नेपालमा ३४ हजार ३३७ जना एचआईभी संक्रमित
हेटौंडा : नेपालमा कुनै समय एचआइभी (एड्स) संक्रमणले छुने वित्तिकै सहजै स्वास्थ्य उपचार पाइँदैन भन्ने थियो । मानिसहरु एचआइभी संक्रमण भएको कुरा सुन्ने र थाहा पाउने वित्तिकै समाजिक भेदभावको सिकार हुन पुग्दथे । एचआइभी संक्रमित भएको व्यक्तिसहित उनीहरुको घर परिवारलाई समेत समाजले छि–छि र दुरदुरसहित खराब दृष्टिकोणले हेर्ने गरेको तितो नेपाली समाजको यथार्थ बनिसकेको थियो ।
तर समयको परिवर्तन र मानिसको चेतनामा आएको आमुल परिर्वतनले उक्त कुराहरुमा समेत परिर्वतन आएका छन् । मानिसहरुको चेतनामा आएको परिवर्तन र राज्यले एचआइभी संक्रमितहरुलाई दिएको स्वास्थ्य उपचारले गर्दा उनीहरु समाजमा खुलेर बाँच्न थालेको एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले बताए ।
यस्तै अघिल्ला वर्षहरुको तुलनामा समेत क्रमिक रुपमा एचआईभी संक्रमित हुने दर घट्दै गएको पाइएको सापकोटाले बताए । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजना तथा एएचएफ नेपालको सहयोगमा एचआईभीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बतएका हुन् ।
यस्तै उनले भने, ‘बागमती प्रदेशमा एचआईभी संक्रमण दर घट्दो क्रममा देखिए पनि नियन्त्रण र व्यवस्थापन अझै चुनौतीपूर्ण रहेकोे छ ।’ संक्रमण नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको भए पनि सामाजिक भेदभाव तुलानात्मक रुपमा कम भए पनि पूर्णरुपमा भने नभएको, ढिलो परीक्षण, उपचारमा निरन्तरता अभाव र दुर्गम क्षेत्रमा सेवा पहुँचको कमीले लक्ष्य प्राप्तिमा असर गरिरहेको पाईएको उनले बताए । यस्तै नेपालमा तराईका सीमा क्षेत्र, काठमाडौं र पोखरा संक्रमणको उच्च जोखिममा रहेको समेत उनले बताए ।
यस्तै स्वास्थ्य निर्देशनालय, हेटौँडाले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा हाल करिब ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित रहेको जनाएको छ । जसमध्ये वयस्क जनसंख्यामा संक्रमण दर ०.१३ प्रतिशत रहेको छ । नेपालमा दैनिक औसत १.७ जना नयाँ व्यक्ति एचआईभीबाट संक्रमित हुने गरेका छन् ।
यद्यपि पछिल्ला वर्षहरूमा संक्रमण पुष्टि हुने संख्या घट्दो क्रममा देखिएको छ । यस्तैै बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा ८ सय ८३ जनामा संक्रमण पुष्टि भएकोमा २०८०/८१ मा यो संख्या घटेर २ सय ८ पुगेको थियो । चालु आर्थिक वर्ष २०८१/८२ मा भने ७ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशभर हाल १८ वटा एआरटी सेवा केन्द्र, ६ वटा ओएसटी सेवा केन्द्र तथा काठमाडौं र चितवनमा २ वटा भाइरल लोड परीक्षण केन्द्र सञ्चालनमा रहेका छन् । मकवानपुरमा पनि एक एआरटी केन्द्र र एक ईआईडी संकलन केन्द्र सञ्चालनमा छ निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा ‘९५–९५–९५’ लक्ष्य हासिल गर्ने अभियान जारी रहे पनि पहिलो र तेस्रो ‘९५’ लक्ष्य अझै चुनौतीपूर्ण अवस्थामा छ । प्रदेशमा अनुमानित ८ हजार ३ सय २८ संक्रमितमध्ये ७ हजार १ सय ७४ जनाले मात्रै आफ्नो स्वास्थ्य अवस्था थाहा पाएका छन् । संक्रमितमध्ये ७ हजार १ सय ४ जना उपचार सेवामा आबद्ध छन् भने ६ हजार ७० जनामा भाइरल लोड दबिएको अवस्था रहेको जनस्वास्थ्य प्रशासक सन्जु रोईले बताइन् ।
उनले भने, ‘मकवानपुरमा मात्रै ७ हजार ६ सय ९८ जनालाई परामर्श सेवा तथा ६ हजार ३७ जनामा परीक्षण गरिएको थियो ।’ जिल्लामा दुई जना गर्भवती महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै एचटीसी सेवा अन्तर्गत चालु आर्थिक वर्षमा बागमती प्रदेशभर २१ हजार २ सय २९ जनामा परीक्षण गर्दा ७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । मकवानपुरमा ९ हजार ५ सय ५९ जनामा परीक्षण गर्दा गर्भवती महिला सहित ४० जनामा संक्रमण पुष्टि भएकोे बताइन् ।
प्रतिक्रिया दिनुहोस !