पार्किङ हटाएको विरोध गर्दै दरबारमार्गका व्यवसायी सडकमा (फोटो फिचर)
काठमाडौं: काठमाडौं महानगरपालिकाले विकल्प नै नदिइ पार्किङ हटाएर व्यवसाय ठप्प भएको भन्दै दरबारमार्गका व्यवसायी सडकमा उत्रिएका छन्।
व्यवसायीले आज एक घण्टा दरबारमार्गका पसल बन्द गरेका छन्। दरबारमार्ग विकास बोर्डले एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले अन्य क्षेत्रमा हुने ट्राफिक समस्या देखाएर दरबारमार्गको पार्किङ हटाइएको आरोप लगाएको छ। सडक निर्माणकै क्रममा एकातर्फ पार्किङ गर्ने गरी बनाइएको बोर्डको दावी छ।
बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस क्षेत्रमा दुवै तर्फ १०/१० फिटको पैदल हिँड्ने सडक पेटी बाहेक कुल ७० फिटेको ५ लेन सडक मध्ये १ लेन सवारी पार्किङको लागि छुट्याई बाँकी ४ लेन सवारी आवागमनको लागि प्रयोग भईरहेको थियो। जसले कुनै पनि सवारी विना रोकतोक आवागमनमा सहज भई ट्राफिक समस्या देखिएको छैन।'
महानगरपालिकाले पार्किङ हटाएको तथा दरबारमार्ग क्षेत्रको रौनकता र व्यापार तथा सरकारको राजस्वमा पर्ने क्षतिको बारेमा कुनै हेक्का नराखेको आरोप बोर्डको छ।
यो क्षेत्रमा पार्किङ हटाउँदा व्यपार व्यवसाय ठप्प हुने बताउँदै बोर्डले दीर्घकालीन रुपमा पार्किङ समस्या समाधान गर्ने उचित उपायको खोजी गरी समस्याको हल गर्न आग्रह गरेको छ।
हेर्नुहोस् व्यवसायीको आन्दोलनका तस्बिर