उपचार खर्च छैन, कम्मरमुनी चल्दैन
उषाको उपचारको लागि खेत बेच्दा पनि नपुगेपछि गाउँमा ऋण समेत गरेको उनकी श्रीमान् श्यामकुमार मानन्धरले बताए। मानन्धरले भने, ‘१२ लाखमा खेत बेचेँ, ६ लाख रुपैयाँ ऋण छ। पैसा आउने बाटो कही नभएपछि बिरामी घरमै राख्न बाध्य भएँ।’
रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिका–४ सीमपानीकी उषा मानन्धरको कम्मरमुनीको भाग चल्दैन। ६ वर्षअघि घाँस काट्ने क्रममा रुखबाट लड्दा मेरुदण्ड भाँचिएको थियो। १२ लाख रुपैयाँ खर्चेर मेरुदण्डको शल्यक्रिया गरिएपनि कम्मरमुनिको भाग नचलेपछि उपचार खर्च अभावमा मानन्धर छटपटाई रहेकी छिन्।
चिकित्सकको सुझावअनुसार तीन महिना थेरापी पनि गराइन्। त्यसपछि पैसाको अभावमा थेरापी गराउन सकेकी छैनन्। ३ महिनाको थेरापीपछि वैशाखीको सहारामा मुस्किलले घर बाहिर र भित्र गर्नसक्ने भइन् उनी। तर, अझै कम्मर मुनिको भाग चल्दैन। दिसा, पिसाब लागेको महसुस हुने तर द्वारबाट बाहिर गएको थाहा नहुने भएकाले पाइपको माध्यमबाट निकाल्ने गरिएको उनले बताइन्। ‘दिसा, पिसाब लागेको महसुस हुनसाथ भाँडा थापिहाल्नु पर्छ नत्र कपडामै जान्छ’, मानन्धरले दुखेसो पोखिन्।
दुई वर्षसम्म त सुतेको ठाउँबाट दाँयाबायाँ पनि चल्न सक्दैन थिइन् उषा। अहिले वाकरको सहारामा घर भित्र र बाहिर गर्नसम्म सक्ने भएकी छन्। खर्चको अभावमा थेरापी गराउन छाडेको लामो समय भइसकेको छ। नियमित थेरापी गराउन पाए कम्मर मुनिको भाग चल्ने आशा अझै मरेको छैन उषाको। घरको एकजना नियमित उषाको हेरचाहमा खटिइनु पर्छ। उषाका श्रीमान् मेलापात जाँदा ८४ वर्षीय ससुरा देवनारायण मानन्धरले उनको हेरचाह गर्दै आएका छन्। ‘छोरा बुहारीले अफ्नो हेरचाह गर्नुपर्ने बेलामा उल्टै बुहारीको स्याहार गर्नु परेको छ’, देवनारायणले गहभरी आँसु पार्दै भने, ‘मलाई कालले पनि लादैन, मर्न पाए, बुहारीको दुःख त देख्नु पर्ने थिएन।’
उषाको उपचारको लागि खेत बेच्दा पनि नपुगेपछि गाउँमा ऋण समेत गरेको उनकी श्रीमान् श्यामकुमार मानन्धरले बताए। मानन्धरले भने, ‘१२ लाखमा खेत बेचेँ, ६ लाख रुपैयाँ ऋण छ। पैसा आउने बाटो कही नभएपछि बिरामी घरमै राख्न बाध्य भएँ।’
उपचार गर्न पाए अझै पनि ठीक हुने आशा छ तर उपचार गर्ने पैसा नै छैन उनले गुनासो गरे। ‘बिरामी आफैंले खाना बनाएर खान सक्ने र शौचालय जान सक्ने मात्र भएपनि म काम गरेर ऋण तिर्ने थिएँ’, उनले भने।
उषालाई ठीक हुन लामो समय थेरापी गर्नुपर्ने भएकाले छिमेकीको सहयोगबाट मात्र उपचार सम्भव नभएको छिमेकी उषाकुमारी गिरीले बताइन्। उषाको उपचारको लागि सहयोग गरिदिन सरकार र सहयोगिहरूमा उनले अपिल समेत गरिन्। हिउँदभरी इटा भट्टामा काम गरेर जीविकोपार्जन गर्दै आएका मानन्धर परिवारलाई अहिले बिहान बेलुका छाक टार्नसमेत धौधौ परेको छ। उषाको उपचार खर्च जुटाउन १ रोपनी खेत बेचेपछि बाँकी खेत बारीको उब्जनीले तीन महिना पनि खान नपुग्ने छिमेकी गिरीले बताइन्।