पर्यटक तान्दै पटिहानी
चितवन : कलकल बगेको राप्ती नदी, चराचुरुंगीको चिरबिर आवाज। शान्त वातावरण, सूर्यास्तको लोभलाग्दो दृश्यले पटिहानी पुग्ने पर्यटक लोभिने गर्छन्। नदी किनारमा घाम ताप्दै गरेका गोहीको दृश्यले जो कोहीलाई मोहित बनाउँछ। चितवन राष्ट्रिय निकुञ्ज छेवैमा रहेको पटिहानीले अहिले आन्तरिक मात्रै होइन बाह्य पर्यटकलाई पनि आकर्षित गरेको छ। पटिहानी पुग्ने पर्यटक भन्छन्, ‘यहाँ आएपछि त दोहोर्याएर आउन मन लाग्छ।’
पर्यटक निकुञ्जभित्रको होटल बन्द भएपछि चितवन आउन छोडेका थिए। अहिले शान्त वातावरणको पर्यटन मन पराउने पाहुना पटिहानीमा आकर्षित हुन थालेका छन्।
पर्यटन प्रवद्र्धन गर्न पर्यटन व्यवसायी र स्थानीयको सक्रियता बढेपछि पर्यटकीय योजना अघि बढाएको वडाध्यक्ष विष्णु महतोले बताए। ‘शान्त माहोलमा रमाउन चाहने पर्यटकको संख्या अहिले बढ्न थालेको छ। महँगा पर्यटक अहिले हाम्रोमा बढी आउँछन्। पहिला हामी प्रचार गथ्र्यौ अहिले उनीहरूले आफैं गरिदिन्छन्,’ उनले भने, ‘पर्यटन बोर्डमा इको इन्ट्री प्वाइन्ट अझै पनि सौराहा देखिन्छ। त्यसलाई अब पटिहानी मेघौली जगतपुुरमा किन बिस्तार नगर्ने ?’
पर्यटनमा ख्याती कमाएको सौराहा कोलाहल बन्दै गएपछि पर्यटक पश्चिम चितवनमा केन्द्रीत छन्। ‘पटिहानीलाई ‘ब्रान्डिङ’ गर्न लागेका छौं,’ स्थानीय व्यवसायी दिपक पौडेलले भने ।