‘सडक पार्किङ हटाउने भए विकल्प चाहियो’

महानगर पार्किङ समस्या

‘सडक पार्किङ हटाउने भए विकल्प चाहियो’

महानगरले अहिलेसम्म दरबारमार्गको विकासका लागि केही गरेको छैन। दरबारमार्गलाई व्यावसायिक दृष्टिकोणबाट हेर्नै मिल्दैन। दरबारमार्ग एरिया व्यावसायिक ठाउँ मात्रै नभएर सभ्यताको पहिचान हो। यसलाई जोगाउनु सबैको जिम्मेवारी हो।

प्रस्तुति : अजवी पौड्याल

दरबारमार्गका व्यवसायीको विरोध के का लागि ? 
महानगरले निरंकुश तरिकाले दरबारमार्ग क्षेत्रका सडकको पार्किङ हटाएको छ। यहाँका व्यवसायीसँग कुनै छलफल नै नगरी हटायो। यसरी अन्य विकल्पमा सोधखोज नगरी भइरहेको पार्किङ बन्द गर्नु उपयुक्त होइन। वास्तवमा यस सडकमा भएका एकतर्फि पार्किङले कुनै समस्या निम्त्याएको थिएन। 

पैदलयात्रु र सवारीका लागि बनाइएको सडकमा पार्किङ बनाउनु कानुन संगत ठीक हो र ?

सबै व्यवहार र चालचलन कानुनलाई हेरेर मात्रै बनाउन सम्भव हुँदैन। कानुन र विधानलाई हेर्ने हो भने सडक भनेर बनाइएको कालोपत्रे एरियामै पार्किङ गर्न पाइँदैन भनिएको छ। यो व्यवस्था अहिलेको समयमा लागू गर्न सम्भव नै छैन। विकसित मुलुकमा होस् या विकासोन्मुख मुलुक, अहिले सहरको  सबैतिर कालोपत्रे गर्ने प्रचलन सुरु भइसकेको छ। कालोपत्रे भएको ठाउँमा पार्किङ गर्न मिल्दैन भनेर महानगरले दबाब दिन मिल्छ त ? 

दरबारमार्ग पार्किङ विवादको वास्तविकता के हो ? 

सडकमा भइरहेको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न महानगरले सडककै केही भागमा सःशुल्क पार्किङ एरिया बनाएर शुल्क उठाउँदै आएको थियो। यसले केही हदसम्म मुख्य चोक र क्षेत्रमा पार्किङ समस्या समाधान भएको थियो। दरबारमार्गको शालिकदेखि नारायणहीटी दरबारसम्म सडकको बायाँ साइडमा एकतर्फी पार्किङ एरिया छुट्ट्याइएको थियो। यसले गर्दा दरबारमार्ग आउने जोकोहीलाई सहज भएको थियो।

महानगरले सो क्षेत्रमा भीडभाड भएको भन्दै कुनै पनि सवारी पार्किङ गर्न नपाइने सूचना जारी गरेको थियो। यसको विरोधमा व्यवसायी आन्दोलनमा छन्। आन्दोलनको पहिलो कार्यक्रममार्फत कालो ब्यानरमा विरोध जनाउँदै पसल अगाडि झुण्डाएका छन्। दरबारमार्गलाई सुनसान र खाली बनाउन भन्दै महानगरले पार्किङ हटाएको भन्छ। पार्किङ नभएपछि यहाँको व्यवसायमा ६० प्रतिशतले गिरावट आयो। सबै पसलहरू बन्द हुने अवस्थामा छन्। महानगरलाई खाली दरबारमार्ग चाहिएको भए सबै खाली गराएर पार्क बनाए भयो नि ? 

अव्यवस्थित पार्किङ हटाउने महानगरको जिम्मेवारी नै हो नि। अन्य ठाउँमा पनि हटाइरहेको छ। दरबारमार्गमा मात्रैविरोध किन ? 
दरबारमार्ग विकास बोर्डमा अध्यक्षको पदमा बसेर पनि मैले काम गरेँ। यहाँको संस्कृति, ऐतिहासिक महत्व, व्यापारिक शैलीको विषयमा जानकार छु।

महानगरले अहिलेसम्म दरबारमार्गको विकासका लागि केही गरेको छैन। दरबारमार्गलाई व्यावसायिक दृष्टिकोणबाट हेर्नै मिल्दैन। दरबारमार्ग एरिया व्यावसायिक ठाउँ मात्रै नभएर सभ्यताको पहिचान हो। यसलाई जोगाउनु सबैको जिम्मेवारी हो।

