पोखरामा गिद्धले रोकिरहन्छ जहाज
आकाश सुरक्षित बनाउन आम नागरिक पनि जिम्मेवार बन्नुपर्ने गौतमले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोचसँग जोडिएर बग्ने विजयपुर खोला क्षेत्रमा हुने सिनोजन्य फोहोरको कारण मांसाहारी चरा गिद्धका विभिन्न प्रजाति, गोमायु महाचिल, चिललगायतका चराको गतिविधि बढी छ।
पोखरा : पुस १७ गते तामझामका साथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइयो। यहाँ नियमितजसो आन्तरिक उडान भइरहेका छन्। तर, विमानस्थल सञ्चालनमा आएको दुई महिनामै १८ पटक जहाज आकाशमा होल्ड भए। त्यसको कारण एउटै थियो– ‘चराका गतिविधि।’
फागुन ८ गते त विमानस्थलको पूर्वतर्फ एप्रोच नजिकै उडान गरिरहेको विमानमा चरा (महाचिल) ठोक्कियो। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल नै भयो। माघ २ गते पनि जहाज अवतरणको क्रममा चरा ठोक्किएको थियो। विमानस्थल सञ्चालनमा आएपछि पनि यहाँ मांसाहारी चराका गतिविधिमा कुनै कमी आएको छैन। त्यसैकारण, कुनै पनि बेला ‘गम्भीर दुर्घटना’ नहोला भन्न सकिन्न।
हुन त, अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको क्षेत्र मांसाहारी चराको थाकथलो हो। यो क्षेत्रमा मांसाहारी चरा (गिद्ध, गोमायु महाचिल र चिल) लगायतका चराहरू बास बस्ने र सिकार गर्ने गर्छन्। यसको वरिपरि सिमलका ठूल्ठूला रूख छन्। चराचुरुंगीको उचित व्यवस्थापन नै नगरी विमानस्थल निर्माण गरियो। अहिले पनि विमानस्थल वरिपरिको फोहोर उस्तै छ। त्यसैकारण मांसाहारी चराले थाकथलो छोडन मानेका छैनन्। आन्तरिक उडानका जहाजसँगै मांसाहारी चराहरू पनि उड्ने गरेका छन्। त्यसैकारण विमानस्थल प्रशासनका लागि चरा व्यवस्थापन टाउको दुःखाइको विषय बनेको छ।
विमानस्थल वरपर चराका गतिविधि कम गर्न सबै निकाय जिम्मेवार हुनुपर्ने विमानस्थल प्रशासनको भनाइ छ। विमानस्थलभित्र चराको गतिविधि कम गर्न तथा चरा धपाउन विभिन्न उपकरणको प्रयोग भइरहेको विमानस्थल प्रशासनको भनाइ छ। चरा धपाउनकै लागि दुई जना कर्मचारी पनि खटाइएका छन्। चरा धपाउन अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै काम भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमले बताए। ‘तर विमानस्थल बाहिर सिनोजन्य फोहोरका कारण चराका गतिविधि घटेका छैनन्,’ गौतमले भने, ‘सिनोजन्य फोहोर व्यवस्थापन गर्न महानगरपालिकाले विशेष कार्यक्रम नै गर्नुपर्ने आवश्यकता छ।’
आकाश सुरक्षित बनाउन आम नागरिक पनि जिम्मेवार बन्नुपर्ने गौतमले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोचसँग जोडिएर बग्ने विजयपुर खोला क्षेत्रमा हुने सिनोजन्य फोहोरको कारण मांसाहारी चरा गिद्धका विभिन्न प्रजाति, गोमायु महाचिल, चिललगायतका चराको गतिविधि बढी छ। यो क्षेत्र विमानस्थल बन्नुअघि देखि नै मांसाहारी चराको थाकथलो हो। विमानस्थल बनेको क्षेत्रमा गिद्धका गतिविधि पहिलेदेखि नै धेरै हुँदै आएका थिए।
