जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्न महायज्ञ
दोलखा : दोलखाको शैलुङ गाउँपालिका-७ चर्नावती धाममा निर्माण सम्पन्न भएको जेष्ठ नागरिक सेवा केन्द्र भवन सञ्चालनका लागि महायज्ञ लगाउने तयारी गरिएको छ।
चर्नावती त्रिवेणी विकास तथा प्रवर्द्धन संघले निर्माण सम्पन्न गरेको जेष्ठ नागरिक सेवा केन्द्र नयाँ आर्थिक वर्षबाट सञ्चालन गरिने संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले बताए।
धामस्थित चर्नावती सामुदायिक वनको ४० रोपनी खाली पर्ती जग्गामा जेष्ठ नागरिक सेवा केन्द्रसहित विभिन्न संरचना निर्माण भइरहेको उनको भनाइ छ।
पक्की तीन तले जेष्ठ नागरिक सेवा केन्द्रमा १६ वटा आवास कोठा, एउटा भान्सा कोठा, तीन वटा हल र पाँच वटा शौचालय कोठा रहेको संघका सचिव रामेश्वर उप्रेतीले बताए।
जेष्ठ नागरिक सेवा केन्द्रमा ४८ जनासम्म जेष्ठ नागरिक बस्न सक्ने संघका सचिव उप्रेतीको भनाइ छ। पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलको विशेष पहलमा महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत प्राप्त झण्डै तीन करोड रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो।
धाममा बनेको जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा सबैले सहयोग गर्नुपर्ने संघका सल्लाहकार तथा समाजसेवी शोभित उप्रेतीले बताए।
सेवा केन्द्र सञ्चालनको उद्देश्यले आयोजना गरिने महायज्ञका लागि बरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ।
समितिमा शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, पूर्व अध्यक्ष भरत दुलाल लगायत रहेका छन्। धाममा महायज्ञ सम्पन्न गरेपछि सेवा केन्द्र सञ्चालन गरिने बरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताए।