सांस्कृतिक रूपमा भन्दा असत्यमाथि सत्यको विजय, नैतिकता, सदाचार, मित्रता, ईश्वरभक्ति आदि प्रेरणाले भरपूर होलीको बेग्लै महत्व रहेको दृष्टिगोचर हुन्छ।
हरेक दिन कुनै न कुनै पवित्र तिथि पर्न जाने हाम्रो सनातन परम्परा छ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होलीपर्व एक विशेष महत्त्वको चाड हो।
नेपाल–भारत क्षेत्रको मौलिक धर्मसंस्कृतिमा आधारित यो पर्व अहिले दक्षिण एसियाली देश, युरोप र अमेरिकाका विभिन्न राज्यमा मनाइन्छ। जसले आपसी स्नेह, विश्वबन्धुत्व एवं भ्रातृत्वको उत्सव जगाउँछ। बहुसांस्कृतिक अनि विश्वव्यापी बनिसकेको छ होली।
शिशिर ऋतुको समाप्ति अनि वसन्त ऋतुको आगमनको संघारमा आउने यो पर्वलाई वसन्तोत्सवका रूपमा मनाइने गरिएको तथ्य पुराणहरूमा वर्णित छ। संस्कृत साहित्यका महाकवि कालीदासका कृतिहरूमा पनि यो पर्वको विशेष वर्णन पाइन्छ। बंगाली कवि रवीन्द्रनाथ टैगोरका अनेकौं पद्य साहित्यमा वसन्त ऋतुको आह्वान अनि होलीको महिमामण्डन गरिएको देखिन्छ। हाम्रा राष्ट्रकवि माधवप्रसाद घिमिरेले त घोषणा नै गरिदिएका छन् :
लाई कहिल्यै पनि नसकिने प्रीति नौ लाख मेरो...
माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिनलाई वसन्त उत्सव मानिन्छ। तर फागुन—चैत्रमा मनाइने होलीपर्व नै वास्तविक वसन्तोत्सव हो जस्तो लाग्छ। सनातन चाडपर्वसँग कुनै न कुनै ऐतिहासिक सन्दर्भ एवं किंवदन्ती जोडिएको हुन्छ। फागु पूर्णिमासँग भने निम्न पाँच सन्दर्भ उल्लेखनीय रूपमा पाइयो :
१. प्रह्लाद–हिरण्यकशिपु–नृसिंह अवतारको प्रसंगमा आउने होलिका दहन : विष्णुभक्त प्रह्लादसँग क्रोधित भएका उनका पिता हिरण्यकशिपुको आज्ञाअनुसार उनकी फुपू होलिकाले उनलाई आगोमा डढाउन खोज्दा आगोबाट रक्षा हुने वरदान पाएकी थिइन् होलिकाले। उनको मृत्यु भएको तर प्रह्लादलाई कुनै पनि हानि नभएको कारणले ‘सत्यको विजय’को खुसीयालीमा होली मनाइने गरिएको हो। होलिका दहनको प्रतीकस्वरूप यस दिन आगो बालिने अनि अग्नि परिक्रमा गरी उत्सव मनाइने गरिन्छ।
२. राधाकृष्णको प्रणयलीला : कृष्णलाई आफू कालो तर आफ्नी बालसखी राधा भने गोरी भएकोमा अलिकति लघुताभाष भइरहेको थियो। यो कुरा माता यशोदाले बुझेर कृष्णलाई राधाको गालामा रंग दलिदिन अह्राउँछिन्। एकआपसमा रंग दलेपछि त को कालो ? को सेतो ? सबै एक समान। अतः राधाकृष्णको यस्तो प्रणय प्रसंगमा आधारित यो पर्वले समानता एवं विश्वबन्धुत्वको शिक्षा दिएको मान्न सकिन्छ। कसैकसैले राधाकृष्णको यो प्रणयलीलालाई वैविध्यतापूर्ण, रंगीन एवं परिवर्तनशील प्रकृति (राधा) अनि अपरिवर्तनीय, निर्लेप्य एवं नित्य—निराकार पुरुष (श्रीकृष्ण) बीचको सृष्टिरचनाको खेलका रूपमा पनि मानेका छन्। जेसुकै भए तापनि यो वसन्तोत्सवको अभिन्न अंग हो।
