रौतामाईमा एमालेको मिसन ग्रासरुट ‘५० किमी म्याराथुन'
![रौतामाईमा एमालेको मिसन ग्रासरुट ‘५० किमी म्याराथुन'](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_s8ESCuH6Un.jpg)
उदयपुर : नेकपा एमालेले उदयपुरको रौतामाई गाउँपालिकामा मिसन ग्रासरुट अभियानको रफ्तारलाई तीव्रता दिएको छ।
‘गठबन्धनको घेरा तोड्न हिँडेर हैन दौडिनु पर्ने' सन्देश प्रवाह गर्दै एमालेले अभियानको रफ्तारलाई फरक ढंगले अघि बढाएको हो।
टोल वस्तीसम्म अभियान लिएर पुगेको एमालेले आइतबार दोस्रो गिनिज बुक अफ वर्ल्ड रेकर्डको तयारी गरिरहेका दुई युवालाई वडा नम्बर ७ मुर्कुचीबजारबाट ५० किलोमिटरको म्याराथुनमा सहभागी गराएको अभियानमा कोशी प्रदेश कमिटीबाट खटिएका युवा नेता भागवत राउतले बताए।
रेकर्ड राख्न भारतको गोरखपुरबाट दैनिक ५० किलोमिटर दौडिने गरेका जाजरकोटका २३ वर्षीय अमृत बस्नेत र भारतको मुम्बईका २८ वर्षीय विशाख कृष्ण स्वामीले ग्रासरुट अभियानलाई सघाउ पुर्याउन एमालेको सूर्य चिह्न अंकित झण्डा छाती र ढाठमा टाँसेर दौडिएका थिए।
उनीहरूलाई अभियानका सदस्य प्रदेश कमिटी सदस्य राउत, जिल्ला कमिटी सदस्य टामिन्द्र राई, गजेन्द्रबहादुर खड्का, हेमकुमार मगर, हेम खड्का, गाउँपालिका कमिटी अध्यक्ष केशव राई लगायतले स्वागत गरेका थिए।
उनीहरूलाई स्वागत गर्दै राउतले रौतामाईबाट ‘मिसन ग्रासरुट ५० किलोमिटर दौड' सुरु गरी फरक ढंगले सन्देश प्रवाह गरिएको बताए। उनले भने, ‘यति बेला एमालेलाई दश दलीय गठबन्धन मात्र नभई देश विदेशबाट समेत घेरा बन्दी छ, त्यसलाई तोड्न हिँडेर नभई दौडेर मात्र सम्भव छ भन्ने सन्देश प्रवाह गरेका हौं।'
अभियान आफैंमा जनता र कार्यकर्तासँग घुलमिल, भेटघाट, पुरानो सम्बन्ध कायम, संगठन निर्माण, पुनर्निर्माण, शुद्धीकरण, प्रशिक्षण, सदस्यता विस्तार, नवीकरण, विकास निर्माणका विषयमा छलफलको अवसर भएकाले यसको रफ्तारलाई अझ मजबुत र तीव्र बनाउन ५० किलोमिटर दौडले सहयोग पुग्ने उनले बताए।
राउतले अभियानको पहिलो र दोस्रो चरणको कार्यक्रम सम्पन्न भई सकेकाले तेस्रो चरण सुरु गर्नुअघि प्रभावकारिता बारे समीक्षा गरिने बताए।
पार्टीका पालिका कमिटी अध्यक्ष राईले पहिलो चरणमा पालिका स्तरीय भेला, बैठक सम्पन्न भएको दोस्रो चरणमा वडागत र गाउँ टोल स्तरीय भेला सम्पन्न भएको बताए।
अभियानमा साथ दिन पुगेका वर्ल्ड रेकर्डर बस्नेतले १४ दिनअघि सुरु भएको दौड हालसम्म ७ सय ५० किलोमिटर सम्पन्न भएको बताए।
उनले २३ दिनमा एक हजार १५० किलोमिटर यात्रा गरिसक्ने लक्ष्यकासाथ म्याराथुनमा जनकपुर, सिन्धुली हुँदै काठमाडौंको बौद्ध, स्वयम्भू स्तुपाबाट पशुपतिनाथ पुगेर सम्पन्न हुने बताए।
यसअघि बस्नेतले भारतको दिल्लीबाट खालीखुट्टाले एक हजार एक सय किलोमिटर पैदलयात्रा गरेका थिए भने स्वामीले दैनिक ४२.१९५ किलोमिटरको ६२ दिनसम्म फुलम्याराथुन गरी विश्वरेकर्ड राखेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)