घट्दै कर्जा–निक्षेपको ब्याजदर

घट्दै कर्जा–निक्षेपको ब्याजदर
सुन्नुहोस्

काठमाडौं : वाणिज्य बैंकको कर्जा र निक्षेपको ब्याजदर वैशाखदेखि घट्ने भएको छ। विशेषगरी मुद्दती निक्षेपको ब्याजदर हालसम्म दोहोरो अंकमा भए पनि अब एकल अंकमा झर्ने भएको हो। 

वाणिज्य बैंकका सबै प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको सहभागितामा बुधबार बसेको बैठकले भद्र सहमति गर्दै मुद्दती निक्षेपको ब्याजदर घटाएको हो। उक्त निर्णयअनुसार वाणिज्य बैंकले वैशाख १ गतेदेखि एकवर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशत कायम गर्ने भएका छन्। यस्तै, संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ। चैत्रसम्ममा संस्थागत निक्षेप ९.९९ प्रतिशत थियो।

यस्तै, कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा सीमित राखिएको छ। साथै, अब साधारण बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत कायम हुनेछ। तर बैंकर्स संघकै निर्णयअनुसार साधारण बचतमा चैत्र महिनामा न्यूनतम ०.४२ प्रतिशत बिन्दुले घटाएर न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म मात्रै कायम गरिएको थियो। 

अहिले घटाएको निक्षेपको ब्याजदरको प्रभाव कर्जामा भने आगामी साउनदेखि मात्रै पर्ने नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउँछन्। तर यसबीच तेस्रो त्रैमासिक अवधिमा घटेको निक्षेपको ब्याज गणनाबाट निक्लिने आधारदर (बेस रेट) अनुसार कर्जाको ब्याजदरको लाभ नयाँ र पुराना ऋणीहरूले लिन पाउने उनले बताए।

‘गत माघमा भएको परिवर्तन र चैत्रमा स्प्रेडदर ४.२ हुनुपर्ने व्यवस्था छ। यसको असर वैशाखमै कर्जाको ब्याजदरमा देखिने भएकाले ऋणको ब्याजदर घट्छ। नयाँ ऋणीलाई जेठदेखि र पुरानालाई साउनसम्म पर्खिनु पर्छ,’ कार्यकारी निर्देशक शर्माले अन्नपूर्णसँग भने, ‘ब्याजदरले गर्दा मात्रै व्यवसाय नचलेको होइन। तर सबैको आरोप चर्को ब्याजदर भन्ने रह्यो अब घटाइएको छ।

हेरौं न त १’ यस्तै, नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बजारमा कर्जाको ब्याजदर घटाउन चौतर्फी माग हुँदै आएकोमा बैंकरले मुद्दती निक्षेपको ब्याजदर घटाउन बाध्य भएको बताउँछन्। कर्जाको ब्याजदर घटाउन दबाब आएकाले अब विस्तारै निक्षेपको ब्याजदर घटाउँदै जानका लागि बैंकर्सहरूले यस्तो निर्णय गरेको उनले बताए। कोइराला भन्छन, ‘एकैचोटी कर्जाको ब्याजदर घटाउन सकिँदैन। निक्षेपको ब्याजदर घटाउँदै गएपछि कर्जाको ब्याजदर पनि घट्छ। कर्जाको ब्याज वैशाखमा अलिकति घट्छ। तर अहिले घटाएको मुद्दतीको ब्याजका कारण कर्जाको ब्याज भने साउनमा मात्रै घट्नेछ।’

तेस्रो त्रैमासको आधार दरको हिसाबले हेर्दा वैशाखमा कर्जाको ब्याजदर करिब ०.२५ प्रतिशत बिन्दुले घट्ने माछापुच्छ«े बैंकको सीईओसमेत रहेका उपाध्यक्ष कोइरालाको अनुमान छ। तर अब साउनमा कर्जाको ब्याजदर राम्रै घट्छ। यद्यपि अहिले नेपाल राष्ट्र बैंकले ४.४ प्रतिशतको स्प्रेड दर (कर्जा–निक्षेप ब्याजदर अन्तर) लाई घटाएर वाणिज्य बैंकले चैत्रमा ४.२ कायम गर्नु पर्नेछ। अझ असारसम्ममा झन् घटाएर स्प्रेडदर ४ प्रतिशतमात्रै कायम राख्नु पर्नेछ। यसकारण स्प्रेड दरलाई घटाउँदा पनि कर्जाको ब्याजदर थोरै अंशमा नियन्त्रण गर्न बैंकहरू बाध्य भएका छन्। यसकारण अब बैंकले यो दरलाई आ–आफ्नो हिसाबले घटाउँदा पनि कर्जाको ब्याजदर कम हुने उनको भनाइ छ।

निक्षेपको ब्याजदर घट्दै गर्दा ऋणीलाई परेको भार पनि घट्छ। यो भएपछि कर्जाको माग पनि आउला। कम ब्याजमा निक्षेप गएपछि अहिले बजारमा महँगो कर्जाको ब्याजदरको गुनासो केही हदसम्म पूरा हुने अपेक्षा गरिएको छ। बैंकहरूले हरेक त्रैमासिक प्रतिवेदनमा आधार दर (बेस रेट) मा रहेर कर्जाको ब्याज निर्धारण गर्ने गर्छन्। यसैले चालू आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसारको नयाँ आधारदरमा वैशाखमा कर्जाको ब्याजदर पनि घट्ने भएको हो।  

बैंकर्सका अनुसार बैंकमा अहिले लगानी योग्य पुँजी (तरलता) सहज छ। अहिले कर्जाको माग कम छ। बढी ब्याज भएकै कारण कर्जा लिने व्यवसायी पनि त्यति उत्साहित छैनन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.