मरेका सिनो खान्थे गिद्ध
पोखरा–जोमसोम सडक बन्नुअघि मुस्ताङ्गीहरू जाडो छल्न घोडा, खच्चडसहित पोखरा झर्थे। उनीहरूका घोडा र खच्चडहरू बिरौटा फाँट, कुँडहर, चाउथे, अहिले बनेको अन्तर्राष्ट्रिय विमानस्थल मझेरीपाटन फाँटहरूमा चर्थे। बुढा, रोगी र घाइते घोडा खच्चडहरू त्यही मर्थे। मरेपछि गिद्धका आहारा हुन्थे। सडक नबन्दासम्म खाद्यान्नलगायत आवश्यक सामग्री पोखराबाट घोडा, खच्चडमा बोकेर जोमसोम पु¥याइन्थ्यो। आजभोलि घोडा, खच्चडको ठाउँ सवारीसाधनले लिए। फाँटहरू कंक्रिट जंगल बने, बस्तीमा परिणत भए। गिद्धले पाउने आहाराको चक्र पनि टुट्यो। अहिले पोखराका बासिन्दाका मरेका रैथाने गाई, गोरु, भैंसी मात्र गिद्धका आहारा हुन्छन्।
चरा धपाउन अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै काम भइरहेको छ। तर, विमानस्थल बाहिर सिनोजन्य फोहोरका कारण चराका गतिविधि घटेका छैनन्। यसको व्यवस्थापन गर्न महानगरपालिकाले विशेष कार्यक्रम नै गर्नुपर्छ।
विक्रम गौतम
प्रमुख, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलचराको गतिविधि कम गर्न विजयपुर खोला, सेती नहरलगायत खुला ठाउँमा सिनोजन्य फोहोरलगायत कुनै पनि फोहोर फाल्नेलाई कडा कारबाही गर्दै आएका छौं। यहाँ अझै निगरानीसमेत छिट्टै सुरु गरिने
तयारी छ।
मोतीलाल तिम्सिना
प्रवक्ता पोखरा महानगरपालिका
विमानस्थलको पूर्वतर्फको एप्रोच नजिकैका सिमलका रूखहरू अझै पनि गिद्धका बासस्थान हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोचदेखि ७ सय मिटरभित्रै रहेको देउराली एग्रो रिसोर्ट र वरपरका सिमलका रूखमा विभिन्न प्रजातिका ३० भन्दा बढी गिद्ध बस्दै आएको रिसोर्टका सञ्चालक गनेश पौडेलले बताए।
रिसोर्ट वरपर र विमानस्थल नजिकैको आकाशमा अहिले पनि पाँच प्रजातिका (हिमाली गिद्ध, सुन गिद्ध, राज गिद्ध, सेतो गिद्ध र डंगर गिद्ध) दैनिक विचरण गर्ने गरेको देखिन्छ। विमानस्थलदेखि दक्षिणतर्फको भरतपोखरी, निर्मलपोखरी क्षेत्रमा सानो खैरो गिद्ध र डंगर गिद्धले अझै पनि गुँड लगाएर बचेरा हुर्काउने गरेका छन्। पोखराको आकाशमा गिद्धसँगै महाचिल र चिल पनि विचरण गर्ने गरेका छन्। बिहान घाम लागेपछि न्यानोपन बढ्दै जान्छ। सिमलको रूखमा रहेका गिद्धले पखेटा फिजाएर घाम ताप्छन्। थर्मल बढ्दै गएपछि विचरणका लागि गिद्धले उडान भर्ने गर्छन्। यसरी उडान भर्ने क्रममा गिद्ध विमानस्थल नजिकैको एप्रोच, रिठ्ठेपानी डाँडा लेखनाथका क्षेत्र, चाउथे क्षेत्रमा विचरण गर्ने गरेको पाइएको छ।
