यसरी निर्माण हुँदैछ बजेट

यसरी निर्माण हुँदैछ बजेट

मन्त्री नहुँदा चैत १ देखि नै बजेट लेखनसम्बन्धी काम अघि बढ्न सकेको थिएन। नीति तथा कार्यक्रम वैशाख मसान्तअघि नै पारित गरी जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्छ।

काठमाडौं : अर्थ मन्त्रालयले नयाँ राजनीतिक नेतृत्व पाएसँगै बजेट लेखन कार्यले गति पाउने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महत भएपछि बजेटमा सुझाव संकलन, बजेट लेखन टोली गठन तथा छलफलको काम तीव्रताका साथ अघि बढ्ने मन्त्रालयका अधिकारीहरूले बताए।

मन्त्री नहुँदा चैत १ देखि नै बजेट लेखनसम्बन्धी काम अघि बढ्न सकेको थिएन। नीति तथा कार्यक्रम वैशाख मसान्तअघि नै पारित गरी जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्छ। अर्थमन्त्री डा. महतले शुक्रबार कार्यभार सम्हाल्दै आफ्नो पहिलो प्राथिमकता बजेट नै रहेको बताए। ‘पहिले अर्थतन्त्रलाई कसरी सकारात्मक दिशामा डोर्‍याउन कस्तो बजेट ल्याउने भन्ने टुंगो लगाउँछु,’ उनले भने, ‘अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोच लिएर अर्थतन्त्रलाई सुधारको बाटोमा लैजानेछु।’ 

हाल राजस्व परामर्श समितिअन्तर्गत ९ उपसमितिको छलफल जारी छ। बजेटसम्बन्धि अरु काम रोकिएका बेला अर्थ मन्त्रालयले बजेट तर्जुमा दिग्दर्शन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार आर्थिक वर्ष २०८०÷८१ को बजेट तर्जुमा कार्यतालीका बनाइसकेको छ।

कार्यतालिका अनुसार चैत २४ गतेसम्ममा बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम तथा अपेक्षित उपलब्धिसहितका सुझाव सम्वन्धित महाशाखाबाट लिइने छ। यस्तै वैशाख १० गतेभित्र सर्वसाधारण तथा सरोकारवालाको सुझाव लिने योजना अर्थको छ। कार्यतालीका अनुसार चैत १९ देखि २४ गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटका नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

चैत २१ गतेबाट राजस्व परामर्श समितिमा आएका सुझावमाथि छलफल गरी प्रतिवेदन तयारको काम सुरु हुनेछ। एलएमबीआईएसमार्फत विषयगत मन्त्रालयले बजेट प्रस्ताव गर्ने अन्तिम मिति चैत २६ गते तोकिएको छ।

अर्थ मन्त्रालयको बजेट महाशाखा र वित्तीय संघीयता महाशाखाले चैत २६ देखि २८ गतेसम्म बजेटका उद्देश्य, प्राथमिकता र मुख्य कार्यक्रमबारे संसदसँग प्रदेशगत छलफल आयोजना गर्नेछ। यसबीचमा अन्तरसरकारको वित्त परिषद्को वैठक पनि बस्नेछ। चैत २६ देखि वैशाख २० सम्म प्रदेशका अर्थ मन्त्रालयबीच सशर्त अनुदानको विषयमा छलफल हुने कार्यतालीका तयार भएको छ। सोही अवधिमा मन्त्रालयसँग बजेट, कार्यक्रम र खर्चका शीर्षकगत छलफल चल्नेछ।

२०८० वैशाख २ गतेदेखि २५ गतेसम्म वैदेशिक स्रोतअन्तर्गत प्राप्त हुने रकम एकिन हुनेछ। यो काम गर्ने जिम्मा वैदेशिक सहायता समन्वय महाशाखाको हो। प्राविधिक सहायता तथा अन्य गैरसरकारी संस्थामार्फत परिचालन हुने सहायताको टुंगो पनि यसैबीचमा लाग्नेछ।

वैशाख २५ गतेसम्म राजनीतिक दलका प्रतिनिधि, पूर्वअर्थमन्त्री, पूर्वगभर्नर, पूर्वअर्थसचिव र वरिष्ठ अर्थशास्त्री र विज्ञबाट बजेटमा सुझाव संकलन हुनेछ। अर्थ सचिवले योे काम चैत २६ गते थाल्नेछन्। वैशाख २० गते बजेट, आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थाको प्रगति विवरण आदि लेखाइ र छपाइको काम सुरु हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ। जसअनुसार वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाखाले नेपाली संस्करणको सार्वजनिक संस्थानको प्रगति विवरण छपाइका लागि वैशाख २० गते पठाउनेछ। बजेट वक्तव्य मस्यौदा लेख समितिले वैशाख २१ गतेभित्र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार पार्ने समय तोकिएको छ। सिद्धान्त र प्राथमिकता तय भएपछि अर्थ मन्त्रीले २५ गते संघीय संसदको दुवै सदनमा पेश गर्नेछन्।

