाई समर्थन गर्न सक्ने संकेत गरे। उनका अनुसार एमालेले प्रस्तुत गरेको पात्र माओवादीका लागि स्वीकारयोग्य हुनुपर्नेछ। 

‘राष्ट्रपति भनेको साझा पद हो। सरकार जस्तो भागबन्डाको विषय होइन। पार्टीलाई दिएको पद पनि होइन,’ उनले भने, ‘यसमा सत्तापक्ष र प्रतिपक्ष भन्न पाइँदैन। साझा व्यक्ति नै राष्ट्रपति हुन्छन्।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.