वन्यजन्तु पर्यटनमा अघि बढ्दै अमलटारी
काठमाडौं : कोभिड—१९ का कारण सुस्ताएको पर्यटन बजार विस्तारै माथि उक्लिँदै छ। सन् २०२२ मा ६ लाख १४ हजार १ सय ४८ पर्यटक नेपाल भित्रिएको सरकारी तथ्यांक छ।
कोभिडको समय सन् २०१९ को तुलनामा करिब ६५ प्रतिशतले पर्यटक आगमन सुधार भएको सरकारी तथ्यांकले देखाउँछ। सन् २०२१ को तुलनामा २०२२ मा ३ सय ७ प्रतिशतले बढी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२१ मा कुल १ लाख ५० हजार ९ सय ६२ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२० मा २ लाख ३० हजार ८५ र २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल भित्रिएका थिए।
मुलुकका अग्ला हिमाल, भौगोलिक विविधता, वातावरणीय पर्यावरण, विश्वमा नै दुर्लभ जीवजन्तुलगायत नै विश्व पर्यटनका लागि आकर्षणको केन्द्रबिन्दु हो। अझ कोभिडपछिको समयमा वातावरण, जीवजन्तुसँग घुलमिल हुन रुचाउने पर्यटकको संख्या बढिरहेको पर्यटन व्यवसायी वसन्तराज मिश्र बताउँछन्। ‘कोभिडको समयमा बन्देजमा बस्न बाध्य अहिलेका पर्यटक वातावरणसँग घुलमिल हुन रुचाउँछन्। विश्वको तथ्यांकले पनि यही देखाउँछ,’ उनले भने।
नेपालमा आउने पर्यटकहरू विशेषत काठमाडौं, पोखरा र चितवन घुम्न मन पराउँछन्। काठमाडौंमा सांस्कृतिक सम्पदा, पोखरामा तालतलैया र चितवनमा त्यहाँको वनजंगल तथा वन्यजन्तुलाई हेर्न आउने गर्छन्।
चितवनमा राष्ट्रिय निकुञ्ज हुनुले पनि जंगल सफारी र त्यहाँ वरपरको बसाइ नै पर्यटकको आकर्षण हुन्। निकुञ्ज छिर्ने सौराहा, कसारा, मेघौली, अमलटारी र माडी गरी पाँच नाका छन्। निकुञ्ज छिर्ने सौराहा प्रमुख नाका भए पनि पछिल्लो समयमा पश्चिमी नाका अमलटारीबाट पनि पर्यटकको गतिविधि बढ्दै गएको छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक भएकोले पनि यहाँ चहलपहल बढ्न थालेको बताइन्छ। सामुदायिक वनसँगै जोडिएको र कम जनघनत्व र शान्त वातावरणका कारण पर्यटकको आकर्षण बढ्न थालेको पर्यटन व्यवसायी एवं अमलटारीमा नै वाइलडलाइभ रिसोर्ट टेम्पल टाइगर सञ्चालक वसन्तराज मिश्र बताउँछन्। ‘निकुञ्ज छिर्ने अन्य नाकाभन्दा यहाँ कोलाहल कम भएकोले बढीभन्दा बढी वन्यजन्तु देखिन सकिन्छ,’ मिश्र बताउँछन्।
तर, यो पटकको सिजन सुरु हुँदा पनि निकुञ्जले जिप सफारीको अनुमतिमा ढिलाइ गर्दा व्यवसायमा असर परेको उनको भनाइ छ। निकुञ्जमा वर्षायाममा जिप सफारी बन्द गरिन्छ भने सामान्यता कात्तिक–मंसिरबाट खुला गरिन्छ। तर, अमलटारी क्षेत्रमा माघ १० गते मात्र निकुञ्जले जिप सफारीको अनमुति दिएको थियो। सबै नाकालाई एउटै नीतिअनुसार हेर्नुपर्नेमा त्यसो हुन नसकेको मिश्रको आरोप छ।
‘निकुञ्जले बन्द गरेको पाँच महिनापछि मात्र जिप सफारीको अनुमति दियो। यसो हुँदा यहाँ आउने पर्यटकलाई जिप सफारी गराउन मुस्किल परेको थियो। अर्को वर्ष यो दोहोरिनु भएन,’ उनले भने। तर, निकुञ्जका अधिकारी भने कुनै नियतले भन्दा पनि प्राकृतिक कारणले अमलटारी क्षेत्रमा जिप सफारी अनुमति ढिला भएको बताउँछन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अमलटारीमा जिप सफारी गराउन रिहु नदी तरेर लैजानुपर्ने हुन्छ। तर यस वर्ष वर्षा ढिला सुरु भएर रिहु खोलाको बहावका कारण अनुमति दिन नसकेको बताउँछन्। निकुञ्जभित्र ६१ जिप सफारीका लागि अनुमति दिइएको छ। त्यसमा सौराहामा ३२, कसारामा १४, मेघौली ९, अमलटारीमा ५ र माडीमा एक जिप सफारीको अनुमति दिइएको छ। अमलटारीमा बढ्दो पर्यटक संख्यालाई मध्यनजर गर्दै पाँच सफारीको अनुमति दिइएको, जबकि यसअघि दुई जिप सफारीका लागि मात्र अनुमति थियो।
चितवन राष्ट्रिय निकुञ्ज नेपालको उपोष्णकटिबन्धीय दक्षिणी भाग तराईको एक समृद्ध प्राकृतिक क्षेत्र हो। निकुञ्जमा जम्मा ६८ प्रजातिका स्तनपायी, ५ सय ४४ प्रजातिका पन्छी, ५६ प्रजातिका हर्पेटोफना र १ सय २६ प्रजातिका माछा पाइन्छन्। यो पार्क विशेषगरी एक सिंगे गैंडा, रोयल बेंगाल टाइगर र घडियाल गोहीको संरक्षणका लागि प्रख्यात छ। निकुञ्जमा जंगल सफारी, बोटिङलगायतका कार्य गर्न पर्यटक आउने गरेको बताउँछन्।