वैशाख ३० गते चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणले अन्तिम स्वरूप पाएर प्रेसमा पुग्नेछ। वैशाख ३० गते नै मन्त्रालयगत प्रगति विवरण तयार भएर प्रेसमा जानेछ।

कार्यतालिका बजेट लेखन टोलीले अनुसार जेठ १ गते नै बजेट वक्तव्यको पहिलो मस्यौदा तयार पार्नेछ। जेठ ५ गतेसम्म राजस्व परामर्श समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस गरिसक्नेछ। राष्ट्रपतिलाई बजेट ब्रिफिङ गरिसक्ने समय जेठ १० गतेका लागि तोकिएको छ। त्रिवर्षीय खर्च अनुमानसहित वार्षिक व्यय अनुमानको मस्यौदा तयार पार्ने र शीर्षकगत खर्च अनुमानको अंक रुजु गर्ने काम जेठ १० गतेसम्म सकिेछ।

व्यय अनुमानसम्बन्धी किताब छपाइका लागि जेठ १२ गतेको मिति तोकिएको छ। जेठ १३ गतेसम्म अर्थ मन्त्रालयले आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट वक्तव्यलाई अन्तिम रुप दिइसक्नेछ। आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयकबारे राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्लाई बिफ्रिङ गर्ने, छपाइमा पठाउने काम जेठ १४ गते हुनेछ। आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयको प्रगति विवरण जेठ १४ गते संघीय संसद्का दुवै सदनमा पेस हुनेछ भने जेठ १५ गते बजेट सार्वजनिक हुनेछ। 

बजेट तर्जुमा कार्यतालिका 
२०७९
चैत २१  :  राजस्व परामर्श समितिको प्रतिवेदन निर्माण सुरु
चैत २४  :  बजेटका नीति तथा कार्यक्रममाथि छलफल सक्ने
चैत २६  :  विषगत मन्त्रालयले बजेट प्रस्ताव सक्ने
चैत २६  :  राजनीतिक दलका प्रतिनिधि, पूर्वअर्थमन्त्री, पूर्वगभर्नर, पूर्वअर्थसचिव र वरिष्ठ अर्थशास्त्री र विज्ञहरूबाट बजेटमा सुझाव संकलन सुरु
चैत २८ सम्म  :  बजेटका उद्देश्य, प्राथिमकता र मुख्य कार्यक्रमबारे संसदसँग प्रदेशगत छलफल गर्ने
चैत २६ देखि  :  प्रदेशका अर्थ मन्त्रालयबीच सशर्त अनुदानको विषयमा छलफल
चैत २६ देखि  :  संघीय मन्त्रालयहरूसँग बजेट, कार्यक्रम र खर्चका शीर्षकगत छलफल

२०८०
वैशाख १०  :  सर्वसाधारण तथा सरोकारवालाबाट सुझाव संकलन सक्ने
वैशाख २१  :  विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा बनाउन सुरु
वैशाख २५  :  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसद्को दुवै सदनमा पेस
वैशाख ३०  :  आर्थिक सर्वेक्षण छपाइमा पठाउने
वैशाख ३०  :  मन्त्रालयगत प्रगति विवरण छपाइमा पठाउने
जेठ १  :  बजेट वक्तव्यको पहिलो मस्यौदा तयार
जेठ ५  :  राजस्व परामर्श समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस गर्ने
जेठ १०  :  राष्ट्रपतिलाई बजेट ब्रिफिङ गर्ने गरिसक्ने
जेठ १२  :  व्यय अनुमानसम्बन्धी किताब छपाइका लागि पठाउने
जेठ १३  :  आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट वक्तव्यलाई अन्तिमरूप दिने
जेठ १४  :  आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक छपाइमा पठाउने
जेठ १४  :  बजेट वक्तव्य (नेपाली र अंग्रेजी) छपाइका लागि पठाउने
जेठ १४  :  आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयको प्रगति विवरण संघीय संसद्का दुवै सदनमा पेस हुने
जेठ १५  :  आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.