मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
महोत्तरी : महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए ।
बलवा –१० को धमौराबाट बनौटा जाँदै गरेको प्र२–०२–००२प ३३७२ नंको मोटरसाइकलले बाटो काट्दै गरेका महतोलाई ठक्कर दिएको थियो । उपचारार्थ बर्दिबासस्थित ट्रमा सेन्टरमा लगिएकामा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।
मोटरसाइकल चालक २२ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
परिक्रमा यात्रीको मृत्यु
मिथिलामा जारी पन्ध्र दिने माध्यमिकी परिक्रमा यात्राअन्तर्गत महोत्तरीको ध्रुवकुण्डमा लागेको मेलामा सोमबार एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिकाको धिरापुरगाउँ निवासी ७० वर्षीय राजदेव मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताए । - रासस