बिरामी हुँदा उपचार गर्ने ठाउँ छैन। सवारीसाधन नहुँदा स्वास्थ्यचौकी नपुग्दै ज्यान जान्छ। भोक लाग्दा खाने अन्नसमेत छैन। त्यसैले गीतकार लेख्छन्, खुसी लैजा तेरो सहर..
सुन ओेछ्याई नुन बोक्ने कर्णालीको पिर
सहरले सुख खोज्छ। सहरमा बस्ने मानिस सौखिन हुनु स्वाभाविक नै हो। सहरका मानिसको रहर पूरा गर्न गाउँमा बस्नेहरू रातदिन खटिरहेका छन्। काम गरिरहेका छन्। प्राकृतिक सुन्दरताको हिसाबले अत्यन्तै सुन्दर छ कर्णाली। देवभूमि अनि पुण्यभूमि पनि। भौगोलिक विकटताको अभावले कर्णालीवासीलाई सदैव पिरोलिरहन्छ। दुखाइरहन्छ। कहिले नदी तर्दा तुइन चुँडिएर कर्णालीवासीको निधन हुन्छ त कहिले झाडापखाला लाग्दा सिटामोलसम्म नपाएर। बिरामी हुँदा उपचार गर्ने ठाउँ छैन। सवारीसाधन नहुँदा स्वास्थ्य चौकी नपुग्दै ज्यान जान्छ। कति भने भोक लाग्दा खाने अन्नसमेत छैन। त्यसैले गीतकार लेखराज गिरी लेख्छन्, खुसी लैजा तेरो सहर दुःख दे गाउँतिर।
गिरीको यो गीत सुनिन थालेको करिब दुई वर्ष भयो। दाङका उनी आफ्ना रचना सार्वजनिक गरिरहेका छन्। स्कुले बेलादेखि नै उनले साहित्य कोरिरहन्थे। उनले कोरेका रचनाहरू केही भावना बने, केही गजल बने त केही निकै सुन्दर गीत बने। उनी जे लेख्छन्, मान्छेको मनलाई छुने हिसाबमा लेख्छन्। यस्तै, एकपटक भूभागमा बस्ने समस्त नेपालीको दुःखलाई उनले गीतको विषय बनाए। अनि कहिले जातीय विभेदका कारण शदियौंदेखि पीडा भोगिरहेको समुदायको कथा लेखे। उनका गीतमा समाज बोल्छ। त्यस्तो समाज जसभित्र अन्याय, अत्याचार र विभेदले थलिएका समुदाय पर्छन्।
देउडा गीतमा मायाको हेराइ हुन्छ, प्रकृतिको वर्णन त्यही मायालु हेराइबाट निस्किएकाले गीतहरू वनमा काम गर्न जाँदा छताछुल्ल पोखिने गर्छन्। त्यसैले घर गीतभन्दा वन गीतमा रस हुन्छ, जसले मनलाई सिञ्चित गर्छ।
एक वर्ष अगाडि रेलको बाटो नामक गीत सार्वजनिक गरेका थिए उनले। यही पहिलो गीतले नै उनलाई लेखराज गिरी भनेर चिनाउन सफल भयो। उनको गीतमा खास केही त पक्कै छ। जसले मानिसको पीडा भन्छ। गीतसँगै उनले मानिसका संवेदना पोख्छन्। शब्दसँगै एउटा दुःखद् कहानी कोर्छन्। र त बन्ने गर्छन् यति सुमधुर कर्णप्रिय गीत...
मन्दिर बन्यो, मूर्ति बन्यो मेरै हात आरनले
त्यही मन्दिरमा पस्न पाइनँ म जातकै कारणले...।
झट्ट सुन्दा सामान्य लाग्ला। तर जात फरक भएकै कारण कथित एक जातले अर्को जातमाथि विभेद गर्नु, ऊचोनिच र छोइछिटो गर्नु कुनै पनि बहानामा क्षम्य छैन। मानिसबीच भएको यो विभेदले गीतकार लेखराज गिरीको मन रुन्छ। अत्तालिन्छन्। विभेदका कहानी सुन्न मन नै छैन उनलाई। दुःख, अभाव र पीडाका कथा कोट्याउने मन पनि उनीसँग छैन।
भन्छन्, ‘मान्छे मान्छेबीचको यो कहालिलाग्दो विभेद अत्यन्तै पीडादायक छ। उपल्लो जातको युवतीसँग प्रेम गरेकै निहुँमा रुकुममा हत्या गरिएका नवराज विकको समूह होस् या दलित युवाको दुःखद् अन्त्य जसको वर्षौंदेखि अस्पतालको शवगृहमा अलपत्र छ। जातकै कारण सिर्जना भएका घटना पनि जात बोलको गीतमा उनले समेटेका छन्–
कुन समाजमा जन्मायौं आमा तिम्रो पिर कसैले घटाएन
कुकुरसँगै सुताउने समाजमा तिम्रो छोरो पिँढीमा अटाएन।
विभेदका रूपहरू अनेक छन्। जनावारलाई भान्सामा राख्ने मानिस, फरक जात भएकै कारण अर्को मानिसले छोएको पानी नपिउनेसम्म। त्यसैले गीतकार गिरी सबैसँग आग्रह गर्छन्– चल्छ सीप, पैसा र जोवन, मैले छँुदा छोइन्छ नभन। अभावका गाँस निल्दै दुःखका सुस्केराहरूलाई गीत
गाएरै स्कुले जीवन सकाए। सुखका सपनामा अनेकौं हण्डर खाए, अनि दुःखका पहाड उक्लिए। यसैले त उनलाई छुने गर्छ, मान्छेका भोगाइले।
पीडा, क्रन्दन अनि रोदनका कहानीहरूले रुवाउने गर्छ। छट्पटी दिन्छ। उनी सुरक्षा क्षेत्रका सरकारी कर्मचारी हुन्। जागिरकै सिलसिलामा अनेक ठाउँ पुगे। गाउँगाउँ डुले र संवेदनाहरूसँग भिजे। सुत्केरी हुन नसकेर बाटोमै ज्यान फालेका दिदीबहिनी भेटे। ‘नुनको भारी’ गीतमा उनले लेखेका छन्–
आकाशमै उड्ने गाडी चढाउँ म के गरी ?