बंगाली परम्परामा यस पर्वलाई डोल पूर्णिमाका रूपमा नाचगान गरेर मनाइने गरिएको पाइन्छ। तराई भूभागमा पनि दहीको मट्का फुटाएर यस दिन श्रीकृष्णलीलाको सम्झना गर्ने चलन छ। त्यस्तै, श्रीकृष्ण भक्तिवेदान्त पथका प्रणेता चैतन्य महाप्रभुको जन्मजयन्ती पनि यसै दिन पर्नुलाई पनि सुखद संयोग नै मान्नुपर्ला।
३.पुतना मर्दन : श्रीकृष्णलाई विषालु दूध पिलाएर मार्ने योजना गरेर आएकी राक्षसी पुतना आफैं नै श्रीकृष्णद्वारा मारिएको खुसीयालीमा होली मनाइएको हो भन्ने श्रीकृष्णलीलासँग नै सम्बन्धित अर्को प्रसंग पनि छ।
४.कामदेवको बलिदान : हामीले स्वस्थानी व्रतकथामा पढेको प्रसंग नै हो यो। सतीदेवीको पतनपछि विक्षिप्त अवस्थामा रहेका शिवले महादेवका रूपमा गर्नुपर्ने कर्तव्यलाई नै भुलेर ध्यानमा नै लीन रहन थालेपछि सृष्टि–स्थिति–संहार अनि धर्मस्थापनाको काममा नै बाधा आउन थालेको मानी ब्रह्मा, विष्णु आदि देवताको आपसी सल्लाहमा शिवलाई आफ्नो नियमित कार्यमा फर्काउन कामदेवलाई प्रयोग गरेका थिए।
कामदेवले आफ्नो प्राणको बलिदान दिएर शिवलाई भूभार हर्ने आफ्नो कर्तव्यमा फर्काएका थिए। कामदेवको त्यही बलिदानको सम्झनामा यो पर्व मनाइएको हो भन्ने दक्षिण भारततिर मान्यता छ।
५. राक्षसी ढुण्डीको प्रसंग : उहिले रघु (कतैकतै पृथु पनि भनिएको छ) राजाको राज्यमा ढुण्डी नामक राक्षसीले बालबालिकालाई सताउने गरेको दिन हो होली। उनीहरूले नै आगो बालेर अनेक तरिकाले चिच्याउने र कराउने गर्छन्। यसरी त्यस राक्षसीलाई धपाउन सफल भएकाले यो दिन बालबालिकालाई छलकपट गर्न, गालीगलौज गर्न छुट दिइने चलन पनि छ केही भारतीय राज्यमा।
सांस्कृतिक रूपमा भन्दा असत्यमाथि सत्यको विजय, नैतिकता, सदाचार, मित्रता, ईश्वरभक्ति आदि प्रेरणाले भरपूर यस चाडको बेग्लै महत्त्व रहेको दृष्टिगोचर हुन्छ। भ्रातृत्व, सामाजिक एकता अनि बन्धुत्वको प्रेरणा दिने यस पर्वले धनीगरीब, कालागोरा, ठूलासानाबीच समानताको सन्देश बोकेको छ। यसमा सबै प्रकारका उचनीच, भेदभावको अन्त्य गर्ने अभ्यास पनि देखिएको छ। समाजमा, टोलमा, गाउँघरमा, कार्यस्थल, स्कुल–कलेज आदि सार्वजनिक स्थलमा एकअर्कामा रंग दलेर अनि पानी छ्यापाछ्याप गरेर मनाइने होलीपर्वले एकआपसमा शत्रुतापूर्ण सम्बन्ध भएकालाई समेत अन्ततः मित्र बनाउन पुगेको उदाहरण पाइन्छ। अचेल त सनातन धर्मावलम्बीमात्र नभई अन्य परम्परा, संस्कृति एवं आस्था बोकेका समाज पनि होलीपर्व मनाउने भइसकेको हामी पाउँछौं।
