फेरि पनि गर्भपतन !

फेरि पनि गर्भपतन !

गर्भ एउटा व्यक्तिगत सफलतामात्र होइन। यो दम्पतीकै सफलता हो। र कहिलेकाहीँ त गर्भ रहेको खबरले परिवार, आफन्त, शुुभचिन्तक सबैका विशेष खुसी बनाउँछ। अनि गर्भपतनले ठ्याक्कै विपरीत। दम्पतीका लागि गर्भधारण केवल जैविक घटनामात्र होइन। यो एउटा सपना हो। गर्भसँग आगामी जीवनको कल्पना, घरभित्र जन्मिन लागेको नयाँ आवाजको प्रतीक्षा, र भविष्यप्रतिको न्यानो आशा जोडिएको हुन्छ। तर जब यही आशा बारम्बार अधुरो हुन्छ, गर्भले बारम्बार जीवनको सम्भावना बोकेर पनि अन्ततः अर्थात् समाप्त हुन्छ। तब त्यो अनुभव केवल चिकित्सकीय समस्या मात्र रहँदैन। त्यो गहिरो मानवीय पीडा र भावनात्मक संघर्षको कथामा बदलिन्छ। चिकित्सा विज्ञानले यस्तो अवस्थालाई ‘रिकरेन्ट एबोर्सन’ को नाम दिन्छ।

सामान्यतया दुई वा सोभन्दा बढी पटक गर्भधारण गर्भपतनमा समाप्त हुने अवस्थालाई यस नामले चिनिन्छ। विश्वव्यापी रूपमा हेर्दा गर्भपतन कुनै दुर्लभ घटना होइन। गर्भावस्थामध्ये करिब १५ देखि २० प्रतिशत गर्भावस्था प्रारम्भिक चरणमै समाप्त हुन्छन्। तीमध्ये अधिकांश एकपटक मात्र हुने आकस्मिक घटना हुन्छन्। भ्रूणमा भएको क्रोमोसोमीय त्रुटिका कारण अधिकांश अवस्थामा गर्भपतन हुने गर्छन। तर रिकरेन्ट एबोर्सन तुलनात्मक रूपमा कम देखिन्छ। करिब १ देखि ५ प्रतिशत दम्पतीमा चाहिँ रिकरेन्ट एबोर्सन हुने गरेको अध्ययनहरूले देखाएको छ। यो संख्या सानो देखिए पनि यसको भावनात्मक र सामाजिक प्रभाव अत्यन्त गहिरो हुन्छ।

दक्षिण एसियाली समाजमा यो समस्या अझै पनि धेरै हदसम्म मौनताभित्र लुकेको छ। गर्भपतन भएका धेरै घटनाहरू स्वास्थ्य अभिलेखमा पनि समेटिँदैनन्। नेपालजस्ता मुलुकमा त ग्रामीण भेगमा प्रारम्भिक गर्भपतनलाई कहिलेकाहीँ ‘सामान्य घटना’ मानेर चिकित्सक समक्ष ल्याइँदैन। फलस्वरूप वास्तविक अवस्था कति गम्भीर छ भन्ने कुरा प्रायः अनुमानमै सीमित रहन्छ।

नेपालको सन्दर्भमा गर्भपतनलाई बुझ्न सामाजिक र स्वास्थ्यसम्बन्धी धेरै पक्षहरूलाई सँगसँगै हेर्नुपर्छ। ग्रामीण क्षेत्रमा विशेषज्ञ प्रसूति सेवाको पहुँच सीमित छ। यसले गर्भको योजना, पहिचान र व्यवस्थापनमा प्रत्यक्ष रूपमा नै प्रभाव पारेको हुन्छ। यसबाहेक हुनु, पोषणको कमी हुनु, अति आवश्यक पोषक तत्त्व (फोलिक एसिडलगायत) सेवन कम हुनु, थाइराइड तथा मधुमेहजस्ता हार्मोनसम्बन्धी रोगहरू समयमै पत्ता नलाग्नु र केही संक्रमणजन्य रोगहरू अझै व्यापक हुनु महत्त्वपूर्ण पक्षहरू हुन। यस्ता कारणहरूले गर्भावस्थालाई जोखिमपूर्ण बनाउन सक्छन्। अर्कोतर्फ, पछिल्ला वर्षहरूमा सहरी समाजमा ढिलो उमेरमा गर्भधारण गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ, जसले भ्रूण (गर्भको बच्चा) को क्रोमोसोममा त्रुटि हुने सम्भावना बढाउँछ।

क्लिनिकल दृष्टिले हेर्दा रिकरेन्ट एबोर्सनको लक्षण प्रायः साधारण गर्भपतनजस्तै हुन्छ। प्रारम्भिक गर्भावस्थामा योनीबाट रगत बग्नु, तल्लो पेटको दुखाइ हुनु र कहिलेकाहीँ योनीमार्गबाट गर्भका तन्तुहरू बाहिर निस्किनुजस्ता सामान्य लक्षणहरू हुन्। केही अवस्थामा गर्भावस्था केवल रगत वा पिसाबको परीक्षणबाट मात्र थाहा हुन्छ। र केही समयपछि कुनै समस्या नै नदेखाएर हर्मोनको मात्रा घट्दै जान्छ, गर्भ देखाउँदैन। यसलाई ‘बायोकेमिकल प्रिग्नेन्सी’ भनिन्छ। यस्ता घटनाहरू पनि लगातार दोहोरिएमा रिकरेन्ट एबोर्सन भन्ने गर्छौं। कहिलेकाहीँ गर्भपतन दोस्रो तिन महिना अर्थात् १३–१४ हप्ताको गर्भ पुगेपछि हुन्छ। यस्तो अवस्थामा महिलालाई प्रसवको व्यथाजस्तै पेट दुख्ने, पानी (सुतक) फुट्ने,  पाठेघरको संकुचन (कन्ट्राक्सन) हुने वा पाठेघरको मुख (सर्भिक्स) एक्कासी खुल्ने हुन सक्छ। कहिलेकाहीँ ‘सभाइकल इन्सफिसेन्सी’ अर्थात् पाठेघरको मुख अपेक्षाकृत सहज नभएकाले पनि अचानक गर्भपतन हुन सक्छ।

रिकरेन्ट एबोर्सनको सही कारण पत्ता लगाउन चिकित्सकले अत्यन्त व्यवस्थित र वैज्ञानिक दृष्टिकोण अपनाउनु पर्छ। यस अवस्थामा गर्भवतीको पहिले भएका गर्भपतनको समय, मातृ उमेर, विगतका रोगहरू, पारिवारिक इतिहास तथा जीवनशैलीका पक्षहरूबारे बुझ्नु आवश्यक हुन्छ। त्यसपछि आवश्यक रगतका परीक्षणहरू तथा इमेजिङ (अल्ट्रासाउन्ड) गरिन्छन्। कहिलेकाहीँ भ्रूणमा भएको क्रोमोसोमीय असामान्यता गर्भपतनको कारण बन्न सक्छ। यदि यस्तो समस्या बारम्बार दोहोरिन्छ भने दम्पतीको क्रोमोसोम परीक्षण पनि आवश्यक हुन सक्छ। 

जन्मजात रूपमा पाठेघरको बनावट असामान्य हुनु, पाठेघरभित्र पोलिप वा फाइब्राइड हुनु, अथवा अघिल्लो संक्रमण वा शल्यक्रियाका कारण गर्भावस्थालाई अस्थिर बनाउन सक्छन्। आधुनिक अल्ट्रासाउन्ड, भर्जाइनल सोनोग्राफी वा हिस्टेरोस्कोपीजस्ता प्रविधिहरूले यी समस्याहरू पहिचान गर्न मद्दत गर्छन्।

हार्मोनसम्बन्धी असन्तुलन पनि गर्भपतनको महत्त्वपूर्ण कारण हुन सक्छ। थाइराइड ग्रन्थीको कार्यमा गडबडी, अत्यधिक प्रोल्याक्टिन वा अनियन्त्रित मधुमेहजस्ता अवस्थाहरूले भ्रूणको विकासमा प्रतिकूल प्रभाव पार्न सक्छन्। यस्ता समस्याहरू समयमै पत्ता लागेमा उपचार अपेक्षाकृत सरल र प्रभावकारी हुन्छ। कहिलेकाहीँ शरीरको प्रतिरक्षा प्रणालीहरू पनि आफ्नै गर्भावस्थाविरुद्ध सक्रिय हुन्छ। यद्यपि सबै परीक्षणहरूपछि पनि करिब आधा जति अवस्थामा स्पष्ट कारण पत्ता लाग्दैन। तर यस्तो अवस्थामा पनि निराश हुनुपर्ने कारण हुँदैन। उचित परामर्श, औषधि उपचार र निरन्तर चिकित्सकीय अनुगमनले धेरै दम्पतीहरू स्वस्थ शिशुको जन्मसम्म पुग्न सफल भएका अध्ययन र अनुभवहरूले देखाएको छ। 

रिकरेन्ट एबोर्सनको उपचार केवल औषधि वा शल्यक्रियामा सीमित हुँदैन। जीवनशैली सुधार पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। धूमपान र मदिरा सेवनबाट टाढा रहनु, क्याफिनको मात्रा सीमित गर्नु, सन्तुलित आहार लिनु र फोलिक एसिड सेवन गर्नुले गर्भावस्थाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। यस सम्पूर्ण प्रक्रियामा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको भावनात्मक सहयोग हो। 

बारम्बार गर्भपतनको अनुभव गर्ने महिलाले प्रायः आफूलाई दोषी ठान्ने, निराश हुने वा भविष्यप्रति डराउने अनुभव गर्छिन्। यस्तो अवस्थामा चिकित्सकको सहानुभूतिपूर्ण व्यवहार, स्पष्ट जानकारी र निरन्तर साथले ठूलो फरक पार्न सक्छ। अध्ययनहरूले अर्को रोचक पक्ष पनि देखाएको छ। रिकरेन्ट एबोर्सन भएका महिलामा भविष्यको गर्भावस्थामा प्रि–एक्लेम्प्सिया, समयअगावै प्रसूति वा कम तौलका शिशु जन्मिने सम्भावना केही बढी हुन सक्छ। त्यसैले यस्ता गर्भावस्थालाई उच्च जोखिम समूहमा राखेर सावधानीपूर्वक निगरानी गर्न आवश्यक हुन्छ।

अन्ततः रिकरेन्ट एबोर्सन एउटा जटिल तर बुझ्न सकिने चिकित्सकीय अवस्था हो। आधुनिक चिकित्सा विज्ञानले यसको धेरै कारणहरू पहिचान गरिसकेको छ र प्रभावकारी उपचारका विकल्पहरू पनि उपलब्ध छन्। अझ महत्त्वपूर्ण कुरा के भने, कारण स्पष्ट नभए पनि धेरै दम्पतीहरूले सफल गर्भधारणको सुखद क्षणसम्म पुग्न सक्छन्। त्यसैले रिकरेन्ट एबोर्सनको कथा केवल पीडाको कथा मात्र होइन। यो विज्ञान, सहानुभूति र आशाले भरिएको एउटा सफल यात्रा पनि हो।

- साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.