अञ्जानमै हुन्छ लैंगिक विभेद

अञ्जानमै हुन्छ लैंगिक विभेद

हप्तैपिच्छे जस्तो अपहरण र बलात्कारका घटना सुनिरहेका हुन्छौं। तर यसो भन्दैमा छोरीलाई बाँधेरै राख्न पनि त भएन। सही के हो ? गलत के हो ? छोराछोरी दुवैलाई बुझाउनु पर्छ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै एकदिन घरमा भान्जाभान्जी भेला भएका थिए। लगभग एकै उमेरका उनीहरू र छोरा। पाँच केटा र एक केटी। ‘केटाको जनसंख्या पो धेरै भएछ’, सासूआमाले भन्नुभयो। उहाँले हाँस्दै भनिरहँदा लाग्थ्यो, नातिनीभन्दा नाति धेरै भए। भान्जीले अलि अनुहार बिगार्दै हजुरआमातिर हेरेको देखें।

किशोरावस्था पार गर्न लाग्दै गरेकी उनलाई यो कुरा मन परेन भन्ने थाहा भयो। उसो त उनले मात्रै हैन, केटाहरूले पनि यो कुरा मन पराएनन्। उनीहरूको हाउभाउले बुझिन्थ्यो। अचेलका किशोरकिशोरी कुनै प्रकारले पनि लिंगका आधारमा हुने भेदभाव मन पराउँदैनन्। चाहे त्यो शारीरिक होस् वा मानसिक। उनीहरू केटा होस् या केटी, हरेक अवसरमा काँधमा काँध मिलाएर हिँड्न चाहन्छन्। सोही रात उनीहरू ६ जनाको टोली मेरो कोठामा आयो। छोराले भन्यो, ‘माथिल्लो प्लानिङतिर घुमेर आउँछौ है ?’

रातको १०.३० जति भएको छ। हाम्रो घरबाट उसले भनेको ठाउँमा जान हिँडेर पुग्न १५, २० मिनेट लाग्छ। ‘त्यति पर यति राति नजाओ। तिमीहरू गए पनि बैनीलाई नलानू।’ उनीहरू मुखामुख गर्न थाले। भान्जी अगाडि सरेर भनिन्, ‘म किन नजाने ? म छोरी मान्छे भनेर नजाने ?

कतै केही भइहाले यी पाँचै जनालाई बचाएर ल्याउने जिम्मा मेरो भयो।’ भान्जीको अनुहारमा आक्रोश देखियो। अनि उनीहरू सबै होमा हो मिलाउँदै हाई फाइभ गरिरहेका थिए। उल्टै मलाई हल्का गिज्याइरहेका थिए। तैपनि अटेरी हुँदै भनें, ‘बहिनीलाई लिएरै जान्छौ त ?’ भान्जी अगाडि सरेर भनिन्, ‘उनीहरूले मलाई लैजाने होइन। म उनीहरूलाई लिएर जाने हो।’

भान्जीको अनुहारमा थप पीडा भएको महसुस गरें। त्यो बेला मुटु ढक्क फुल्यो। मैले बोल्न नहुने कुरा नै बोलेछु भन्ने महसुस भयो। तर यो सबै अञ्जानमा भएको थियो। सासूआमाले र मैले भनेका दुइटै कुराले भान्जीलाई मानसिक तनाव भयो। तर जानाजान उनलाई हामीले ‘हर्ट’ गराउन खोजेको भने पक्कै होइन। मेरी सासूआमाको समय जुनबेला छोरा हुनुमा नै गर्व गर्ने समय थियो। छोरी जति नै सर्वगुण सम्पन्न किन नहोस्, महत्त्व नै हुन्न थियो। छोराभन्दा त्यो समयका मानिस आफूलाई निक्कै गर्विलो महसुस गर्थे। उहाँमा जे छाप बसेको थियो, त्यही बोल्नु भयो। भन्छन् नि नानीदेखिको बानी कहाँ हट्छ र ? मेरो पनि नानीदेखि लागेको बानी कसरी हट्थ्यो र ? सानैदेखि सुनेका कुरा– छोरा मान्छेमात्र गएको ठाउँमा कहाँ एक्लै गएकी ? अब साँझ पर्न थालिसक्यो, छोरी मान्छे भएर घरबाहिर निस्कन हुँदैेन नि। कहाँ रे ? त्यति टाढा ? दाजु जान्छ तँ नजा।