होलीपर्वको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव रहन्छ। शिशिर ऋतुको अन्त्य एवं वसन्त आगमनको समयमा वातावरण पनि चिसोबाट तातो बन्न लागेको अवस्थामा आलस्यपन अनि ज्यादा निद्रा हुन सक्ने सम्भावना हुन्छ। यही विचार गरी यो समयमा नाचगान, खानपान, रमाइलो गरेर शरीरमा स्फूर्ति एवं ताजगी ल्याउने उद्देश्य त हैन होली पर्वको ? त्यस्तै, ऋतु परिवर्तनको समय मौसमी रुघाखोकी, ज्वरो, अपच, झाडापखाला, एलर्जीजस्ता शारीरिक समस्याहरूको वृद्धि हुने समय पनि हो।
होलीको समयमा बालिने आगो अनि गरिने अग्नि परिक्रमाका कारण वातावरण अनि हाम्रा शरीरबाट घातक भाइरस, ब्याक्टेरिया अनि सूक्ष्म परजीवीहरू नष्ट हुने विश्वास गरिन्छ। अनि, यही समयमा गरिने घरटोलको सरसफाइ आदिका कारण पनि वातावरण स्वस्थ एवं स्वच्छ बन्न पुग्छ। यसबाट जताततै रोगप्रतिरोधी क्षमतामा नै वृद्धि हुन थाल्छ।
राम्रो किसिमको अबिरले शरीरका द्वारहरूबाट प्रवेश पाएपछि शरीरभित्रका रसायनहरूमा सकारात्मक परिवर्तन ल्याएर अन्ततः शरीरको रोगप्रतिरोधात्मक क्षमतामा नै वृद्धि गर्छ। परम्परागत जडीबुटी जस्तै : नीम, हलेंदो, श्रीखण्ड, मेहेन्दी, चुकन्दर, अमला अनि विभिन्न जातिका फूलबाट बनेका प्राकृतिक रंगहरूको आयुर्वेदिक विशेषताहरूको चर्चा पनि हुने गरेकै छ। यिनीहरूको रोग प्रतिरोधी एवं रोग निवारक क्षमताका कारण नै पनि होलीमा रंग दल्ने संस्कृति बनेको होला कि ? रंगहरूले शरीरमात्र नभई मस्तिष्क एवं मानव मनमा नै सकारात्मक प्रभाव पार्ने कारणले व्यक्तिको विचार, मनस्थिति एवं व्यवहारमा नै परिवर्तन ल्याएर मनोसामाजिक सन्तुलन कायम राख्न मद्दत गर्छन्। राता, पहेंला, हरिया, नीलाजस्ता चम्किला रंगहरूले मस्तिष्कमा खुसी एवं सन्तुष्टिका भावनालाई बढाउने उत्प्रेरकको भूमिका खेल्ने मान्यता छ।
होली खुसीयाली बढाउने अनि सन्तुष्टि बहाउने चाड हो। यो समय मिष्ठान्न भोजनको पनि समय हो। सही एवं सन्तुलित भोजनले मानिसलाई आरामी, स्वच्छता एवं स्वस्थता प्रदान गर्ने गर्छ। यो समयमा हुने पारिवारिक अनि सामाजिक भेटघाटहरूले पनि मनस्थितिलाई आह्लादित एवं आनन्दमय बनाउँछन्। यस चाडमा हुने खेलकुद, घुमघाम, दौडादौड आदिले प्रत्यक्ष या अप्रत्यक्ष रूपमा हुने व्यायामका कारण पनि शरीर एवं मन, बुद्धि एवं मस्तिष्क, व्यक्ति, परिवार एवं समाजमा आउने सन्तुलनले साँचो अर्थमा आध्यात्मिक उन्नति गराउनेछ।
यस पर्वका यति धेरै सकारात्मक प्रभाव रहँदारहँदै पनि अहिलेको समाजमा विकृतिहरू नभएका भने होइनन्। एकआपसमा पानी एवं रंग साटासाट गर्नभन्दा नचिनेको मानिस, बाटामा हिँडिरहेका बटुवालाई पानी छ्याप्ने, बेलुन हान्ने र फोहोर पानीको प्रयोग गर्ने नगरौं। कृत्रिम अनि अस्वस्थकर रंगको प्रयोग गरौं। खासमा होली खुसीयाली, मायाप्रेम, सद्भाव, भ्रातृत्व अनि विश्वबन्धुत्वको सनातन चाड हो। त्यसैले, हाँसौं, खेलौं, रमाइलो गरौं। स्वस्थकर अनि सुरम्य फागु पूर्णिमा मनाऔं।