आज चैते दसैं : बागलुङको कालिका मन्दिरमा दर्शनार्थीको भीड
बागलुङ : चैते दसैंको अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा बुधबार दर्शनार्थीको भीड लागेको छ । चैते दसैंको दिन (आज) बिहानैदेखि मन्दिरमा दर्शनार्थीको भीड लागेको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
चैते दसैंका अवसरमा छिमेकी मुलुक भारतसहित,देशभरका विभिन्न क्षेत्रबाट समेत मन्दिरमा दर्शनार्थी आएको अध्यक्ष खड्काले बताए । उनले चैत्राष्टमीमा भक्तजन पूजाअर्चनाका लागि मन्दिरका ३ वटै ढोका खुल्ला गरिएको बताए ।
मन्दिरमा भक्तजनको भीड लागेपछि व्यवस्थापन चुस्त पारिएको अध्यक्ष खड्काले बताए । ‘चैत्राष्टमीमा हरेक वर्ष मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ,'अध्यक्ष खड्काले भने,‘अघिपछि एउटा मात्रै ढोकाबाट पुजाअर्चना गर्ने गरिए पनि चैत्राष्टमीमा तीनवटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ ।’
मन्दिरमा भक्तजनको सुरक्षा र व्यवस्थापनको लागि ३५ बढी कर्मचारी खटाइएको छ । कालिका मन्दिरमा पछिल्लो समय भारतीय भक्तजन बढि आउने गरेको अध्यक्ष खड्काले बताए । कालिमा मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ । पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ ।
गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको बागलुङ कालिकामा पुजाअर्चना गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ देशभरका हिन्दु धर्मावलम्बी मन्दिरमा आउने गर्दछन् । चैत्राष्टमीको अवसमार गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको आयोजना गरेको छ । मेला १७ गतेसम्म चल्नेछ ।