मेरी प्यारी मर्छिन् होली गाउँमै थला परी...
गीतकार कल्पना गर्छन्, बाटो नै नपुगेको हुम्लामा अरू के नै पुगेको होला ? ज्वरो आउँदा खाने सिटामोलको अभावमा मान्छेले प्राण त्यागेको समाचार हेर्छन्। अस्पतालको अभावमा उपचार नपाएर ढलेका युवाको कथा सुन्छन्। परिवारको गाँस जुटाउन खाडी पसेको भाइको दुःखले छट्पटिन्छन्। अनि अरबको गर्मीमा भेडा चराउँदै गरेको दाजुको पसिना सम्झेर गीत कोर्छन्।
पेट भर्नकै लागि सडकमा छरिएको खाना खोज्दै हिँड्ने बालबालिकाको बाध्यताले उनलाई बेचैन बनाउँछ। उनी भन्छन्, ‘संसारमा सबैभन्दा ठूलो रोग, अनि दुःख भनेकै भोक हो। भोक लागेको बेलामा खाना खान पाउनु सबैभन्दा सन्तुष्टि हो।’ ‘भोक’ बोलको गीतमा उनी भन्छन्–
भोक लाग्दा खाना पाए, जाडो हुँदा नाना पाए
ए दुनियाँ किन्छौ भने म आफैंलाई बेचिदिन्थें
घाम–पानी ओत्ने छाना पाए...।
आफ्नै रचनाको प्रतिस्पर्धी ठान्ने गीतकार गिरीको विचार नै पिछडिएको समाजले न्याय पाएको छ। जसरी गीत लेख्छन्, त्यसै भावमा डुबेर संगीत पनि भर्छन् र त गीतले न्याय पाएका छन्। ‘भोक’ बोलको शब्द र संगीत दुवै उनकै हो। लेख्छन्–
फालेको खाना मलाई दिनु भए लान्छु हजुर
भोलिका लागि जिउनु छ खुसी भै खान्छु हजुर
खानका लागि बाँचेका हौला तिमी सहरमा
बाँच्नलाई खाना माग्नु पर्छ मेरो गाउँघरमा...
गरिबीले मानिसलाई मागेर खान बाध्य बनाउँछ। पेट भर्नकै लागि फालेको खाना टिपेर खान बाध्य बनाउँछ। भोकको त्रासमा हिँडेको मानिस बाँच्नकै लागि जे गर्न पनि तयार हुन्छ। गीतकार भन्छन्, ‘सहरका मानिस गरिबलाई मान्छे भन्दैनन्। उनीहरूको रोदन अनि क्रन्दन र दुःख सुन्दैनन्।’ उनको शब्द/संगीतमा रेकर्डिङको प्रक्रियामा रहेको गीतमा मानवीय संवेदना उजागर गरिएको छ।
सबै मानिस एकै हुनुपर्छ। एउटै नियम ठूलालाई फरक र सानालाई फरक हुनुहुन्न। पद र पावरमा भएकाहरू नियम कानुन मिचेर आफूअनुकूल गर्ने गरेको देखेर उनलाई असैह्य हुन्छ। चित्त दुख्छ, रिस उठ्छ। यही परिवेशलाई उनले यसरी बनाए सबैका लागि गीत–
एउटै बाटो तिम्लाई खुल्ला मेरा लागि जाम भो
सँगै हिँड्न नपाइने यो कस्तो नियम कानुन हो ?
तिम्रो सवार तिम्रो बाटो तिम्रै रैछ सहर
बिरामीले जाममा बस्नु बाध्यता कि रहर ?
जनप्रतिनिधि सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति सबैलाई पद र शक्तिको उन्मादले सर्वसाधारण जे जस्तो हालतमा भए पनि सबै मौन हुन्छन्। कुर्सीमा पुगेपछि आफू उभिएको जमिन छोड्ने प्रवृत्तिका कारण दुःख पाइरहेका व्यक्तिलाई मलम लगाउन उनले ‘बाटो’ बोलको गीत पनि कोरेका छन्–
अस्पतालमा छैनन् डाक्टर न औषधिमुलो
जनताको ज्यानभन्दा तिम्लाई कुर्सी ठुलो...।