आर्मी र सातदोबाटोको रोमाञ्चक बराबरी

आर्मी र सातदोबाटोको रोमाञ्चक बराबरी
सुन्नुहोस्

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आइतबार त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा तीनै पटक आर्मीले अग्रता लिएको थियो। तर, अग्रता एक गोलभन्दा लम्ब्याउन नसकेको आर्मीविरुद्ध लगातार पुनरागमन गर्दै सातदोबाटोले एक अंक खोस्यो।

चौथो मिनेटमा गोल गर्दै जिलेस्पीले विभागीय टिमलाई अग्रता दिलाएका थिए। जगजित श्रेष्ठले दायाँतर्फबाट दिएको पासलाई हेडरमार्फत जिलेस्पीले गोलमा परिणत गरेका थिए।

सातदोबाटोका दीपकराज सिंह ठकुरीले २५औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार आर्मीका दुई खेलाडीलाई ठोकिएर गोलमा परिणत भएसँगै खेल १–१ को बराबरीमा पुगेको थियो। दीपकको प्रहार सुरोज बस्नेत र विकाश खवासलाई लागेर गोल लाइन पार गरेको थियो।

सातदोबाटोका एकराज बुढाथोकीले ३७औं मिनेटमा बक्सबाट क्लियर गर्न चाहेको बल जिलेस्पीको खुट्टामा लागेर फेरि गोलमा परिणत भएको थियो। त्यो गोलसँगै पहिलो हाफमा आर्मीले २–१ को अग्रता बनायो।

दोस्रो हाफमा थप रोमाञ्चक बनेको खेलमा थप तीन गोल भयो। सातदोबाटोका निरज चौधरीले दायाँतर्फबाट गरेको क्रस आर्मीका गोलकिपर विकेश कुथुले रोकेका थिए। सोही रिबाउन्ड बललाई ६ यार्ड बक्स भित्र अन्मार्क्ड सातदोबाटोका सार्दोरबेक मात्मुराटोभले आकर्षक फिनिस गरे।

त्यसको चार मिनेट नबित्दै आर्मीका राइट ब्याक दीपक गुरुङले बायाँतर्फबाट गरेको क्रस गोलमा परिणत भयो। ६ यार्ड बक्स नजिक बल ड्रप भएर गोल लाइन पार गर्दा सातदोबाटोका गोलकिपर अभिषेक बराल निरीह बने।

यद्यपि, ८४औं मिनेटमा सातदोबाटोका विलियम ओपोकु ऐसेडुले फ्रि–किकमा उत्कृष्ट गोल गर्दै सातदोबाटोलाई हारबाट जोगाए।

बराबरीसँगै आर्मी सात खेलबाट ९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ। समान खेलबाट १३ अंक जोडेको सातदोबाटो तेस्रो स्थानमा उक्लिएको छ। आजको खेलमा जित निकाल्न नसक्दा सातदोबाटोले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ।

आजै भएको खेलमा मछिन्द्र क्लबले संकटा क्लबलाई २–१ गोलको नतिजामा पराजित गरेको थियो। यस्तै, एन्फा कम्प्लेक्समा भएको खेलमा न्यूरोड टिमले हिमालयन शेर्पा क्लबलाई पनि २–१ गोलकै नतिजामा पराजित गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.