डा. हेनिमेनको होमियोप्याथी

विश्व होमियोप्याथिक दिवस

डा. हेनिमेनको होमियोप्याथी

जीवनको उत्पतिसँगै रोगहरूको पनि जन्म भयो। दुवैसँगै हुर्के र सँगै खेले, मौका छोपी एकले अर्कालाई पछार्ने कार्य गर्दै आए र गर्दैछन्। तर, मानिस प्रकृतिको सर्वश्रेष्ठ बौद्धिक प्राणी भएकाले लामो समयसम्म यस सांसारिक यात्रामा स्वस्थ्य भई संलग्न रहने उद्देश्यले रोगोपचारका विधिहरूको खोजीमा लाग्यो। जसको फलस्वरूप अहिले विश्वमा रोगोपचारका विभिन्न पद्धतिको विकास र प्रयोग भइरहेको छ। इतिहासमा केही चिकित्सा पद्धति सामाजिक स्वीकृतिको अभावमा अस्तित्व गुमाउँदै लोप भए भने केही उपचार विधि मौलिक गुण र विशिष्टताका आधारमा लोकप्रिय भए। त्यसमध्ये एक हो– होमियोप्याथी।

होमियोप्याथी विश्वमा स्थापित चिकित्सा पद्धतिहरूमा दोस्रो स्थान छ। लोकप्रिय एवं जनमानसमा स्वीकार गरी अपनाएको चिकित्सा पद्धति हो। जुन लगभग २०० वर्षभन्दा बढी समयदेखि जनस्वास्थको विषय बनेको छ। १७५५ अप्रिल १० तारिखमा जर्मनीको माइसेन सहरमा होमियोप्याथीका जन्मदाता क्रिश्चियन फेड्रिकसेमुअल हेनिमेनको जन्म भएको थियो। यिनका पिता बहुतै गरिब थिए। चिनियाँ माटो (सेरामिक) को भाँडामा बुट्टा बनाउने (चित्रकारी) काम गरेर परिवारको पालनपोषण गर्थे। गरिबीको कारणले गर्दा हेनिमेनको बाल्यावस्था बडो संघर्षमा बित्यो। अध्ययनका लागि साह्रै नै दुःख गर्नुपर्‍यो। हुने बिरुवाको चिल्लोपात भनेझैं कुसाग्रबुद्धि र तीव्र प्रतिभाका धनी हेनिमेनले २४ वर्षको उमेरमा एलोप्याथिमा (एमडी)को उपाधि हासिल गरे। ड्रेसडेनको अस्पतालमा सिभिलसर्जनको पदमा रही कार्य गर्न थाले। दस वर्षसम्म यिनले अस्पतालमा सेवा कार्य गरे।

डा. हेनिमेन आफ्नो समयको चिकित्सा प्रक्रियाबाट नै सहमत थिएनन्। तितो कष्टकारी एवं विपरीत प्रतिक्रिया उत्पन्न गर्ने औषधिहरूबाट एउटा रोगको उपचार हुनुका साथै शरीरमा कैयौं नयाँ–नयाँ रोग उत्पन्न भइरहेका थिए। यसैबीच उनको छोरी बिरामी भइन्, राम्रोभन्दा राम्रो उपचार गरियो। तर, छोरीलाई बचाउन सकेनन्। यस घटनाले गर्दा उनको तत्कालीन चिकित्सा पद्धतिबाट नै मोहभंग हुन गयो। यी सबै कुराबाट दिकदार भएर हेनिमेनले (एलोप्याथी) चिकित्सा कार्य गर्न छोडिदिए। हेनिमेन जीविकोपार्जनका लागि चिकित्सा एवं विज्ञानका पुस्तकहरूको विभिन्न भाषामा अनुवाद गर्न थाले। उनलाई ग्रिक, लेटिन, अंग्रेजी, इटालियन, अरबी, स्पेनिस, फ्रेन्च, जर्मन, सिरियन, हिब्रुसहित १० भाषाको ज्ञान थियो। सन् १७९० मा डा. कुलेनद्वारा लिखित मेटेरियामेडिकाको जर्मन भाषामा अनुवाद गर्ने क्रममा हेनिमेनले ‘सिनकोना’ भन्ने औषधिका बारेमा विशेष जानकारी पाए।

एक स्वस्थ शरीरमा सिनकोनाको (अर्क)को सेवन गर्नाले मलेरिया ज्वरोको जस्तै लक्षण उत्पन्न भइहाल्छ, जबकि सिनकोना मलेरिया ज्वरोको महत्त्वपूर्ण औषधि भन्ने कुरा यिनलाई थाहा भयो। आफ्नै शरीरमा सिनकोनाकोको प्रयोगले डा. हेनिमेन यस निष्कर्षमा पुगे कि जुन औषधीय गुणयुक्त पदार्थ (औषधि) एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नाले जुन किसिमको रोग लक्षणहरू उत्पन्न हुन्छन्, उही औषधि त्यस्तै लक्षणयुक्त भएको रोगी व्यक्तिलाई (शक्तिकृत) रूपमा सूक्ष्म मात्रामा सेवन गराउनाले आरोग्य प्रदान गर्छ। यही कुराको चिन्तन–मनन् गर्दागर्दै उनको मनमा विचार आयो कि सिनकोनाको जस्तै प्रकृतिप्रदत्त अन्य औषधीय पदार्थमा पनि रोगोत्पादन र विनाश शक्ति विद्यमान रहेछ। यसै आधारमा हेनिमेनले ६ वर्षसम्म अनवरत आफ्नै शरीरमाथि नाना–प्रकारका औषधिको परीक्षण गरे।

उक्त परीक्षणले हेनिमेनलाई ‘समः समं शमयतिः’ अर्थात् जसले रोग उत्पन्न गर्छ, उसैले रोग निको पार्छ भन्ने जानकारी भयो र उनले ‘सदृशरोगको सदृश चिकित्सा’ भन्ने नयाँ सिद्धान्तको प्रतिपादन गरे। उनले समानताले समानताको उपचारको पद्धतिलाई आफैंमाथि प्रयोग गरी व्यावहारिक एवं स्वाभाविक बनाए। यसप्रकार हेनिमेनले व्यापक परीक्षण, अनुभव एवं शोधपश्चात् रोगको स्थायी चिकित्सा विधि खोजे। त्यसलाई होमियोप्याथी नाम राखे। होमियोप्याथी अर्थात् रोगको सदृशचिकित्सा विज्ञान। १८औं शताब्दीको अन्ततिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्साजगत्को उपलब्धि हो। यसको चिकित्सा दर्शनले विश्वलाई एक नयाँ दर्शन दिएको छ, जसको कुनै विकल्प छैन। होमियोप्याथीले विश्व स्वास्थ्य मिसनलाई पूरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। जसको परिणाम आज हाम्रोसामु छ।

होमियोप्याथी आज विश्वको सयभन्दा बढी मुलुकमा मुख्य रूपले दक्षिण र उत्तरी अमेरिका, भेनेजुएला, अर्जेनटिना, जर्मनी, युक्रेन, रूस, क्यानाडा, यूके, यूएसए, फ्रान्स, जापान आदिमा प्रचलित छ। उल्लेखनीय कुरो के छ भने भारत, श्रीलंका, पाकिस्तान, ब्रिटेन, नेपाल आदि देशका स्वास्थ्य सेवामा होमियोप्याथीलाई पनि समावेश गरिएको छ। रिपोर्टअनुसार विश्वमा लगभग २० प्रतिशतभन्दा बढी मानिस होमियोप्याथी चिकित्सा पद्धतिद्वारा आफ्नो रोगको उपचार हुने विश्वास राख्छन्। होमियोप्याथीको लोकप्रियताको अनुमान यस तथ्यबाट पनि लगाउन सकिन्छ कि जन्मको लगभग २२५ वर्षभित्रै समुद्रको गहिराईलाई पार गर्दै विश्वभर फैलिएर जनस्वास्थको विकल्प बन्नेतर्फ अग्रसर छ। ध्यानदिनु पर्ने कुरो के छ भने विश्वको कुनै पनि चिकित्सा पद्धति यस्तो छैन, जसको औषधि या उपचार विधि सरल, सौम्य, सुरक्षित, पीडामुक्त एवं दुष्प्रभावरहित होस्। यसको साथै संसारमा प्रचलित अन्य चिकित्सा पद्धतिमध्ये कसैको दर्शन लिखित या निश्चित छैन। होमियोप्याथी एकमात्र चिकित्सा पद्धति हो, जसको दर्शन एवं सिद्धान्त निश्चित छ।

यसमा रोगीको आचार, विचार, व्यवहार, शारीरिक बनावटदेखि उसको मनोभावना एवं व्यक्तित्व समेतलाई मध्येनजर राख्दै रोगोपचार गर्ने हेतुले औषधि छनोट गरिन्छ। विश्वमा जहाँ एलोप्याथिक उपचार गरिबको पहुँचबाट टाढा हुँदै गइरहेको छ। त्यही अपेक्षाकृत कम खर्चिलो हुने भएको कारण होमियोप्याथिक उपचार आममानिसको पहुँचमा छ। विश्वमा होमियोप्याथिक चिकित्साबिना सम्पूर्ण स्वास्थ्यको कल्पना पनि गर्न सम्भव छैन। होमियोप्याथी आविष्कारको लगभग २२५ वर्षको अन्तरालमा रोगमुक्त समाजको स्थापनाको लक्ष्यलाई प्राप्त गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। विशेषगरी विकासशील मुलुकमा आर्थिक अवस्थाका कारण होमियोप्याथिक चिकित्साको महत्व बढी छ। नेपालको स्वास्थ्य क्षेत्रमा होमियोप्याथिक चिकित्साले २००७ सालदेखि नै प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ। 

होमियोप्याथिक चिकित्साको क्षेत्रमा डा. हेनिमेनद्वारा प्रतिपादित सार्वभौम दर्शन एवं सिद्धान्तप्रति आमजनमानसमा सचेतना जागृत गर्ने बेला आइसकेको छ। किनभने डा. हेनिमेनले विश्वलाई एउटा यस्तो चिकित्सा पद्धति दिएर गएका छन्, जसको हालसम्म कुनै विकल्प छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.