विजयपुर खोला, सेती नदी र लेखनाथ क्षेत्रमा मांसाहारी चराका लागि आहारा (सिनोजन्य फोहोर) प्रशस्त फ्याँकिने भएकोले नियन्त्रणका लागि महानगरपालिका र नागरिक तहबाटै पनि सहयोग हुनुपर्ने विमानस्थल प्रमुख गौतमले बताए। विमानस्थल परिसर भएर बग्ने सेती नहरमा सिनोजन्य फोहोर जथाभावी फ्याँक्ने गरिन्छ।
विमानस्थल वरपर आएका चरालाई धपाएर मात्र समस्या समाधान नहुने भएकोले विजयपुर खोलामा र वरपर सिनोजन्य चराका आहारा उपलब्धता हुनै नदिनु नै समस्याको समाधान भएको गौतम बताउँछन्। यसको साथै हवाई सुरक्षाका लागि ड्रोन उडाउने, चंगा उडाउने, विभिन्न रङका लाइट आकाशतर्फ फर्काएर बाल्नेलगायतका काम रोक्नुपर्नेमा पनि उनले जोड दिए।
सबै प्रजातिका गिद्ध पोखरामा
पोखरा उपत्यका मांसाहारी चराका लागि उपयुक्त क्षेत्र मानिन्छ। मुलुकमा पाइने नौ प्रजातिकै गिद्ध पोखरा उपत्यकामा पाइन्छन्। नेपालमा पाइने सबै ६ प्रजातिका महाचिल पनि यहाँ पाइन्छन्। मरेका जनावर खाएर वातावरण सफा राख्ने गिद्धका लागि पोखरा आकर्षणको केन्द्र हुनुको मुख्य कारण पोखरा र सेरोफेरोमा सहज रूपमा आहारा पाइनु र हावापानी अनुकूल हुनु मुख्य कारण ठान्छन् गिद्ध अनुसन्धान र संरक्षण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संरक्षणकर्मी कृष्ण भुसाल।
गिद्धको चरन क्षेत्रमध्येको एक मझेरीपाटनमा जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएर नियमित उडान भइरहँदा पनि विमानस्थल वरपरको आकाशमा गिद्ध, महाचिलको गतिविधि अझै कम नहुनुको मुख्य कारण उनीहरूको पहिलेदेखिकै थाकथलो भएको मान्छन् भुसाल। अन्यत्र आहाराको सहज उपलब्धता हुन सके विस्तारै नियमित आहारा पाइने क्षेत्रतर्फ बसाइँ सर्ने भुसालले बताए।
चराहरू आहारा खोज्न आकाशमा लामो उडान भर्ने गर्छन्। पोखराको भरतपोखरीमा बच्चा हुर्काउँदै गरेको गिद्ध नवलपरासीको पिठौलीको जटायु रेस्टुरेन्टसम्म पुगेर सिनो खाएर बचेरालाई लिएर आउन सक्ने चराविज्ञ कृष्ण भुसाल सुनाउँछन्। गिद्ध अनुसन्धानका क्रममा स्याटेलाइट ट्याग लगाएर छाडिएको डंगर प्रजातिको गिद्ध दुई सय किलोमिटर हवाई दूरीसम्म आहारा खान गएको पाइएको पनि उनले सुनाए।
विश्वभरका विमानस्थल वरपरको आकाशमा चरा उडान भरेकै हुन्छन्। आकाशमा उडान नभरी चराको जीवन नै चल्दैन। गिद्धले एक सय किलोमिटर हवाई दूरीसम्म आहारा खोज्न जानु सामान्य रहेको पनि उनले बताए। बसाइँ सर्ने गिद्धहरू त धेरै लामो उडान भर्ने पनि उनले सुनाए।
युरोपदेखि आउँछन् गिद्ध
नेपालमा युरोपदेखि पनि गिद्ध आउने गर्छन्। जाडो छल्न बसाइँसराइ गर्ने क्रममा खैरो गिद्ध युरोपको पोर्चुगल, स्पेन, बुल्गेरियालगायतका क्षेत्रबाट नेपाल र नेपाल हुँदै भारत पुग्ने गरेको लामो समयदेखि गिद्ध संरक्षण क्षेत्रमा कार्यरत भुसाल बताउँछन्।
