रातु खोला किनारमा मोक्षधाम

रातु खोला किनारमा मोक्षधाम

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिकास्थित रातु खोलाको किनारमा मोक्षधाम निर्माण गरिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषा र महोत्तरी जोड्ने रातुपुल नजिकै शवदाह स्थलसहितको मोक्षधाम निर्माण गरिएको हो।

२०६७ साल मंसिर १५ गते स्थानीय वयोवृद्ध पूर्णप्रसाद पौडेलको हातबाट शिलान्यास भएको मोक्षधामको निर्माण कार्य अन्तिम चरणमा पुगेको रातुठाकुर मोक्षधाम व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाले जानकारी दिए।

३० वर्षअघि एउटा कारुणिक घटनाले पिरोलिएका देवकोटाले आफ्नो अग्रसरतामा मोक्षधाम बनाएका छन्। 

महोत्तरीको बर्दिवास नगरपालिका-१ स्थित रातुखोलाको किनारमा ५ विघा ७ कठ्ठा जग्गामा रातुठाकुर मोक्षधाम निर्माण गरेका हुन्। ९ सदस्यीय रातु ठाकुर आर्यघाट निर्माण समिति बनाएर मोक्षधाम निर्माण थालिएको थियो।

त्यो कारुणिक घटना

महोत्तरीको बर्दिवास नगरपालिका-१ का ७० वर्षीय देवकोटा ३० वर्षअघि रातु खोलामा मलामी पुगेका थिए। आफ्नै नजिकका साथी बासुदेव अधिकारीका बुवाको निधन भएपछि अन्त्यष्टीका लागि उनी त्यहाँ पुगेका थिए। साउनको महिना, कालो बादल मडारिएका थियो। 

मौसमको चुनौतिका बीच मलामी पुगेका स्थानीयहरू खोलामा दाहसंस्कारका लागि हतार हतार तयारी गरिरहेका थिए। तर, क्षणभरमै रातुखोलामा आएको भीषण बाढीले शव हालेको चित्ता तहसनहस बनाइदियो। 

बाढी छलेर ज्यान जोगाएका मलामीहरू त्यतिबेला शवको दाहसंस्कार समेत गर्न पाएनन्। बाढीले बगाएको शव दुई दिनपछि महोत्तरीकै भंगहाको मेघनाथ गोरहन्नास्थित खोलामा भेटियो। त्यसपछि शवको उद्धार गरेर परिवारजन तथा आफन्तहरूले अन्तिम दाहसंस्कार गरेका थिए।

त्यही पीडादायी घटनाले मोक्षधाम बनाएको देवकोटा बताउँछन्। निर्माणाधीन मोक्षधाम परिसरमा मन्दिर तथा शवदाह स्थल, प्रतिक्षालयलगायतको संरचनाहरू निर्माण गरिएको उनले बताए। आगामी बैशाखभित्रमा मोक्षधामको उद्घाटन गरेर सञ्चालनमा ल्याउने गरी तयारीमा जुटेको अध्यक्ष देवकोटाको भनाइ छ।

देउसीको पैसाले शिलान्यास

बाढीले शव बगाएको पीडाले देवकोटालाई मोक्षधामको योजनाले उनलाई उकुसमुकुस बनाइरह्यो। सामाजिक काममै लगानी गर्न २०६७ सालमा बर्दिबासमा देउसी खेल्न एउटा समूह बन्यो। 

सामाजिक काममा अग्रसर देवकोटाकै नेतृत्वमा ३० जनाको समूह बनेको थियो। देउसी खेल्दा उठेको पैसाबाट चिया पनि नखाने उनीहरूमा समझदारी भएको थियो। त्यतिबेला उनीहरूले बर्दिबासमा तीनदिनसम्म देउसी खेलेर १३ हजार रुपैयाँ जम्मा गरे। 

जम्मा भएको पैसा सामाजिक काममा सदुपयोग गर्न देउसो समूहको भेला बस्यो। उक्त भेलामा सबैले आआफ्नो राय सुझाव दिए। अधिकांशको सुझाव किरियापुत्री, पितृ मोक्षालय बनाउने नै थियो। 

ती सबै प्रस्तावले देवकोटालाई उत्साहित बनाइरहेको थियो। मोक्षधाममा बनाउने आफ्नो योजना अब सकारात्मक रूपमा अगाडि बढ्नेमा देवकोटा ढुक्क भए। उनले पनि भेलाको अन्तिममा रातुखोलाको किनारमै मोक्षधाम बनाउने प्रस्ताव राखे। देवकोटाको प्रस्तावका कसैले इन्कार गरेनन्। 

उनको प्रस्तावमा समर्थन जनाउँदै भेलामा सहभागी सबैले ताली बजाइदिए। त्यही देउसीको १३ हजार रुपैयाँले शिलान्यास गरिएको देवकोटा सम्झन्छन्। देउसे समूहको भेलालगत्तै शिलान्यास भयो। त्यतिबेला १३ हजार रुपैयाँ मोक्षधामको योजना अगाडि बढाउन निकै बल गर्‍यो,’ खुशी हुँदै देवकोटाले भन्छन्।

