स्तन क्यान्सरका बिरामीले केमोथेरापी छल्न सम्भव छ !

स्तन क्यान्सरका बिरामीले केमोथेरापी छल्न सम्भव छ !
सुन्नुहोस्

लन्डन (बीबीसी) : लाखौं स्तन क्यान्सरका बिरामीहरूले रासायनिक उपचार (केमोथेरापी) लाई सुरक्षित रूपमा छल्न सक्ने भएका छन्। वैज्ञानिकहरूले एउटा यस्तो डीएनए परीक्षण विकास गरेका छन्, जसले कुन बिरामीलाई यो उपचारबाट फाइदा हुन्छ र कसलाई हुँदैन भन्ने कुरा छुट्याउन सक्छ। 

अन्तर्राष्ट्रिय अध्ययनका अनुसार सहभागी भएकामध्ये दुईतिहाइभन्दा बढी बिरामीहरू केमोथेरापीको साइड इफेक्टबाट बच्न सक्छन् र उनीहरूलाई हर्मोन थेरापीबाट मात्रै उपचार गर्न सकिन्छ। केमोथेरापीका कारण अत्यधिक थकान, वाकवाकी लाग्ने, कपाल झर्ने, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र प्रजनन् क्षमतामा समस्या आउने जस्ता जटिलताहरू हुन सक्छन्।

युनिभर्सिटी कलेज लन्डनको नेतृत्वमा भएको यस अध्ययनमा बेलायत, नर्वे, स्वीडेन, अस्ट्रेलिया, न्युजिल्यान्ड र थाइल्यान्डका ४० वर्षभन्दा माथिका स्तन क्यान्सर पत्ता लागेका ४ हजारभन्दा बढी नयाँ निदान गरिएका बिरामीहरू समावेश थिए।

वैज्ञानिकहरूले स्तन क्यान्सरको वृद्धिमा भूमिका खेल्ने ५० वटा जीनहरूको गतिविधिको मापन गर्न र बिरामीमा रोग बल्झिने जोखिमको मूल्यांकन गर्न ‘प्रोजिग्ना’ नामक जीन परीक्षणको प्रयोग गरेका थिए।

कम अंक प्राप्त गर्ने बिरामीहरूलाई केमोथेरापी दिइएन। उक्त समूहको पाँच वर्षसम्म जीवित रहने दर ९३.७ प्रतिशत पाइयो, जुन आफ्नो उपचारको हिस्साका रूपमा केमोथेरापी लिने बिरामीहरूको जीवित रहने दर (९४.९ प्रतिशत) सँग निकै नजिक छ। स्तन क्यान्सरको प्राथमिक उपचार सामान्यतया ट्युमर हटाउन गरिने शल्यक्रिया नै हो। त्यसपछि क्यान्सर बल्झिने जोखिम कम गर्न अक्सर केमोथेरापी सिफारिस गरिन्छ। यो परीक्षण प्रारम्भिक चरणको स्तन क्यान्सर भएका र क्यान्सर नजिकैका ग्रन्थीसम्म फैलिएका बिरामीहरूलाई पनि नियमित रूपमा दिइने गरिन्छ। यूसीएलका अनुसार चिकित्सकहरू सबैभन्दा धेरै देखिने प्रकारको स्तन क्यान्सर भएका बिरामीहरूका लागि यो उपचारले खासै फाइदा नपुर्‍याउने कुरामा चिन्तित छन्। विश्वविद्यालयले यस परीक्षणको परिणाम स्वरूप बेलायतको सरकारी स्वास्थ्य सेवाका वार्षिक ५ हजारभन्दा बढी बिरामीहरूले केमोथेरापी छल्न सक्ने बताएको छ।
 
कार्डिफकी ६४ वर्षीया करेन बोनहामले पनि यस परीक्षणमा भाग लिएकी थिइन्। उनले यो नतिजा आफ्ना लागि ठूलो राहत र क्रिसमस आए जस्तै भएको बताइन्। प्रोजिग्ना परीक्षणका कारण उनले केमोथेरापी लिनु परेन र विगत आठ वर्षदेखि उनी रेडियोथेरापी र हर्मोन थेरापी मात्र लिइरहेकी छिन्। 
‘क्यान्सरको निदान र उपचार निकै स्तब्ध पार्ने हुन सक्छ,’ उनले भनिन्, ‘यसले पक्कै पनि तपाईंलाई अनिश्चितताको संसारमा धकेल्छ। जीवनका प्राथमिकताहरू बदलिन्छन्– तपाईं केवल बाँच्न चाहनुहुन्छ।’ यस अध्ययनको निष्कर्ष शनिबार अमेरिकाको सिकागोमा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो क्यान्सर सम्मेलन, ‘अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी’ को वार्षिक बैठकमा प्रस्तुत गरिनेछ।

एक प्रमुख क्यान्सर विशेषज्ञ प्राध्यापक डेभिड माइल्सले यो निष्कर्षलाई चिकित्सा पद्धति नै बदल्ने कदमका रूपमा वर्णन गरेका छन्। ‘अहिले हामी ढुक्कसँग भन्न सक्छौं कि धेरै बिरामीहरूलाई केमोथेरापीबाट कुनै फाइदा हुने छैन। त्यसैले उनीहरूले यो उपचार गराइराख्न आवश्यक छैन,’ उनले बीबीसीको ‘न्यूजआवर’ सँग भने। माइल्सका अनुसार महिलाहरूको एउटा ठूलो समूहलाई आत्मविश्वासका साथ पहिचान गर्न मद्दत गर्नेछ। 

‘जसलाई यसबाट कुनै फाइदा हुँदैन र उनीहरूले बिना कुनै फाइदा ती सबै पीडादायी प्रक्रियाहरू भोग्नु पर्दैन,’ उनले भनेका छन्, ‘विगतमा हामीले १० जनालाई फाइदा पुर्‍याउन १०० जना महिलालाई केमोथेरापी दिने गथ्र्यौं, जबकि बाँकी ९० जनालाई यसको आवश्यकता नै पर्दैनथ्यो भन्ने हामीलाई थाहा हुन्थ्यो।’

सन् २०२२ मा स्तन क्यान्सर पुष्टि भएकी र आफ्नो उपचारको क्रममा केमोथेरापी लिएकी तान्या हटसनले यो नयाँ डीएनए परीक्षणलाई ‘एकदमै अद्भुत’ भनेकी छिन्। ‘अनुसन्धानमा पैसा लगानी गर्दा के हुन्छ भन्ने कुरा यसले प्रमाणित गर्छ,’ केमोथेरापीको अनुभव निकै कष्टकर रहेको सम्झँदै उनले भनिन्, ‘यो उपचार आवश्यक नभएका तर अझै पनि लिइरहेका मानिसहरूका लागि यो पूर्णरूपमा एउटा गेम–चेन्जर हो।’

तर, यो निष्कर्ष ४० वर्षमुनिका मानिसहरूका लागि पनि लागू हुन्छ वा हुँदैन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। यूसीएलका अनुसार यसको नतिजा आउन अझै केही वर्ष लाग्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.