रौतहटको विभिन्न स्थानमा आगलागी,एक बालिकाको मृत्यु,करोडौंको धनमाल जलेर नष्ट
रौतहट : रौतहटमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ भने एक करोडभन्दा बढिको धनमाल जलेर नष्ट भएको छ। विभिन्न स्थानमा आगलागी हुँदा एक करोडभन्दा बढिको धनमाल नष्ट भएको र एक बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ।
इशनाथ नगरपालिका-६ स्थित स्थानीय मोजिबुल रहमानको घरमा आगलागी हुँदा उनकी ११ वर्षीया छोरी रजिया खातुनको जलेर मृत्यु भएको थियो । इशनाथ नगरपालिका ६ मा आगलागी हुँदा सुतेकै अवस्थामा जलेर बालिकाको मृत्यु भएको थियो ।
उनकी ११ वर्षीया छोरी रजिया खातुन घरमा सुतेको अवस्थामा जलेको अवस्थामा भेटिएको रौतहट प्रहरीले जनाएको छ । आगलागीबाट रहमानको पशु चौपाया,फुसको घर जलेर लाखौंको धनमाल नष्ट भएको थियो ।
रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ३ सखुअवामा रहेको रिद्धिसिद्धि प्लाई बोड उद्योगमा विद्युत सर्ट भइ बिहीबार बिहान करिब २ बजे आगलागी हुँदा उद्योगका सामान जलेर नष्ट भएको हो।
नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना र गौर नपाको बारुण यन्त्रको मद्दतले आगो नियन्त्रणमा लिन करिब ४ घण्टा समय लागेको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक दिनेश कुवरले बताए ।
रिद्धिसिद्धि प्लाइ बोडमा रहेको बीस लाख मूल्य बराबरको दुईवटा जेनरेटर, ६३ लाखको फेस भिनियर र कोर भेनियर प्लाई, ५० हजारको दाउरा, दुई लाख ५० हजारको घर गरी करिब ८६ लाखको सम्पत्ती जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
यसैगरी गौर नगरपालिका वडा नम्बर ४ सोवर्ना माईस्थित मुनिफ मियाले सञ्चालन गरेको मुनिफि पोल्ट्रि फर्ममा बुधबार राति ९ आगलागी हुँदा पोल्टीफर्म पूर्णरुपमा जलेर नष्ट भएको छ । कुखुराको चल्ला,कुखुराको दाना, कुखुरालाई खुवाउने औषधिलगायतका सामान जलेर नष्ट हुँदा करिब २३ लाख मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको प्रहरी निरीक्षक कुवरले जानकारी दिए ।
यसैगरी गौर नपा ३ मचकुटियामा बुधबार साँझ चन्दन साहको खरले छाएको फुसको घरमा खाना पकाउन बालेको आगो सल्केर आगलागी हुँदा घरमा रहेका भाडाकुँडा, खाद्यान्न,लत्ताकपडा गरी २ लाख ५० हजार मूल्य बराबारको सम्पत्ती नष्ट भएको थियो ।
बुधबार राति र बिहीबार रौतहटको तीन स्थानमा भएको आगलागीबाट १ करोड १२ लाख भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।