त्यतिबेला देउसी खेल्नेमा देवकोटासँगै बर्दिबासका बासुदेव अधिकारी, पूर्णप्रसाद पौडेल, ओम प्रसाद घिमिरे, चम्पहरी पौडेल, दुर्गा प्रसाद सापकोटा, रत्नप्रसाद पौडेल, अर्जुन खड्का, देवीप्रसाद गौतम, थानेश्वर कोइराला रहेका थिए। 

देउसे समूहमै रहेका भोला घिमिरे, कृष्णप्रसाद न्योपाने, अम्बिका पौडेल, तीर्थराज पोखरेल, कृष्ण बहादुर कार्की, रोशन हमाल, कुलप्रसाद काफ्ले, लोकनाथ भट्टराई, चित्राखर न्यौपाने, हिराप्रसाद काफ्ले, देवी प्रसाद भट्टराई, प्रेमप्रसाद न्यौपाने, गोपाल प्रसाद भट्टराई, रुद्र बहादुर खड्का, दिल बहादुर थापा, सिताराम फुयाल, इन्द्र हरी बराल, दुर्गा प्रसाद ढुंगेल, रामजी शाही र उत्तम खड्कालाई पनि योगदान कदरयोग्य रहेको देवकोटा बताउँछन्।

सहयोगमै झण्डै दुई करोडको संरचना

निर्माण कार्य अन्तिम चरणमा रहेको निर्माणाधिन रातु ठाकुर मोक्षधाम परिसरमा सहयोगकै भरमा झण्डै दुई करोड रुपैयाँको संरचना तयार भएको छ। 

मोक्षधाम परिसरमा चारकोठे भवन, रातु ठाकुर मन्दिर, शिव मन्दिर, मलामीका लागि प्रतिक्षालय, साधुसन्तका लागि कुट्टी, पानी टंकीलगायतका संरचनाहरू बनाइएको छ। त्यस्तै पाँचवटा व्यवस्थित शवदाह स्थल निर्माण गरिएको अध्यक्ष देवकोटाले बताए। शवलाई व्यवस्थापन गर्न उच्चतम प्रबन्ध मिलाईएको देवकोटा बताउँछन्। 

शवलाई नुहाई धुवाई गर्न ३६५ दिन पानी बग्ने व्यवस्था भएको शवदाह स्थल निर्माण गरिएको उनको भनाइ छ। किरियापुत्री र मलामीलाई छुट्टाछुट्टै पानी धाराको व्यवस्था छ। ठाउँठाउँमा पानीको प्रशस्त व्यवस्था छ। पर्याप्त पानीको लागि १ लाख ५० हजार लिटर पानीटंकी बनाएका छौं,’ उनले भने।

मनकारी व्यक्ति र संस्थाको सहयोगबाट यी संरचनाहरू तयार भएको उनले बताए। मोक्षधाममा यसवर्ष मात्रै साढे ६ लाख रुपैयाँ सहयोग प्राप्त भएको उनको भनाइ छ। ‘करिब १२ वर्षदेखि मोक्षधाम निर्माणाधिन अवस्थामा छ। तर, यसवर्ष मात्रै स्थानीय सरकारले सहयोग गरेको छ,’ देवकोटाले भने। मोक्षधाममा किरियापुत्री घर, सुन्दर र रमणिय बगैँचा निर्माण र दाउराको डिपो बनाउने योजना रहेको देवकोटा बताउँछन्।

७० वर्षमा पनि साहासिक जोश

जस्तोसुकै परिस्थितिमा सामाजिक काममा अग्रसर हुन्छन्, देवकोटा। ७० वर्षको उमेरमा पनि समाजसेवा गर्ने हुटहुटीले उनमा साहासिक जोश देखिन्छ। उनले मोक्षधामको योजना निर्माणअघि सार्वजनिक चौतारा, बस विसौनीलगायतका सामुहिक काममा मुख्य भूमिका निर्वाह गरिसकेका छन्।

उनले आफ्नै पहलमा बर्दिबासमा सर्पदंश उपचार केन्द्र निर्माण गरेका छन्। रेडियो नेपालले उपलब्ध गराएको बर्दिबासस्थित प्रसारण केन्द्रको मातहतमा रहेको १० धुर जग्गामा सर्पदंश उपचार केन्द्र निर्माण गरेका हुन्। 

null

बाँचुन्जेल सामाजिक कार्यमा सक्रिय रहिरहने देवकोटा बताउँछन्। ‘मलाई समाजसेवा गर्न बडो आनन्द आउँछ। सर्पदंशका बिरामी उपचार पाएर घर फर्किदा म अत्याधिक खुशी हुन्छु,’ देवकोटा भन्छन् ‘सेवा नै धर्म हो भन्ने मान्यताले अघि बढिरहेको छु। मनकारीहरूले सहयोग गरेर झन् जोश बढाइदिनुहुन्छ। सबैलाई सहृदयन नमन गर्न चाहान्छु।’

सांस्कृतिक तथा पर्यटन प्रर्वद्धन समिति बर्दिबासका सचिव नारायण घिमिरेले रातुखोलाको छेउमा निर्माणाधीन मोक्षधामले बर्दिबासको पर्यटन प्रर्वद्धन गर्न राम्रो महत्व बोक्ने उल्लेख गरे। 

मोक्षधामलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहलप्रयास गर्ने पनि बताए। ‘यसलाई मधेसकै फुलवारीको रूपमा प्रयोग गर्ने हाम्रो सोच छ,’ सचिव घिमिरे भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.