  • दरबारमार्गलाई सुनसान र खाली बनाउन भन्दै महानगरले पार्किङ हटाएको भन्छ। पार्किङ नभएपछि यहाँको व्यवसायमा ६० प्रतिशतले गिरावट आयो
  •  दरबारमार्ग एरिया व्यावसायिक ठाउँ मात्रै नभएर सभ्यताको पहिचान हो। यसलाई जोगाउनु सबैको जिम्मेवारी हो 
  •  अहिले सामान्य विरोध गरिरहेका छौं। भोलि महानगरकै विरोधमा अन्य आन्दोलन गर्न नपरोस् भन्ने हाम्रो माग हो  

दरबारमार्गले नेपालीले गर्व गर्ने राजा–महाराजाको परिवेश बोक्छ। ऐतिहासिक पहिचान बोक्छ। विदेशबाट कोही काठमाडौं झर्‍यो आफन्त भेट्न जाने ठाउँ हो, दरबारमार्ग। विदेशी ब्रान्डेड सामान किन्न जानुपर्‍यो फुत्त पस्ने ठाउँ हो, दरबारमार्ग। शान्तसँग केही समय बिताउनुपर्‍यो सम्झने ठाउँ हो, दरबारमार्ग। यहाँ पुग्ने मानिस दरबार संग्रहालय पसेर खुसी हुन सक्छ। रमाइलो दरबारको चहल–पहलमा केही समय बिताउन सक्छ। दरबारमार्ग सबैको साझा थलो हो। बैतडीबाट आएको मानिस होस् या बेलायतबाट नेपाल झरेको पात्र सबै भेटिने ठाउँ हो, दरवारमार्ग। 

सडकमा पार्किङ बनाउन पाउनुपर्छ भन्नु तर्कसंगत देखिँदैन नि ?
उपत्यका वा सहरको पार्किङ समस्या समाधान नियमले मात्रै हुँदैन। स्थानीय नागरिक, व्यवसायी र सरकार मिलेर पार्किङको समस्या व्यावहारिक रूपमा हल गर्नुपर्छ। जहाँ सहज हुन्छ, जसरी मिल्छ, बाटो सानो होस् या ठूलो कुन तरिकाले व्यावहारिक रूपमा मिलाउन सकिन्छ छलफल गर्नुपर्छ। छलफलबाट समाधान हुन सम्भव नभए मात्रै नियम वा ऐन लगाउने हो। महानगरले विकल्प दिएका छौं भन्दै जनतालाई ढाटेको छ।

अर्काले बनाएको निजी भवन वा एरियामा गएर पार्किङ गर्न भनेर महानगरले सूचना जारी गर्न मिल्दै मिल्दैन नि। व्यवसायीसँग कर लिने सुविधाको मामलामा अरूको नाम तोक्ने गर्नु युक्तिसंगत छैन। निजी एरिया पार्किङको विकल्प हुनै सक्दैन। अहिले खुला भएको निजी पार्किङ २ महिनामा बन्द भयो भने कता पार्किङ गर्ने ? जनतासँग कर महानगरले उठाउने, व्यवसायीसंग कर लिने ? अनि पानी माग्न अन्त जा, ढलको व्यवस्था पनि तिमी आफैं गर, पार्किङ आफै व्यवस्था गर भन्दै महानगर लाचार बन्न मिल्छ त ? महानगरले दरबारमार्गलाई सत्रु जस्तो व्यवहार गरिरहेको छ। 

सडक खुला गरेर मात्रै पार्किङको समस्या हल हुँदैन। सडक बनाउँदा होस् या सहरको परिकल्पना गर्दा  सडक र सहरसँगै सभ्यता विकास हुँदै जान्छ। सन् १९६१ मा राजा वीरेन्द्रको पालामा बनाएको सडक हो, यो। सांस्कृतिक सडकको रूपमा विकास हुँदै गयो। दरबारमार्ग काठमाडौंको महत्वपूर्ण ठाउँ भएकोले समस्याबारे हामीसँग छलफल गर्नुपर्‍यो नि। 

महानगरका मेयरले सडक खाली गर्न परियोजना नै बनाएका छन् नि ? 
सडक खाली गरेर मात्रै समस्याको समाधान हुँदैन। आवतजावतमा मानिसलाई असहज बनाएर कसको हितमा काम गर्न लाग्दैछ महानगर ? अहिलेका महानगर प्रमुख अत्यन्तै निरंकुश भए। उनीसँग भेट्न हामीले पटक–पटक फोन गर्‍यौं। म्यासेज गर्‍यौं। उनले फोन कहिल्यै उठेन। हामीले भोट हालेर उनलाई महानगर प्रमुख बनाएको होइनन ? उनी कसको बुद्धिमा चलिरहेका छन् ? उनको मुडअनुसार निर्णय गर्ने छुट कसले दियो।

अरूले संरक्षण गरेर जोगाएको सहर बिगार्दै भत्काउँदै हिँड्ने छुट उनलाई कसले दियो ? अब उनको निरंकुशतालाई कसले तह लगाउने ? के अहिलेको महानगर प्रमुख राजा महाराजाभन्दा ठूला हुन् ? उनको सहरमा गरिब दुःखीले बस्नै नपाउने ? स–साना व्यापार गरेर खानै नपाउने हो ? घरी फुटपाथलाई लखेटेको छ। सडक व्यापारीलाई दुःख दिएको छ। सबैले सटर किनेर पसल राख्ने क्षमता हुन्न नि। काम गरेर खानेहरू महानगरमा 
प्रतिबन्ध हुन् ? 

दरबारमार्ग विकास बोर्डले पनि विरोध गरिरहेको छ ? 
यहाँका सबै व्यवसायी महानगरको यो निर्णयविरुद्ध छौं। अहिले सामान्य विरोध गरिरहेका छौं। भोलि महानगरकै विरोधमा अन्य आन्दोलन गर्न नपरोस् भन्ने हाम्रो माग हो। सरकारका तर्फबाट दरबारमार्गमा ढल निकासको व्यवस्थापन अहिलेसम्म भएको छैन। सरकारी पानीको व्यवस्था छैन। सबैतिरको ढल यहाँ थुपारेर बाटो हिँड्दा डुङ–डुङ गन्हाउँछ। दरबारमार्गमा ढुक्कसाथ मानिस हिँड्न सकोस् भनेर दरबारमार्गवासी मिलेर बोर्ड स्थापना गरिएको थियो।

महानगर र स्थानीयको समन्वयमा बोर्डले दरबारमार्गमा धेरै काम गरिरहेको छ। पर्यटकको सुरक्षादेखि यहाँका सुरक्षाका लागि हामी आफैंले सेक्युरिटी गार्डको व्यवस्था गरेका छौं। यहाँको बत्ती तथा सडक लाइटको निर्माण पनि विकास बोर्डकै अग्रसरतामा भएको हो। सरसफाइ गर्न कामदार राखेका छौं।  प्रहरीसँग समन्वय गरेर ठाउँ–ठाउँमा सीसीटीभी राखेका छौं। पकेटमारदेखि सडक बालबालिकाको व्यवस्थापनमा सहयोग गरिरहेका छौं। यो सडक र यसको पहिचानप्रति हामी अत्यन्तै संवेदनशील छौं। रूख रोप्नेदेखि, सडक सफा गर्ने, सेक्युरिटीको लागि गार्ड राख्ने जस्ता सरकारले गर्ने काम पनि स्थानीय व्यवसायी मिलेर गरिराखेका छौं। हामीले जोगाएको दरबारमार्गमा हामीलाई नै खेद्ने योजना भइरहेको छ। हामी सहन्नौं। 

पार्किङ हटाएपछि व्यापार घटेको हो ?
मेयरकै लापरबाहीपूर्ण निर्णयले उपत्यकाको व्यापार ६० प्रतिशतले घटेको छ। व्यवसायीले मुनाफा कमाए पो कर तिर्छन्। घाटामा गए व्यवसायी र सरकारको राजस्व दुवै घट्छ। महानगरले आफ्नो दायित्व पूरा गर्न छाडेर महानगर प्रमुखको मुडअनुसार निर्णय गर्दै हिँडे जनताले सहेर बस्दैनन्। आफूमा भएको शक्तिको गलत प्रयोग गर्दै महानगरले वडासँग पनि समन्वय नै नगरी पार्किङ हटाएको छ। सही व्यवस्थापन भएन भने खुलामञ्चमा पार्किङ एरिया बनाए पनि जाम हट्दैन। मुख्य कुरा व्यवस्थापनको हो। 

सडक एरिया त विदेशमा पनि खाली नै हुन्छ नि ? 
काठमाडौंभन्दा धेरै जनघनत्व भएको भएको विकसित राष्ट्रहरूमा पनि पार्किङ समस्या समाधान गरिएको छ। कतै एक लाइन पार्किङ बनाएर हुन्छ कि अन्डरग्राउन्ड पािर्कङ एरियाको विकास गरेर हुन्छ। हरेक सहरमा पार्किङ समस्या समाधान गर्न आवश्यक छ।

व्यवस्थित तरिकाले पार्किङ व्यवस्थापन गर्न जरुरी छ। व्यापार गरेबापत हामीले राज्यलाई कर बुझाएका छौं। सरकारले व्यापारीलाई संरक्षण गर्नुपर्छ। अधिकांश ग्राहक पार्किङ छैन भन्दै आउन छाडेका छन्। कि व्यवस्थित सवारी साधनको व्यवस्था गर्नुपर्‍यो। होइन भने पार्किङ एरिया 
निर्माण गर्नैपर्छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.