बाढीप्रभावित क्षेत्रमा चैते धान खेती

बाढीप्रभावित क्षेत्रमा चैते धान खेती
कैलालीको भजनीका किसानले रोपेको चैते धान। तस्बिर  परमानन्द पाण्डे
सुन्नुहोस्

टीकापुर : कैलालीको भजनी नगरपालिका–५ का बहादुर डगौराको एघार जनाको संयुक्त परिवार छ। 

कृषि उत्पादनकै भरमा घर चलाउँदै आएका उनको झन्डै तीन बिघाभन्दा बढी जग्गा पटक–पटक गरी कान्द्रा नदीले कटान गर्‍यो। बर्सेनि हुने डुबानले बाँकी रहेको जमिनको उत्पादन समेत पाउन मुस्किल छ। 

बाढीका कारण फल्नै आँटेको फाँटमा बालुवा पाटिन्छ त कहिले भित्र्याउने समयमा बाढीले बगाएर लैजान्छ। यही समस्याबाट गुज्रिरहेका डगौराका लागि चैते धान आम्दानीको मुख्य स्रोत बनेको छ। विगत १० वर्षदेखि हरेक फागुनमा उनले चैते धान लगाउने गरेका छन्। 

‘आफ्नो डेढ विघासहित अरुको ठेक्का र अधियाँ गरी १० बिघामा चैते धान लगाई रहेको छु’, डगौराले भने। ‘वर्षातका बेला लगाउने धान खेती हात पर्ने सम्भावना न्युन हुन्छ।’ 

उनले हिउँदे खेतीका रूपमा लगाएको गहुँ बाली पनि जंगली जनावरले खाइदिने गरेको बताए।
डगौराले परिवारको मुख्य आम्दानी नै चैते धान भएको छ। चैते धानबाट राम्रो आम्दानी हुने भए पनि बर्सेनि बढ्दै गएको डिजेल र मलखादको मूल्यले खेती लगाउन मुस्किल भइरहेको डगौराले गुनासो गरे। 

‘पानीका लागि डिजल चाहियो, मलखाद पनि बेमौसम भएको हुनाले पाइँदैन’ डगौराले भने। ‘यदि पानी र मलखादमा सहयोग हुने हो भने बाढी प्रभावित क्षेत्रका किसानका लागि चैते धान बरदान नै हुन्छ।’

भजनी नगरपालिका–८ की पार्वती चौधरीको परिवारसमेत विगत ६ वर्षदेखि चैते धान लगाउँदै आएको छ। भजनी नगरपालिकाको अधिकांश भाग कान्द्रा, मोहना र पथरैया नदीले घेरिएको छ। बाढीका कारण त्यहाँका किसानले धानबाली भित्र्याउन पाउने वा नपाउने कुनै टुंगो हुँदैन। 

उनको खेतीयोग्य जमिन वर्षामा तलाउ बन्छ। ‘वर्षामा हामीले रोप्न छोडेको त ६ वर्ष भइसक्यो, लगाएर पनि काम छैन, मल, बीउ, मेहनत सबै बाढीले बगाउँछ’ चौधरीले भनिन्। ‘४ विघामा यो फागुनमा चैते धान लगाउँछौं, असारमा भित्र्याउँछौं, वर्षामा खाली छोड्छौं, असोजमा तोरी लगाउँछौं, यसरी नै हाम्रो परिवार धानेका छौं।’

डगौरा र चौधरी मात्रै होइनन् बाढी प्रभावित भजनी नगरपालिका–३ र ८ का कृषकहरूका लागि मुख्य आम्दानीको स्रोत नै चैते धान बनेको छ। नगरपालिकाको वडा नं. १, २, ५, ६ समेत गरी भजनीमा मात्रै ६ शय बढी हेक्टरमा चैते धान खेती हुँदै आएको छ। 

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लाभरि यस वर्ष १ हजार १ सय हेक्टरमा चैते धान खेती लगाइएको छ। जयमध्ये ६ सय हेक्टर भजनी नगरपालिकामा मात्रै छ। 

भजनी नगरपालिकाका कृषि तथा पशु सेवा शाखा प्रमुख भेटनरी अधिकृत हरिलाल जैशीले बाढी प्रभावित क्षेत्र हुनाले चैते धान किसानका लागि आम्दानीको राम्रो स्रोत बनिरहेको बताए। 

‘हाम्रो नगरपालिकामा ११ हजार हेक्टर कृषियोग्य जमिन छ, वर्षायाममा झण्डै ३ हजार हेक्टर जमिन बाढीको समस्याका कारण बाँझो रहन्छ’ अधिकृत जैशीले भने। ‘यही जमिनमध्ये अहिले ६ सय बढी हेक्टरमा चैते धान खेती भइरहेको छ।’

बाढी प्रभावित क्षेत्रका किसानका लागि मुख्य आम्दानीको श्रोत बनिरहेको चैते धान खेती विस्तारका लागि नगरपालिकाले योजना बनाइरहेको जैशीले बताए। ‘कृषकका लागि डिजेल र मलखाद तथा बीउमा अनुदान दिने हो भने चैते धानखेती विस्तार गर्न सकिन्छ’, जैशीले भने। ‘नगरपालिकाले समेत चैते धान खेती विस्तारका लागि योजना बनाइ रहेको छ।’

चैते धान खेती बिस्तारका लागि कृषि ज्ञान केन्द्र कैलाली, विभिन्न स्थानीय सरकार र रानी, जमरा, कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमले समेत सहयोग गर्दै आइरहेको छ। 

जिल्लाको भजनी, टीकापुर, घोडाघोडी नगरपालिका र कैलारी, जोशीपुर, जानकी र बर्दगोरिया गाउँपालिकामा चैते धान लगाइन्छ। त्यसमध्ये वर्षामा डुबान हुने क्षेत्रमा चैते धान खेती भइरहेको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत रामनारायण चौधरीले बताए। 

‘बाढीले डुबान हुने क्षेत्रलाई चैते धानमा बढी प्रोत्साहन गर्ने गरिएको छ’ उनले भने,। ‘भजनी कैलालीको सबैभन्दा बढी चैते धान लगाउने पालिका हो। वर्षातमा बाढीले जलमग्न हुने भएकाले चैते धान विकल्पका रुपमा गर्ने गरिएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.