१ करोडलाई मुटुरोगको समस्या

१ करोडलाई मुटुरोगको समस्या
सांकेतिक तस्बिर।

काठमाडौं : तपाईंको खानपान र जीवनशैली कस्तो छ ? ख्याल गर्नुभएको छ ? छैन भने अब सजग हुनुहोस्। स्वस्थ जीवनशैली र खानपान नअपनाउने हो भने मुटुजन्य समस्याले पिरोल्न सक्छ। मुटुरोग विशेषज्ञहरू भन्छन्, ‘अस्वस्थ खानपान र जीवनशैलीको नतिजा हो, मुटुको रोग।’

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार अचेल धेरैको जीवनशैली अस्वस्थकर भएको छ। जसका कारण मुटुरोगिको संख्या पनि बढेको छ। ‘मानसिक तनाव बढेको छ, व्यायाम घटेको छ,’ डा. रेग्मी भन्छन, ‘धूमपान, मद्यपान, खानामा गुलियो र चिल्लो प्रयोग बढेको छ। सागसब्जी र फलफूल खाने बानी एकदमै कम छ। तयारी खाना (फास्टफुड) धेरै खाने बानी छ।’ नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा ३० प्रतिशत अर्थात् करिब १ करोड जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन्। 

मुटु रोगीहरूको संख्या २० वर्षयता ५ गुणाले वृद्धि भएको छ। डा. रेग्मीका अनुसार, मुटुरोगहरूमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुका रोगहरू र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा देखिएका छन्। ‘मुटुका रोगहरूमध्ये कोरोनरी मुटुको रोग र उच्च रक्तचाप धेरै छिटो गतिमा बढ्दै गइरहेको देखिन्छ र यसको प्रमुख कारणका रूपमा मानिसहरूको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तनलाई औंल्याइएको छ,’ डा. रेग्मीले भने। 

विश्वभर बर्सेनि २ करोड ५ लाख मानिस मुटुको रोगहरूबाट ज्यान गुमाउने गरेको विश्व मुटु महासंघको तथ्यांक छ। यीमध्ये विकासोन्मुख र अविकसित राष्ट्रहरूमा बर्सेनि मुटु रोगबाट मर्नेहरूको संख्या यसको ८० प्रतिशतभन्दा बढी पर्न आउँछ। ‘१९ औं शताब्दीमा मानव मृत्युको प्रमुख कारण संक्रामक रोगहरू र कुपोषण थिए। २० औं शताब्दीको सुरु सम्ममा पनि मुटु रोगबाट मर्नेहरूको संख्या १० प्रतिशतभन्दा कम थियो,’ डा. रेग्मी भन्छन, ‘एक्काइसौं शताब्दीको सुरुमा आएर मुटुरोगबाट मर्नेहरूको संख्या विकसित राष्ट्रहरूमा करिब ५० प्रतिशत र विकासोन्मुख राष्ट्रहरूमा २५ प्रतिशत पुगेको छ।’ 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरेको प्रक्षेपणअनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरूको संख्या बर्सेनि २ करोड ५० लाख पुग्ने छ। त्यस्तै कोरोनरी मुटुको रोग (हृदयघात) ज्यान लिने पहिलो रोगका रूपमा स्थापित हुनेछ। सन् २०३० सम्ममा नेपाल लगायतका विकासोन्मुख राष्ट्रहरूमा हृदयघात भएर मर्नेहरूको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

नेपाल एनसीडी एलायन्सका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ। २५ प्रतिशतलाई कोलेस्टेरोल छ। १० प्रतिशतलाई मधुमेह छ। १ प्रतिशत बालबालिकालाई बाथ मुटु रोग छ। ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना खाँदैनन्। करिब ५० प्रतिशत सहरीया नेपालीलाई व्यायाम गर्न अल्छि मान्ने गरेको डा. रेग्मी बताउँछन्। डा.रेग्मी भन्छन, ‘धूमपान, मद्यपान, बढी गुलियो, चिल्लो र बोसोयुक्त खानपान गर्ने प्रवृत्ति कारण हृदयघात, उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल आदीको समस्या पनि वृद्धि भइरहेको छ।’

मुटुरोग विशेषज्ञहरूका अनुसार, मुटुका लागि जोखिम तत्वहरू उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन मुख्य मानिन्छन्। वंशाणुगत कारणका साथै धूमपानको लत, व्यायामको कमि र मानसिक तनावले मुटुरोग वृद्धिमा सघाउ पुर्‍याउँछन्। डा. रेग्मी भन्छन्, ‘समयमै सजग भई सावधानि अपनाउनुपर्छ। अन्यथा हृदयघात र मस्तिष्कघात भएर आकस्मिक मृत्यु हुन सक्छ।’ 

अधिकांश मुटुजन्य रोगहरू जीवनशैलीसँग सम्बन्धित हुन्। जीवनशैली परिवर्तनबाट मात्र पनि ९० प्रतिशतभन्दा बढी मुटु रोगका कारणहरू माथि नियन्त्रण गर्न सकिने डा. रेग्मी बताउँछन्। यस कारण मुटुरोग लाग्नै नदिन जीवनशैली स्वस्थकर बनाउनेतर्फ लक्षित हुनुपर्ने सुझाव मुटुरोग विशेषज्ञहरूको छ। 

