मुख्यमन्त्री कार्यालय अगाडि मिटरब्याज पीडितको धर्ना
ढल्केवर :जनकपुरधाममा आन्दोलित मिटरब्याज तथा लघुवित्त पीडितहरूले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् । बिहीबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आन्दोलिनरत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय घेराउ गर्न पुगेका मिटरब्याज तथा लघुवित्त पीडितहरू सडकमै धर्ना बसेका हुन् ।
प्रदर्शनकारीहरूलाई मुख्यमन्त्री कार्यालयको मुलगेट पछाडि प्रहरीले सुरक्षा घेरा हालेर रोकेका छन् । र्यालीलाई प्रहरीले रोकेपछि उनीहरूले सडकमै धर्ना बसेर नाराबाजी गरिरहेका छन् ।
मिटरब्याजविरूको संघर्ष समिति नेपालको आयोजनामा मिटरब्याजी पीडितहरू आन्दोलनमा होमिएका हुन् । जनकपुरधामको रंगभूमि मैदान बाह्रबिघाबाट प्लेकार्डसहित निकालिएको र्याली अहिले मुख्यमन्त्री कार्यालय पुगेको छ।
मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनोज पासमानले जानकारी दिए ।
उनीहरू सुदखोरहरूलाई गिरफ्तार गर,तमसुक व्यवस्था खारेज गर,मिटरब्याजीको सम्पति छानविन गर,पीडितको सम्पति फिर्ता गरलगायतका मागहरू अघि सार्दै आन्दोलित भएका हुन् ।