स्ववियु निर्वाचन स्थगित गरेपछि क्याम्पस प्रमुखलाई भौतिक कारबाही गर्ने चेतावनी

ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुखलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन्।
वीरगन्ज: स्ववियु निर्वाचन स्थगित गरेपछि ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुखलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन्। क्याम्पसका विभिन्न विद्यार्थी नेताले क्याम्पस प्रमुख डाक्टर उमेश चौरसियालाई भौतिक कारबाही गर्ने चेतावनी दिएका हुन्।
ठाकुरराम क्याम्पसमा चैत ८ गतेलाई तय भएको स्ववियु निर्वाचन मतदाता नामावलीको विषयमा विवाद भएपछि सर्वदलीय बैठकले निर्वाचन स्थगित गरेको छ। निर्वाचन स्थगित भएपछि विद्यार्थी संगठन क्याम्पस प्रमुखको विरोधमा उत्रिएका हुन्।
बुधबार प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा क्याम्पस प्रमुख र राजनीतिक दलका नेतासहितको बैठकले विवाद बढ्दै गएको निष्कर्षसहित चैत ८ को निर्वाचन स्थगित गरी जेठ १३ गते गर्ने निर्णय गरेको छ।
निर्वाचन स्थगित भएपछि आक्रोशित विद्यार्थी नेताले बुधबार दिउँसो क्याम्पसमै पत्रकार सम्मेलन गरी क्याम्पस प्रमुख चौरसियालाई भौतिक कारबाहीको चेतावनी दिएका हुन्।
पत्रकार सम्मेलनमा स्वतन्त्र समूहका नेता सुधिर पटेलले क्याम्पस प्रमुख चौरसियाले आफू निकटका विद्यार्थी समूह चुनावमा हार्ने डरले चुनाव स्थगित गराएको आरोप लगाए। उनले भने, 'चैत १० गते भित्र निर्वाचन भएन भने कि क्याम्पस प्रमुखले राजीनामा दिनुपर्छ नत्र मेरै नेतृत्वमै क्याम्पस प्रमुखलाई भौतिक कारबाही हुन्छ। हामी कालोमोसो पनि दल्छौँ।'
नेविसंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका पटेल मंसिर ४ को निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।
पटेलले ठाकुरराम क्याम्पसमा नेविसंघ, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत सबै दलीय संगठनमा गुटउपगुट भएकाले जित्ने अवस्थामा नआउँदा माउ पार्टीका नेताको निर्देशमा क्याम्पस प्रमुखले निर्वाचन स्थगित गराएको आरोप लगाए।
उनले भने, 'दलका हरेक विद्यार्थी संगठनमा दुई/तीन गुट छन्। त्यसैले हारिन्छ भन्ने डरले सताइरहेको छ। आफू नजित्ने परिस्थिति भएपछि चुनाव नै स्थगित गराइएको हो। यसो हुनुहुँदैन।'
क्याम्पस प्रमुखले चाहेमा चैत ८ देखि १० गते भित्रमा चुनाव गराउन सक्ने उनले बताए। चुनाव भाँड्न निर्वाचन अधिकृत रोशन लामिछाने र परीक्षा शाखाका कर्मचारी मोहन यादव पनि संलग्न भएको उनको आरोप छ।
प्रतिक्रिया दिनुहोस !