उपचारमा फड्को

विस १९९७ सालमा नेपालमा ईसीजी सेवाको सुरुवात भएको पाइन्छ। तत्कालीन राजा त्रिभुवन शाहलाई मुटु रोग भए पछि ईसीजी मेसिनमा हेरिएको थियो। अमेरिकी युनाईटेड मिसन टु नेपालद्धारा स्थापित शान्ता भवन अस्पतालमा ईसीजी मेसिन हुनु निकै उपलब्धि मानिएको थियो।

वि.स १९४७ सालमा वीर अस्पताल स्थापना भए पनि मुटुको उपचार सेवा निकै पछि मात्र सुरु भएको हो। वि.स २०१७ सालमा डा. मृगेन्द्रराज पाण्डेको सक्रियतामा ईसीजीबाट परीक्षण सुरु भएको थियो। पहिलो मुटुको शल्यक्रिया नै वीर अस्पतालमा गरिएको थियो। 

अस्टे«लियाबाट आएका सर्जनहरूले नेतृत्वमा अस्पतालमा ओपन हर्ट सर्जरी गरिएको थियो। विस २०२२ सालमा शुक्लाफाँटा आरक्षमा शिकार खेल्ने क्रममा तत्कालीन राजा महेन्द्रलाई हृदयाघात भयो। 

उपचारका लागि अमेरिका र बेलायतबाट मुटुरोग विशेषज्ञहरू झिकाउनु परेको थियो। २०५० सालतिर मुटुरोगका फिजिसियन र मुटु सर्जनहरू औंलामा गन्न सकिन्थ्यो। 

अहिले मुटुरोग विशेषज्ञहरूले काठमाडौं उपत्यका र उपत्यका बाहिरका सहरी क्षेत्रमा समेत मुटु रोगको उपचार सेवा दिइरहेका छन्। अहिले मुलुकको सबैभन्दा पुरानो वीर अस्पतालका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. कुन्जाङ शेर्पाका अनुसार, वीर अस्पतालमा ओपन हार्ट सर्जरी, एन्जिओग्राफी, एन्जिओप्लास्टी, पेसमेकर लगायतका उपचार सेवा प्रवाह भइरहेको छ। 

वीर अस्पताल मात्र नभई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगायतका सरकारी अस्पतालमा मुटुको उपचार सेवा प्रवाह भइरहेका छ। २७ वर्षदेखि मुटु रोगिहरूको उपचारमा संलग्न सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका पूर्वकार्यकारी निर्देशक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसीका अनुसार, मुटुरोग विशेषज्ञहरूको संख्यात्मक वृद्धिसँगै उपचारमा पनि फड्को मारेको बताउँछन्। डा.केसी भन्छन्, ‘मुटुरोग फिजिशियन देखि सर्जनहरूको संख्या वृद्धि भएसँगै मुटुको उपचारमा सहज पहुँच पुगेको छ।’ अहिले नेपालमा मुटु फिजिशियन र सर्जन गरी २सयभन्दा बढी विज्ञ चिकित्सकले सरकारी र निजी अस्पतालबाट उपचार सेवा दिइरहेका छन्। बाह्र हजारभन्दा बढी मुटुको शल्यक्रिया गरेका डा. भगवान कोइराला त झन् काठमाडौंमा एक बहुविशेषज्ञ सेवा सहितको स्तरीय बाल अस्पताल र बाँकी ६ प्रदेशमा एक÷ एकवटा जनरल बाल अस्पताल बनाउन सक्रियपूर्वक लागेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, सरकारले सबै प्रदेशमा मुटुसम्बन्धी उपचार सेवा उपलब्ध गराउन कार्यविधि बनाउने कार्य अघि बढाएको छ। ‘सातवटै प्रदेशमा मुटु उपचारमा पहुँच पुर्‍याउने गरी कार्यविधि बन्दै छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी भन्छन्, ‘सबै प्रदेशमा मुटुको उपचार सेवा विस्तार गर्नेे लक्ष्यका साथ अघि बढेका छौं।’ गंगालाल हृदय केन्द्रमार्फत यो उपचार सेवा उपलब्ध गराउने गरी कार्यविधि बनाउन लागिएको हो। 

बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क उपचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, सरकारले सरकारी अस्पतालमा १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई अप्रेसनलगायत मुटुसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था गरेको छ। त्यस्तै ७५ वर्षभन्दा बढी उमेरका नागरिकलाई पनि मुटुसम्बन्धी अपरेशन लगायत सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराएको छ। 

अन्य उमेरका मुटुरोग लागेका दीर्घरोगीहरूलाई एक लाखसम्मको उपचार सेवा निःशुल्क छ। जीवनपर्यन्त मुटुको औषधि सेवन गर्नुपर्ने र काम गर्न नसक्ने मुटुरोगीलाई जीवन निर्वाह भत्तास्वरुप महिनाको ५ हजारसमेत सरकारले उपलब्ध गराइरहेको डा. बुढाथोकीले जानकारी दिए। 

हरेक वर्ष २९ सेप्टेम्बरका दिन विश्व मुटु दिवस मनाउने गरिन्छ। यस वर्ष विश्वभर ‘काम गरौं, मुटु बचाऊँ’ भन्ने नाराका साथ आइतबार विश्व मुटु दिवस मनाइँदै छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.