नेपाल आइपुग्ने खैरो गिद्ध र राज गिद्ध नेपालमा गर्मी सुरु भएसँगै फर्कर्ने गर्छन्। गिद्ध महाचिलभन्दा ठूलो हुने भएकोले पनि एप्रोचमा चराको गतिविधि कम गर्ने कार्यमा विशेष ध्यान दिनुपर्ने चराविज्ञ भुसालको सुझाव छ। डंगर गिद्ध ५÷६ किलोसम्म हुने र हिमाली गिद्ध १०÷११ किलोसम्म पनि हुने भएकोले गिद्धलाई अन्यत्र सहज नियमित आहाराको उपलब्ध गराउनुको सानै विजयपुर खोलामा सिनोजन्य फोहोर फाल्न नहुने भुसालले बताए। गिद्धलाई अन्यत्र जाने वातावरण बनाउन ढिलाइ गर्न नहुनेमा उनको जोड छ।
चरालाई अन्यत्र जान बानी पार्न राष्ट्रिय गौरवको आयोजना सुरु हुनुअघि नै वा कम्तीमा एक वर्षअघि विमानस्थलदेखि तीन किलोमिटरभित्रै रहेको ल्यान्डफिल साइट अन्यत्र सार्ने काम गर्नुपर्नेमा त्यसो हुन सकेन। यसको साथै विमानस्थल नजिकैको खोला, नहरमा सिनोजन्य फोहोर फ्याँक्दै आएको र यसैको कारण चराको गतिविधि बढी भइरहेको भए पनि यसतर्फ पनि ध्यान नदिँदा यो समस्या आएको अर्का गिद्ध अनुसन्धानकर्मी हेमन्त ढकाल बताउँछन्।
पोखरा सहरभित्रै अझै पनि सिनो भएको ठाउँमा दुई सयसम्मको संख्यामा गिद्ध सहजै देख्न सकिन्छ। यहाँ पाइने अग्ला सिमलका रूख डंगर, सानो खैरो गिद्धलगायत नौ प्रजातिका गिद्धको बासस्थानको रूपमा रहेका छन्। पोखरा—३३ को भरतपोखरी र पोखरा—२१ को निर्मलपोखरी क्षेत्रमा अझै पनि सानो खैरो गिद्ध र डंगर प्रजातिका गिद्धले गुँड लगाएर बचेरा हुर्काउँदै आएका छन्। पोखरा—२२ पुम्दी, माछापुच्छे« गाउँपालिकाको लाहाचोक, घाचोक क्षेत्रको चट्टानी पहाडमा सेतो गिद्धले गुँड लगाउने गरेका छन्। हिमाली क्षेत्रका अग्ला चट्टानी पहाडमा हिमाली गिद्धले गँुड लगाउँछन्।
पोखरा बजारमा आजभोलि स्थानीय प्रजातिका गाई पाल्न छाडिएको छ। कृषि भूमि मासिने क्रम तीव्र छ। भएकोमा कृषि कर्मका लागि पालिने गोरुको ठाउँ पनि ट्याक्टरले लिएका छन्। योसँगै पोखरामा बजार क्षेत्रमा प्राकृतिक रूपमा गिद्धले पाउने आहारा कम हुँदै गएकै छ। पोखरा सहरभित्रका गिद्धको बासस्थान (घर) सिमलका रूख पनि ढल्दै गएका छन्। तर पनि पोखराका रैथाने गिद्ध पोखराबाट डेक चलेका छैनन्।
अझै पनि पोखराको आकाशमा सहज रूपमा गिद्धको हुल देखिन्छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले स्थानीयको घरबस्तीसहितको जमिन अधिग्रहण गरेपछि घर, आँगन, छरछिमेक, थाकथलो छाडेर केही स्थानीय अन्यत्र जान बाध्य भए। तर गिद्ध भने आफ्नो चरन क्षेत्रमा विमानस्थल बनेपछि पनि थाकथलो छाड्न सकेका छैनन्।
चराको गतिविधि कम गर्न विजयपुर खोला, सेती नहरलगायत खुला ठाउँमा सिनोजन्य फोहोरलगायत कुनै पनि फोहोर फाल्नेलाई कडा कारबाही गरिने र निगरानीसमेत छिट्टै सुरु गरिने पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए।