दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाद्वारा ठूलो क्षेप्यास्त्र प्रहार

उत्तर कोरीया : दक्षिण कोरिया र जापानका शीर्ष नेताहरुको ऐतिहासिक शिखर वार्ता हुनुभन्दा केही घण्टा अगाडि उत्तर कोरियाले इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेको छ ।
जापान र दक्षिण कोरिया दुवैका अधिकारीहरूले यो मिसाइल प्रक्षेपण भएको पुष्टि गरेका छन्। बिहीबार बिहान प्रहार गरिएको मिसाइल करिब एक हजार किलोमिटर पर जापानको पश्चिममा समुद्रमा खसेको थियो ।
दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाको पूर्वी तटबाट स्थानीय समय बिहान ७:१० मा मिसाइल प्रक्षेपण गरिएको थियो।
जापानको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र आईसीबीएम भएको स्वीकार गरेको छ । मन्त्रालयले करिब ७० मिनेटमा ६ हजार किलोमिटरभन्दा बढी उडान गरेको जनायो। मिसाइलको फायरपावर अमेरिकासम्म पुग्ने रहेको बताइएको छ ।
पछिल्लो एक हप्तामा उत्तर कोरियाले गरेको यो चौथो मिसाइल प्रक्षेपण हो । यद्यपि बाँकी मिसाइलहरू छोटो दूरीका थिए।
कोरियाली प्रायद्वीप नजिक अमेरिका र दक्षिण कोरियाबीच जारी नौसेना अभ्यासको बीचमा उत्तर कोरियाले यो कदम चालेको हो । उत्तर कोरियाले धेरै पटक यस्तो कार्यलाई युद्धाभ्यास उक्साउने कामको रूपमा हेरेको बताएको छ।
तर, दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले यो मिसाइल प्रक्षेपणपछि अमेरिकासँगको यो संयुक्त अभ्यास जारी रहने बताएका छन् ।
उनले उत्तर कोरियाले आफ्ना यस्ता कार्यका लागि भागिदार हुनुपर्ने बताएका छन्।
बिहीबारको मिसाइल प्रक्षेपणपछि दक्षिण कोरिया र जापानले पनि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने घोषणा गरेका छन् । बीबीसी
प्रतिक्रिया दिनुहोस !
