मासिँदै पुर्खौली सिप
निगालोबाट बनाइने डोका, खारेभन्दा प्लाष्टिकका सामान, भेडा र बाख्राको रौंबाट बुन्ने लिउ, फरुवाभन्दा बजारमा पाइने कार्पेट छरितो र सस्तो हुने भएपछि हरेक वर्ष पुर्खौली सिपबाट बनाइएका सामान बिक्न छाडेका छन्।
सिमकोट: बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ पिपलडालीका महाचन्द्र कार्की, उमेरले ८१ वर्ष पुगे। उनको स्वास्थ्यले पहिले जस्ता काम गर्दैन। आँखा, कानलगायत शरीरका अन्य अंगले काम गर्न छोडे पनि आफूले सिकेको सिप छाडेका छैनन्।
पाको उमेरको शरीरका अंगप्रत्यंगले राम्रोसँग काम गर्न छाडे पनि कार्कीले आफूले सिकेको सिप गर्न छाड्न नसक्ने बताउँछन्।
‘जिजुबाजे (बा र हजुरबा)देखि गर्दै आएको सिप हामीले पनि छोरा नातीलाई सिकाउन पाए हुन्थ्यो भन्ने लाग्छ’, मलिन अनुहार लगाएर उनले भने ‘अहिलेका छाचुरी (बालबालिका) क्यापो नयाँ पुस्ता भनन्नार (नयाँ पुस्ताका नाममा) हाम्बा (हाम्रो) सिपप्रति चासो नराखेपछि यो सिप हराउँदै जान्या भैगो (लोप भएर जाने भयो)।’
एक छोरी, दुई छोराका बुबा कार्कीले घरको गर्जो टार्न पेसा यही हो। ‘२२ वर्ष अघि जोइ (श्रीमती) काल (मृत्यु) भयादेखि अट्को पड्डा (समस्या पर्दा) निगालाको डोको, खारे, भेडाका उन (रौं) को लिउ बेचेर समस्या टार्ने यो पेसा पटक्कै छोड्न मन लाग्दैन । तर क्यारु (के गरौँ) दुःखको कुणा (कुरा) म मर्याका दिन (मेरेको दिन) म सँगै यो पेसा पनि मोर (आर्यघाट) बाइजान्या (जाने) छ’ कार्कीले थपे।
आफू सानो छँदा गाउँमा सिप गरेका व्यक्तिको कमि भएपछि निकै टाढा गएर सिकेको सिपलाई पछिल्लो पुस्ताले सिक्ने चासो नदेखाएपछि चिन्तित देखिएका कार्की भारतको रुपडिया र वनवास नाकाबाट आउने प्लाष्टिकका सामानले आफ्नो सिपको मूल्य घट्दै गएको बताए। ‘उहिले (पहिले) अहिलेको जस्तो आधुनिक प्रविधिको विकास भएको थिएन। जुन घर गएपनि आफैँले बुनेका डोका, खोरे, लिउ प्रयोग गरेको देख्दा आत्मैदेखि खुशी लाग्छ। अहिले बजारमा प्लाष्टिकका सामान आउन थालेका छन्। ती सामान निकै कम मूल्यमा पाइने भएपछि आफ्नो सिप नै विस्थापित भयो जस्तो लाग्छ।'
उनी भन्छन् ‘मैले सानै उमेरदेखि घरका बान्ना (पर्खाल) चिन्ने, ऊनका कपडा, निगालोका डोका, डाला, खारे, पूजामा आवश्यक पर्ने टपरी बुन्ने, हलो बनाउने जस्ता थुप्रै काम गर्थे। पछिल्लो समय प्लाष्टिकका सामग्रीले पुर्खाबाट आर्जन गरेका मौलिक सिप हराउँदै जान थाले।’
चालिस वर्ष पहिले गाउँभरी त्यस्तो सिप गर्ने आफू मात्रै भएको दावी गरेका कार्कीले पछि बिस्तारै अरुलाई पनि सिकाए। कार्कीले सिकाएपछि निगालोबाट डोको, खारे बुन्न सिकेको बताउँनै सोही गाउँका ५१ वर्षीय गणेश कार्कीले पनि पछिल्लो पुस्ताले गाउँका कुनै सिपका बारेमा चासो नदेखाएकोमा चिन्ता गरे।
उनका अनुसार निगालोबाट बनाइने डोका, खारेभन्दा प्लाष्टिकका सामान, भेडा र बाख्राको रौं बाट नुन्ने लिउ, फरुवाभन्दा बजारमा पाइने कार्पेट छरितो र सस्तो हुने भएपछि हरेक वर्ष आफूले बनाएका सामानको बिक्रीमा कमी हुँदै गएको छ।
‘एकातर्फ हामीले बनाएका सामान गाउँ र बजारमा पनि कम बिक्री हुन थाले भने अर्कोतर्फ यो पेसालाई थप आधुनिक र व्यवस्थित बनाउन स्थानीय, प्रदेश र केन्द्रको सरकारले पनि चासो नदेखाएपछि आफ्नो जीवन जिउने सारथी बनेको पेसा आफैसँग जाने भयो,’ कार्कीले भने।