कुनै साथीको घरमा गयो भने साथीका बुवाआमाले भन्ने शब्द ‘घरमा सोधेर आयौ नि ? छोरी मान्छे भएर कता जाँदैछु ? किन जाँदैछु ? बताएरमात्रै हिँड्नु पर्छ। उसबेला सामान्य लाग्ने यी कुराले मेरो मस्तिष्कमा नराम्ररी छाप छोडेकै हो। यही कारण हो, मैले कुनै किशोरीलाई आफू नै देख्नु अनि सोही तरिकाले बुझाउनु। थाहा छ, यो सबै गलत हो। यसलाई सुधार्न जरुरी छ। तै पनि दिमागमा बसेको छाप न हो, मेटाउन गाह्रै पर्ने रहेछ। अन्जानमै मुखबाट यस्ता शब्दहरू फुत्तफुत्त निस्कने रहेछन्।

दसैं आउनुअघि छोरा र उसका साथीले च्छो रोल्पा ताल जाने सल्लाह गरे। म्यासेन्जरमा ग्रुप बनाए। जसमा केटा चार र केटी तीन थिए। दसैं बिदा भएपछि जाने उनीहरूको योजना थियो। तर हप्ता दिनअघि योजना स्थगित भयो। किन क्यान्सिल भयो ? छोरालाई सोधें। उसले केटी साथीको नाम लिएर  भन्यो, ‘फलानो साथीको मामुले जान दिनु भएन रे। ऊ नगएपछि अर्काे साथीलाई पनि जान दिनु भएन। दुईजना नगएपछि फलानी साथीलाई पनि एक्लै तिमी जान मिल्दैन भनेर घरबाट रोकिदिनु भएछ।’ कति खुसी भएर यसरी/उसरी रमाइलो गर्ने योजना बनाउँदै थिए। नरमाइलो लाग्यो अनि नातामै पर्ने ती किशोरीकी आमालाई फोन गरें र सबै कुरा सोधें। उनले जवाफ फर्काइन्, ‘तिम्रो पो छोरो हो त। तिमीलाई पो ढुक्क छ त। छोरी हुने आमाको मन कति पोल्छ तिमीलाई के थाहा ? अहँ म त्यति टाढा छोरी पठाउँदिनँ।’ जवाफविहीन भएँ। मसँग जवाफ नहुनुको पनि कारण छ।

हप्तैपिच्छे जस्तो अपहरण र बलात्कारका घटना सुनिरहेका हुन्छौं। तर यसो भन्दैमा छोरीलाई बाँधेरै राख्न पनि त भएन। अनि अर्काे कुरा जुन घटना भएको हुन्छ, त्यसमा छोरीको भन्दा छोराको हात बढी हुन्छ भन्ने भुलिरहेका हुन्छौं। छोरीलाई बाँधेर राख्न सक्ने हामीले छोरालाई यो सही र यो गलत भनेर कत्तिको बुझाइरहेका हुन्छौं ? अनि छोरो कहाँ जाँदैछ ? कस्तो संगतमा छ ? को–कोसँग जाँदैछ ? भनेर सोध्ने गरेका छौं ? कतै हिँड्दा छोेरीलाई मात्र सवालजवाफमा गर्छौं। हरकुरामा छोरीले जत्तिकै छोेरालाई पनि सुरक्षित भएर हिँड्नु पर्दैन र ? लिंगका आधारमा बिभेद गरेर छोरीलाई चिया पकाउन र छोरालाई घुम्न पठाउनुको साटो दुवैलाई सही के हो ? गलत के हो ? बुझाउनु सिकाउनु पर्छ होइन र ? कि हामीले छोरीलाई चाहिँ यो नगर त्यो नगर भनेर झनै कमजोर बनाउने हो र ? यो विषयमा गम्भीर विमर्श गरौं न हुन्न ?
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.